काठमाडौं : नेपाल शिक्षक महासंघको आन्दोलनमा ऐक्यबद्धता जनाउन पुगेका नेकपा (एकीकृत समाजवादी)का नेताहरूविरुद्ध शिक्षकहरूले नाराबाजी गरेका छन् ।
शिक्षकहरूको आन्दोलनमा पुगेका समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, राजेन्द्र पाण्डे, पूर्वशिक्षामन्त्री गंगालाल तुलाधरलगायतका नेताहरूविरुद्ध शिक्षकहरूले नाराबाजी गर्दै फर्काइदिएका हुन् ।
शिक्षकहरूले नेताहरुविरुद्ध नाराबाजी गरेपछि उनीहरू मन्तव्य नै नराखी फर्किनुपरेको थियो ।
उनीहरूले आफूहरूको आन्दोलनलाई राजनीतिकरण हुन नदिने भन्दै नेताहरूलाई फर्किन सुझाव दिएका थिए ।
आफूहरूलाई समर्थन गर्न बानेश्वर आउनुभन्दा संसदबाट ऐन पारितका लागि पहल गर्न आग्रह शिक्षकहरूले गरेका थिए ।
नेताहरूले महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीलगायत नेतृत्वसँग भेटेर आन्दोलनमा समर्थन रहेको र सरकारले शिक्षकका माग पूरा गर्नुपर्ने धारणा राखेका थिए ।
विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने शिक्षकहरूले सोमबार २७ आँै दिन पनि आन्दोलनलाई जारी राखेका हुन् ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले अग्रगामी शिक्षा ऐन जारी हुने परिस्थिति नबनेसम्म आन्दोलन नरोकिने बताए ।
उनले आफूहरूको मागमा सरकार गम्भीर नभएकाले आन्दोलन लम्बिएको आरोप लगाए । अध्यक्ष सुवेदीले विद्यालय शिक्षाप्रति सरकारको उदासीनता देखिएको उल्लेख गरे ।