परासी : दमकल नभएर आगलागी नियन्त्रण हुन नसक्दा लाखौँको धनमाल नष्ट भइरहँदा पाससीको सुनवल नगरपालिकाले कार्यालय प्रयोजनका लागि भन्दै नयाँ स्कारपियो गाडी किनेको हो ।
स्थानीयको दमकल किन्ने मागलाई बेवास्ता गर्दै आफ्नो सुविधाका लागि नगरप्रमुखको निर्देशनमा नगरपालिकाले गाडी खरिद गरेको हो ।
सरकारले अनावश्यक खर्च कटौती र अत्यावश्यक बाहेक अन्य अवस्थामा सवारीसाधन खरिद नगर्ने नीति लिएको समयमा नगरपालिकाले सवारी खरिद गरेपछि चौतर्फी विरोध भएको छ । बजेट अभाव देखाउने नगरपालिकाले जनप्रतिनिधिका लागि भने सुविधा सम्पन्न सवारी किनेको भन्दै स्थानीयले विरोध जनाएका छन् ।
नगरपालिकाले ‘क्लासिक एस मोडलको’ २ वटा स्कोरपियो १ करोड २२ लाखमा खरिद गरेको हो । नगरपालिकाका प्रवक्ता कृष्णप्रसाद बगालेका अनुसार कार्यपालिका बैठकबाट गाडी किन्ने निर्णय गरेकाले कार्यालय प्रयोजनको लागि खरिद गरेको बताए । नगरमा दमकल अत्यावश्यक रहेको बताउँदै बगालेले दमकल खरिद गर्ने विषयमा पनि छलफल भइरहेको बताए ।
चालु आर्थिक वर्ष २०८१/०८२ का लागि कर्मचारी तालिम खर्च, मेसिनरी गाडी तथा औजार, फर्निचर, फिक्स्चर र पुँजीगतलगायत पाँच शीर्षकको खर्चमा कटौती गर्न मन्त्रालयले परिपत्र गरेको थियो । नगरपालिकाले खरिद गरेको उक्त स्कारपियो समानीकरण अनुदान शीर्षकको रकमबाट हो ।
पुँजीगत खर्चको निःशर्त अनुदानअन्तर्गत पर्ने समानीकरण रकमबाट नगरपालिकाले आफैंं निर्णय गरेर विभिन्न योजना र कार्यक्रममा खर्च गर्न पाउँछन् । तर, मन्त्रालयले उक्त शीर्षकमा खर्च कटौती गर्दा गर्दै नगरपालिकाले अति आवश्यक बाहेकको गाडीमा खर्च गरेको हो ।
समानीकरण अनुदानको रकममध्येबाट १ करोड ३० लाखमा दुई वटा स्कारपियो गाडी खरिद गरेको प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले बताए ।
गाडी खरिद गर्ने विषयमा नगर प्रमुख विमला अर्याल, कार्यालय प्रमुखलाई आफूले आवश्यक परे अहिलेलाई एउटा गाडी खरिद गर्न सुझाव दिए पनि नमानेर दुईवटा खरिद गरेको उपप्रमुख सूर्यप्रसाद दुबेले दाबी गरे ।
गत माघमा सुनवल नगरापलिका–१२ भुमहीमा टायर गोदाममा आगलागी हुँदा लाखौंको क्षति पुगेको थियो ।
यसअघिका वर्षमा पनि नगरमा आगलागी हुँदा छिमेकी पालिकाबाट दमकल बोलाउनुपर्दा क्षति बढी हुने गरेको भन्दै नगर प्रमुख अर्यालले दमकल खरिद गर्ने घोषणा गरेकी थिइन् । तर, अहिले दमकलको साटो सुविधा सम्पन्न सवारी किनेपछि चौतर्फी विरोध भएको हो ।