काडमाडौं : कवि तथा आख्यानकार गोपाल पराजुलीलाई ‘कविडाँडा सुवर्ण–तुलसी काव्य पुरस्कार, २०८१’ प्रदान गरिएको छ । शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा पराजुलीलाई सुवर्णजंग श्रेष्ठ, तुलसीदेवी श्रेष्ठ र लोकप्रिय हास्य अभिनेता मदनकृष्ण श्रेष्ठले पुरस्कार प्रदान गरेका हुन् ।
पुरस्कारको राशि ५० हजार १६० रुपैयाँ छ ।
चितवनमा रहेको कविडाँडा साहित्य समाजका लागि गीतकार सरला श्रेष्ठले आफ्ना माता–पिताका नाममा स्थापना गरेको उक्त पुरस्कार प्राप्त गरेपछि कवि पराजुलीले आफू उत्साहित भएको भन्दै धन्यवाद ज्ञापन गरे ।
स्रष्टा, समालोचक महेश पौड्यालले पुरस्कृत कविका बारेमा प्रकाश पारेका थिए । पौड्यालले कवि पराजुलीको मूल व्यक्तित्व कवितामा देखिए पनि उनी सफल र कुशल आख्यानकार, सम्पादक पनि रहेका बताए । पराजुलीको अर्को पाटो बक्सर पनि रहेका भन्दै पौड्यालले पराजुलीका व्यक्तित्व एकअर्कासँग नमिले पनि समानान्तर लैजान सकेका भन्दै प्रशंसा गरे ।
आफ्ना कवितामा वैश्विक परिवेश र परिघटनालाई स्वाभाविक र शिल्पयुक्त ढंगले प्रस्तुत गर्ने कवि पराजुली मदन पुरस्कारलगायत देश, विदेशका विभिन्न प्रतिष्ठित पुरस्कार र सम्मानप्राप्त कवि भएका पौड्यालले बताए ।
कविडाँडा साहित्य समाजले उपयुक्त र वास्तविक हकदारलाई नै पुरस्कृत गरेको उनको दाबी थियो ।
कार्यक्रममा सरला श्रेष्ठद्वारा लिखित ५ वटा गीतको एल्बम 'हरपल तिमी' सार्वजनिकीकरण पनि गरिएको थियो भने केही गीत बबिना भट्टराई, करण परियारलगायतले गाएका थिए ।
समाजका सचिव लेखराम सापकोटाले सहजीकरण गरेको कार्यक्रममा समाजका अध्यक्ष एलबी क्षेत्रीले गोपाल पराजुलीजतिका व्यक्तित्वलाई पुरस्कृत गर्न पाउनु समाजका लागि गर्वको विषय भएको बताए ।