काठमाडौं : राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले मुलुकको मानसिकता अझै पनि संघीयता बमोजिम नबनेको बताएका छन् । आइतबार बसेको राष्ट्रियसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले नेताहरुको मानसिक अवस्था अझै पनि संघीय लोकतान्त्रिक गणतन्त्रको मूल मर्म र भावना अनुकुल बन्न नसकेको बताए । उनले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरू अझै पनि बजेटको लागि केन्द्रमै धाउने प्रवृत्ति अन्त्य हुन नसकेको बताउँदै केन्द्रिकृत, एकात्मक र सामन्ती संस्कारबाट अझै मुक्त हुन नसकेको बताए ।
नेपाली कांग्रेसको राष्ट्रियसभा संसदीय दलको नेता समेत रहेका सिटौलाले नयाँ संविधान ल्याए पनि काम गर्ने शैली पुरानै रहेको जिकिर गरे । उनले आचरण र व्यवहारको मूल्यांकन हेर्दा पार्टीका संगठन र राज्यका निकायहरू केन्द्रमुखी रहेको धारणा राखे । उनले आफूहरूले संघीय लोकतान्त्रिक गणतन्त्रको मूल मर्म र भावना बमोजिम जनताको हितमा व्यापक काम गर्न सक्छौँ भने देखाउनुपर्नेमा जोड दिए ।
उनले संविधानको मुल मर्म र भावना बमोजिम राष्ट्रियसभाका सदस्यहरूले रोडम्याप बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।