काठमाडौंः नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले सरकार संसद् र जनताप्रति जवाफदेही नभएको आरोप लगाएकी छन् ।
मंगलबार बसेको प्रतिनिधि सभा बैठकपछि संसद् भवन परिसरमा पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो आरोप लगाएका हुन् । पाण्डेले शिक्षकहरू सडकमा आन्दोलनरत हुँदा अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रश्तावमाथि छलफल गर्न सोमबारदेखि अनुरोध गर्दा पनि सरकारले नसुनेको आरोप लगाए । उनले सार्वजनिक महत्वको प्रश्तावमाथि छलफल गर्न प्रतिपक्षीहरूले उठेर माग राखे पनि सरकारले बेवास्ता गरेको बताए ।
उनले शिक्षक, विद्यार्थी, अभिभावक, परीक्षा र विद्यार्थी भर्ना लगायतका महत्वपूर्ण कुराहरूमाथि संसद्मा छलफल गरेर निकास निकालौँ भन्दा सरकारले वास्ता नगरेको जिकिर गरे । उनले दिनदिनै संसद्को कार्यसूचीबाट उक्त प्रस्ताव हटाइएको भन्दै यसरी संसद् प्रभावकारी नहुने समेत धारणा राखे ।
उनले भने, ‘शिक्षकहरू सडकमा छन्, त्यस कारण अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्ताव छलफल गरौँ भनेर हामीले हिजो देखि हाम्रो नियमावलीको व्यवस्था अनुसार अनुरोध गर्यौ । आज पनि हामीले अनुरोध गर्यौ । हामीले त्यसमा सबै प्रतिपक्षीको तर्फबाट हामीले उठेर त्यो माग पनि गर्यौ, कुरा पनि राख्यौँ । तर सरकार सुन्दै सुन्दैन । के भन्छ सरकार भने यति महत्त्वपूर्ण विषयवस्तुमा शिक्षकको , विद्यार्थीको, अभिभावकको, परीक्षाको, विद्यार्थी भर्नाको, यस्ता जरुरी कुराहरूमा पनि हामी संसद्मा छलफल गरेर एउटा कुरा निकालौँ । सांसदका रायहरू लिऔँ भन्दा पनि सरकार संसद्लाई वास्ता गर्दैन । अझ दिन दिनै हाम्रो कार्य तालिकामा भएका कार्यसूची त सम्माननीय सभामुखज्युले आज यो सूचीबाट हटाइयो, हिजो पनि हटाइयो, आज पनि हटाइयो । यसरी संसद कसरी प्रभावकारी हुनसक्छ रु यस कारण सरकार संसदप्रति जवाफदेही छैन, सरकार जनतातिर जवाफदेही छैन । यो विषयवस्तु तथ्यहरूले पुष्टि गर्छन् ।’
उनले सरकारको गैरजिम्मेवारपनप्रति आ–आफ्नो ठाउँबाट आवाज उठाउन अभिभावक, विद्यार्थी र आम जनसमुदायलाई आग्रह गरे ।