२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

सिकेले पाए साथ

ADV
भावना पाठक
२०८१ असार २२ गते ०६:४५
सिकेले पाए साथ

काठमाडौं : सिके राउत नेतृत्वको जनमत पार्टीले नयाँ सत्ता समीकरणको साथ पाउने भएको छ । गत २१ फागुनमा सत्ता समीकरण परिवर्तन हुँदा प्रतिपक्षतिर बस्ने निर्णय लिएको जनमत गत ७ जेठदेखि सत्तारुढ बनेको थियो । 

जनता समाजवादी पार्टी (जसपा), नेपाल विभाजन हुँदा जनमतले आफ्नो पूर्व अडान बदलेको थियो । उपेन्द्र यादव नेतृत्वको जसपा, नेपाल फुटाएर गत २३ वैशाखमा अशोक राईले जसपा बनाएका थिए । १२ मध्ये ७ सांसद सहित राईले जसपा बनाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने परिस्थिति बनेको थियो । 

किनकि सत्तामै रहेका उपेन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए । ५ सिटको उपेन्द्रले समर्थन फिर्ता लिदैमा विश्वासको मत लिन जरुरी थिएन । 

तर ७ जेठमा प्रचण्डले विश्वासको मत लिन चाहे । सिके राउतका लागि सरकारमा सहभागी हुने यही अवसर बन्यो । ६ सिटको जनमतले प्रचण्डलाई विश्वासको मत दिए । 

उपेन्द्रले समर्थन फिर्ता लिएपछि उनी नेतृत्वको पार्टीका मुख्यमन्त्री सरोजकुमार यादव मधेश प्रदेशमा अल्पमतमा परे । माओवादी, एमाले र एकीकृत समाजवादीको समेत साथ पाएर जनमतका सतिशकुमार सिंह मुख्यमन्त्री बने । 

गत २५ जेठमा सिंह मधेशको मुख्यमन्त्री बनेका हुन् । उनले एक महिनाभित्र विश्वासको मत लिनुपर्नेछ । तर सिंह मुख्यमन्त्री बनेको एक महिना नबित्दै सत्ता समीकरण बदलियो । 

प्रचण्ड नेतृत्वको सरकारलाई अल्पमतमा पार्दै कांग्रेस र एमालेले नयाँ सत्ता सहयात्राको निर्णय गरेको छ । गत १७ असोजमा भएको सत्ता परिवर्तनको निर्णयले मधेश प्रदेश सरकार अन्योलमा देखिएको थियो । 

किनकि जनमतका नेता सिंह भन्दा पनि कांग्रेसका रोजाइमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) प्राथमिकतामा थियो । कांग्रेसका सभापति शेरबहादुर देउवालाई लोसपाका अध्यक्ष महन्थ ठाकुरले पहिलेबाटै साथ दिदै आएका छन् । त्यसैले मधेशमा जनमत नभएर लोसपाले नेतृत्व गर्न सक्ने अनुमान गरिएको थियो । 

तर एमाले अध्यक्ष केपी शर्मा ओलीले जनमतलाई दिएको मुख्यमन्त्री कायम राख्नुपर्ने अडान लिए । ओलीको अडानमा देउवा पनि सहमत भए । जसकारण अब मधेशमा जनमत पार्टीकै नेतृत्वमा सरकार चल्ने भएको छ । किनकि १०७ सदस्यीय रहेको प्रदेशसभामा सभामुख सहित एमालेको २५, कांग्रेसको २२ र जनमतसँग १३ सांसद छन् । 

तर सरकार बनाउन ५४ सिट मात्र आवश्यक पर्छ । कांग्रेस र एमालेको साथ पाएकाले बहुमत पाएर सिंह मुख्यमन्त्री बन्नेछन् । यो परिस्थिति सिके राउतका निम्ति ठूलै जित हो । किनकि मधेशमा महन्थ ठाकुर र उपेन्द्र यादवलाई सिके राउतले चुनौती बढाएर लगेका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise