विनाशकारी महाभूकम्पको दशक पुगेको छ । १२ वैशाख २०७२ मा गोर्खा केन्द्रबिन्दु बनाएर ७ दशमलव ८ म्याग्निच्युडको महाभूकम्प गएको थियो । उक्त त्रासदीपूर्ण महाभूकम्पमा परी ९ हजार बढी नागरिकको ज्यान गएको थियो भने २२ हजार बढी घाइते भएका थिए । गोर्खा भूकम्पको उद्धार गरिरहँदा २९ वैशाख २०७२ मा अर्को ठूलो भूकम्प गएको थियो । यी २ ठूलाबाहेकका परकम्पबाट भौतिक संरचनाहरूको क्षति अझ बढेको थियो । निजी आवास, विद्यालय, स्वास्थ्य चौकी, खानेपानीलगायत संरचना क्षतिग्रस्त बनेका थिए । २०७२ सालको जस्तो विनाशकारी भूकम्प त्यसअघि २०४५ साल र १९९० सालमा गएका थिए । जानकारहरूका अनुसार शताब्दीकै ठूलो भूकम्प २०७२ सालमा गएको थियो ।
शताब्दीकै ठूलो भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण अझै सकिएको छैन । निजी संरचनाहरू केही वर्ष लगाएर सम्पन्न भएको थियो । १–२ वटा हिउँद र वर्षाहरू कट्दा निजी घर, विद्यालय जस्ता साना संरचनाहरू पुनर्निर्माण भएका थिए । तर, ठूला संरचनाहरूको पुनर्निर्माण अझै सकिएको छैन । राजधानी उपत्यकामा अहिले पनि टेको लगाएर अडिएका घरहरू देख्न सकिन्छ । मन्दिरहरू क्षतिग्रस्त अवस्थामै छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो प्रतिष्ठासँग जोडेको धरहरा अधुरै छ । मानवीय क्षतिको परिपूरण हुने कुरै भएन । सांस्कृतिक संरचना र सम्बन्धहरू तोडिएका कारण पुगेको क्षति बेहिसाब छ । त्यसैले, भूकम्पीय जोखिमका दृष्टिले हेर्दा दशक बितिसक्दा पनि १२ वैशाख त्रासदीपूर्ण छ ।
तर, भूकम्पीय क्षति न्यूनीकरण गर्ने पूर्वतयारीसमेत पर्याप्त हुन नसकेको पटक–पटक पुष्टि भएको छ । २०८० कात्तिकमा जाजरकोट केन्द्र बनाएर ५ दशमलव ७ म्याग्निच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पबाट १५७ जनाको ज्यान गयो । जाजरकोट र वरपरका जिल्लाहरूसमेत प्रभावित हुनेगरी गएको भूकम्पपीडितहरूको पुनस्र्थापना अझै हुन सकेको छैन । मुख्य कुरा जाजरकोट भूकम्पको क्षति हेर्दा नेपालले २०७२ सालको महाभूकम्पबाट कुनै पाठ सिकेको देखिएन । यदि त्यस्तो हुन्थ्यो भने पूर्वतयारी, भूकम्पपछि उद्धार र पुनर्निर्माणको काम यति सुस्त हुने थिएन । अर्थात्, अझै पनि नेपालले भूकम्पीय जोखिम न्यूनीकरण गर्ने कुनै प्रभावकारी तयारी गरेको छैन । यसलाई अर्को विनाशको निम्तोका रूपमा पनि अथ्र्याउन सकिन्छ, जुन गल्ती राज्य सरकारको नेतृत्व पंक्तिका निम्ति अक्षम्य हुने छ ।