आन्दोलनरत शिक्षक र प्रहरीबीच झडप हुँदा एक पत्रकार घाइते भएकी छन् । प्रदर्शनकारी शिक्षकहरूमाथि लक्षित गरी प्रहरीले प्रहार गरेको पानीको फोहोराबाट टेलिभिजन पत्रकार सविना कार्कीको आँखामा गम्भीर चोट लागेको हो । चिकित्सकहरूका अनुसार आँखाको अवस्था कस्तो हुन्छ भन्ने अझै भन्न सकिने अवस्था छैन । रिपोर्टिङ गर्न पुगेकी पत्रकार कार्कीमाथि भएको यो आक्रमणको चर्काे भत्र्सना भइरहेको छ । नेपाल पत्रकार महासंघसहित पत्रकारसँग सम्बन्धित संघसंस्थाले आपत्ति जनाइरहेका छन् । उपचार, क्षतिपूर्ति, दोषीमाथि कारबाहीदेखि प्रेस स्वतन्त्रता ग्यारेन्टीसम्मको माग भइरहेको छ । राजधानी उपत्यकामै १ महिनाअघि १ पत्रकारको ज्यानै गएको थियो ।
राजावादीहरूको आन्दोलनका क्रममा फोटो पत्रकार सुरेश रजकको मृत्यु भएको थियो । भिडियो खिच्न पसेको घरमै आगलागी हुँदा पत्रकार रजकको मृत्यु भएको थियो । त्यही आन्दोलनमा अरू केही पत्रकार घाइते भए । राजावादी आन्दोलनकारीले ठूला संचार माध्यमहरूकै कार्यालयमा आगजानीको प्रयास गरे । यी २ घटनाबाट राजधानीमा जारी प्रदर्शनहरूमा पत्रकार सुरक्षित नरहेकै निष्कर्षमा पुग्न सकिन्छ । पत्रकार महासंघका केन्द्रीय अध्यक्ष निर्मला शर्माको अभिव्यक्तिले झनै चिन्ता थपेको छ । शर्माका अनुसार अहिले ‘पत्रकारको पहिचान हुँदा पनि सुरक्षित नहुने र पहिचान नहुँदा पनि सुरक्षित नहुने’ परिस्थिति छ । पत्रकारको पहिचान नहुँदा असुरक्षा हुनु अस्वाभाविक होइन, तर पत्रकारको पहिचान हुँदा असुरक्षाको अनुभूति हुने कुरा गम्भीर छ किनकि प्रेस असुरक्षित र स्वतन्त्र नरहेको संकेतका रूपमा हामीले त्यस्तो अवस्थालाई बुझ्न सक्छौं ।
प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षाको वातावरण निर्माण राज्यको दायित्व हो । प्रस्ट परिभाषाकै कुरा गर्ने हो भने, सरकारको मूल दायित्व हो । तर, सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओली आफैं पत्रकारिता क्षेत्रप्रति अविश्वास सिर्जना गर्न लागिपरेका छन् । केही दिन अगाडि मात्र आफ्ना बारेमा आएका समाचारहरूलाई लिएर आमसंचार माध्यमप्रति अविश्वास सिर्जना हुनेगरी बोलेका थिए । ओलीको भाषा पूर्वगृहमन्त्री रवि लामिछानेसँग मिल्थ्यो । लामिछानेले मिडिया संचालक र पत्रकारहरूलाई आफूसँग चुनाव लड्न खुलेआम अपिल गर्थे । प्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लामिछानेकै जस्तो मनोविज्ञान अरू पार्टी र नेताहरूमा पनि विगतमा देखिन्थ्यो । निष्कर्षमा भने प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षाको वातावरण देखिँदैन । यो भनेको हाम्रो लोकतन्त्र कमजोर हुनु हो किनकि स्वतन्त्र प्रेस र पत्रकारको सुरक्षा लोकतन्त्रको अनिवार्य शर्त हो । यसतर्फ राजनीतिक नेतृत्व सचेत बन्न जरुरी छ । आमसंचार जगत्माथिको आक्रमण आपत्तिजनक छ ।