काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कुनै डाँडामा बसेर लाखौं कमाउने सपना सम्भव भएको बताएका छन् । मंगलबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित विपन्न वर्गको उत्थान र विकाससम्बन्धी कांग्रेसको नीतिगत सुझाव प्रतिवेदन बुझ्दै उनले यस्तो बताएका हुन् ।
उनले आफूले कीर्तिपुरको डाँडामा बसेर महिनामा दुई–तीन लाख कमाउन सकिने कुरा गर्दा त्यसलाई रमाइलो बनाइएको बताए । उनले कुनै डाँडामा बसेर लाखौं कमाउने विषय कल्पना र सपना रहेको बताउँदै त्यो सम्भव हुने आधार भएको जिकिर गरे । महामन्त्री थापाले हरेक व्यक्तिलाई सीप र क्षमता दिएको खण्डमा उक्त सीप र क्षमताले लाखौं कमाउने सपना पूरा हुने बताए ।
उनले विश्व अहिले ज्ञान अर्थतन्त्रमा रहेको उल्लेख गर्दै चीनमा जन्मिएका एक व्यक्तिले डिपसिक बनाएर सिलिकन भ्यालीले अनुमोदन नगर्दा पनि एआईमा च्याटजीपीटीसँग प्रतिस्पर्धा गर्ने ठाउँमा पुगेको स्मरण गरे । उनले ज्ञान अर्थतन्त्रमा हरेक सम्भावनाको नेटवर्क खुलेको समेत जिकिर गरे ।
उनले ज्ञान अर्थतन्त्रमा लाखौंलाई नयाँ अवसर आउने बताउँदै विपन्न समुदायलाई उक्त अवसरबाट वञ्चित हुन नहुने बताए ।