काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाविरुद्ध अवहेलनाको मुद्दा दर्ता भएको छ । आइतबार सर्वोच्च अदालतमा थापाविरूद्ध अवहेलनाको मुद्दा दर्ता भएको हो ।
कांग्रेस महामन्त्री थापाले केही दिनअघि ‘५२ संवैधानिक पदाधिकारीहरुको मुद्दामा सर्वोच्च अदालतले डिल गरिरहेको’ भन्दै अभिव्यक्ति दिएका थिए ।
संवैधानिक नियुक्ति भएका पदमा समयावधि सकिने बेला भइसकेको तर पनि फैसला नगरेको भन्दै अभिव्यक्ति दिएका थिए ।
उक्त अभिव्यक्तिलाई लिएर अवहेलना भएको भन्दै मुद्दा दायर भएको हो । अहिले संवैधानिक नियुक्तिको विषयमा सर्वोच्च अदालतले हेर्दाहेर्दैमा छ ।
अधिवक्ता अनन्तराज लुइँटेल, अभिमा उप्रेती र विशाल थापाले दिएको निवेदन आइतबार सर्वोच्च प्रशासनले दर्ता गरेको हो । निवेदनको पहिलो पेसी मंगलबार तोकिएको छ ।