रौतहट : यमुनामाई गाउँपालिका अन्तर्गत बम नहर चोकको पश्चिम पट्टिको नहर किनारमा लाखौं रुपैयाँ खर्चेर गरिएको वृक्षरोपण लथालिंग अवस्थामा पुगेको छ । गाउँपालिकाको आर्थिक लगानीमा फलामको केज (जाली)सहित रोपिएका बिरुवाहरू हाल संरक्षण बिनाको अभावमा सुक्न थालेका हुन् ।
स्थानीयका अनुसार वृक्षरोपण क्षेत्र वरिपरि गोडमेल, सिँचाइ तथा सरसफाइ जस्ता नियमित कार्यहरू हुन नसक्दा बिरुवाहरू मर्न थालेका छन् ।
कतिपय केजभित्र बिरुवाको नामनिशान नै हराएको छ । ‘बिरुवा बाँचिरहेको छ कि छैन भनेर छुट्याउन पनि मुस्किल परेको छ’ एक स्थानीयले गुनासो गरे ।
स्रोतका अनुसार बिरुवाहरूको संरक्षण तथा हेरचाहका लागि गाउँपालिकाले विशेष रुपमा हेरालु भर्ना गरेर तलब सुविधा दिइरहेको छ । तर पनि वृक्षरोपणको हालको अवस्था हेर्दा व्यवस्था कागजमै सीमित भएको देखिन्छ ।
सोही नहर किनार भएर गाउँपालिकाका प्रमुख मो साउद, उपप्रमुख अनुराधा कुमारी मिश्रा, प्रशासकीय अधिकृत लगायतका उच्च कर्मचारीहरू दैनिकजसो आवतजावत गर्छन् । त्यस्तै, स्थानीय सञ्चारकर्मी र पत्रकारहरू पनि दिनहुँजसो त्यही बाटो हिँड्ने गरेका छन् । तर, यति गम्भीर समस्याप्रति अहिलेसम्म कसैले आवाज उठाएको देखिएको छैन ।
स्थानीय भन्छन्, ‘वृक्षरोपणमा लगानी गरिएको लाखौं रुपैयाँ धुलोमा मिसिएको छ । यति ठूलो लापरवाही हुनु आफैंमा भ्रष्टाचारको संकेत हो ।’
उनीहरूले यो घटनालाई आर्थिक हिनामिना तथा प्रशासनिक बेथितिको उदाहरण भन्दै तत्काल छानबिन गरी दोषीमाथि कारवाहीको माग समेत गरेका छन् ।