काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकले शुुक्रबार काठमाडौंको तीनकुुनेमा देखाएको अराजक र हिंसात्मक गतिविधि व्यवस्थापनमा चुकेको प्रहरी प्रशासन उक्त घटनापछि भने संवेदनशील बनेको छ । राजावादीले गरेको आगजनी, लुटपाट र तोडफोडसहितका हिंसात्मक गतिविधिमा अपरिपक्व जस्तै देखिएको प्रहरीले घटनामा संलग्नलाई कारबाही अघि बढाएको हो ।
उक्त घटनामा वितण्डा मच्चाउनेमध्ये ६ जनालाई शनिबार पक्राउ गरेको छ । योसँगै हिरासतमा पुुग्नेहरूको संख्या १११ पुुगेकोे नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले बताए ।
हिंसात्मक प्रदर्शनका क्रममा शुक्रबार पक्राउ परेका १०५ जना प्रदर्शनकारीहरूको ‘स्क्रिनिङ’ हुुँदै गरेको उनले जानकारी दिए । प्रदर्शनका क्रममा १ जना पत्रकारसहित २ जनाको मृत्युु भएको थियो । सो घटनामा नेपाल प्रहरीका ५३ जना र सशस्त्र प्रहरीतर्फ २४ जना गरी कुल ७७ जना घाइते भएका छन् ।
प्रदर्शनकारीले तीनकुनेको अन्नपूर्ण कम्प्लेक्स, मार्बल हाउस, प्रहरी प्रभाग कोटेश्वर, नेकपा (एकीकृत समाजवादी)को कार्यालयमा तोडफोड गर्नुका साथै कोटेश्वरस्थित भाटभटेनी सुपरस्टोरमा लुटपाट गरेका थिए ।
राजसंस्था पुनस्र्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिको आह्वानमा भएको आन्दोलनका क्रममा शुक्रबार १५ सवारी साधन र १४ ठाउँमा आगजनी तथा १० स्थानमा लुटपाट र ६ वटा निजी सवारी साधनमा समेत क्षति पु¥याएको प्रहरीले जनाएको छ । झडपमा ३५ प्रदर्शनकारी घाइते भएका छन् ।
प्रदर्शन योजनाबद्ध रूपमा हिंसात्मक बनाइएको प्रहरीको निष्कर्ष छ । प्रदर्शनको सुरुवातमै कार्यक्रमका कमान्डर भनिएका दुर्गा प्रसाईं आफैंले गाडी चलाउँदै प्रहरीलाई धक्का दिँदै निषेधित क्षेत्र तोडेर आन्दोलनकारीहरूलदाई थप उत्तेजित बनाएका थिए ।
प्रसाईं र राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले प्रदर्शनकारीलाई प्रहरीको घेरा तोड्न उक्साएर स्थिति अझ जटिल बनाएका प्रहरी अधिकारीहरू बताउँछन् ।
लुटपाट, आगजनी र तोडफोडका क्रममा कैद भएका तस्बिर र भिडियोका माध्यमबाट संलग्नहरूलाई पक्राउ गरी आवश्यक कारबाही गर्ने प्रहरीको भनाइ छ । प्रहरीले सामाजिक संजालमा आएका सबै फोटो र भिडियो संकलन गरेको छ । सोही फोटो र भिडियोका आधारमा पहिचान भएकालाई प्रहरी हिरासतमा राखिएको छ ।
प्रहरी महानिरीक्षक दीपक थापाले आपराधिक गतिविधिको सूचना संकलन तथा विश्लेषण गरी आवश्यक सुरक्षा रणनीति बनाउँदै प्रभावकारी प्रहरी परिचालन गर्न कतै कमी हुन नदिन मातहतका प्रहरी अधिकृतलाई निर्देशन दिएका छन् ।
शान्ति सुव्यवस्था कायम राख्नु र जीउ धनको सुरक्षा गर्नु नेपाल प्रहरीको प्रमुख जिम्मेवारी भएकाले संयमित भएर सुरक्षा सतर्कता अपनाउन र अबाञ्छित गतिविधिमा संलग्नलाई पक्राउ गर्न दिएको निर्देशन दिएका छन् । सोहीअनुसार शुक्रबार नै राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशम्शेर राणा र संयुक्त जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपाललगायतलाई पक्राउ गरेको हो ।
उनीहरूलाई घरबाटै पक्राउ गरिएको थियो भने प्रदर्शनका प्रमुख कमान्डर दुर्गा प्रसाईं फरार छन् । प्रसाईंलाई पक्राउ गर्न प्रहरीका ३ वटा विशेष टोली बनाएर परिचालन गरिएको बताइएको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालय, जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी प्रधान कार्यालयको टोलीले उनको खोजी गरिरहेको प्रहरी अधिकारीहरूले बताएका छन् ।