काठमाडौं : अदालतको फैसलाले नयाँ राजनीतिक कोर्षको सुरुवात भयो भनिरहँदा अहिले नेपाली राजनीतिमा केहि प्रश्नहरु गम्भीर बनेर आएका छन् । कसले, कसरी सरकार बनाउँछ र को नेतृत्वमा आउँछ भन्ने मात्र नभई कस्ता नीति लिएर आउँछन् भन्ने प्रश्न पनि अगाडि आएका छन् । साथै प्रधानमन्त्री केपी शर्मा ओलीको कदमप्रति आलोचना भईरहँदा अन्यको भूमिकामाथि पनि प्रश्न उब्जीएको छ ।
संसद पुनर्स्थापनासँगै नेपाली राजनीतिमा देखिएका अन्यौंलपूर्णं प्रश्नबारे हामीले नेकपाको प्रचण्ड–नेपाल समूहका नेतासँग केहि जिज्ञासा राखेका छौं । पूर्वमन्त्रीसमेत रहेका प्रचण्ड–माधव पक्षीय नेकपाका स्थायी समिति सदस्य गणेश शाहसँग अदालतको फैसला र आगामी राजनीतिक अवस्थाबारे गरिएको कुराकानीको सम्पादित अंश :
निकै अन्यौंलताका बीच सर्वोच्च अदालतले संसद पुनर्स्थापनाको पक्षमा फैसला गरेको छ । सर्वोच्चको यो फैसलालाई कसरी लिनुभएको छ ?
प्रधानमन्त्री ओली जीले जसरी संसद विघटन गर्नुभएको थियो, त्यसले संविधानमाथि मात्रै प्रहार गरेको थिएन् समग्र नेपाली राजनीतिको कोर्ष नै अन्यौंलता तर्फ मोडेको थियो । विघटनको कदमले देश निकै ठूलो अराजकता तिर गएको थियो । मेरो बुझाईमा, अदालतले निकै सयंमतापूर्वक देशलाई ठूलो दुर्घटना हुनबाट बचाएको छ । सर्वोच्चको यो ऐतिहासिक फैसलाले संविधान र समग्र नेपाली राजनीतिलाई सहि ट्र्याकमा ल्याउन भूमिका खेलेको छ । फैसलासँगै देशमा नयाँ राजनीतिक कोर्षको पनि सुरुवात भएको छ ।
सर्वोच्चको यो फैसलाको सन्दर्भमा, तपाईँ नेकपाको जिम्मेवार भूमिकामा रहिरहँदा अबको राजनीतिक कोर्ष कसरी अगाडि बढ्नुपर्छ भन्ने लाग्छ ? पार्टी अध्यक्षद्वय प्रचण्ड र माधवलाई तपाईँको सुझाब के रहन्छ ?
नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रको जुन संविधान छ, यो संविधानले आधारभूत रुपमा निर्देशित गरेको कार्यक्रमलाई कसरी लागु गर्ने भन्ने प्रश्न प्रमुख हो । यहाँ मौलिक अधिकार र जनजीविकाको सबाललाई कसरी सम्बोधन गर्छौं भन्ने कुरा रहन्छ । पार्टीले ओलीजीसँग जुन खालको संघर्ष गरेको थियो, मुलभूतरुपमा पार्टीलाई विधि, विधान र पद्धतिअनुसार सञ्चालन नगरेको अवस्था थियो । त्यसैले आगामी दिनमा पार्टी कसरी सञ्चालन हुन्छ भन्ने कुरा रहन्छ । पार्टीलाई विधि, विधान र पद्धतिअनुसार अगाडि बढाउने विषय नै मुख्य कुरा हो ।
संसद विघटनदेखि पार्टी विभाजनसम्म आउँदा तपाईँहरुको समूहले आत्मसमिक्षा गर्नुपर्छ कि पर्दैन् ? यी घटनाप्रति जिम्मेवारी लिनु पर्छ कि पर्दैन् ? कि जिम्मेवारी प्रधानमन्त्री ओलीले मात्रै लिने ? तपाईँको भनाई के रहन्छ ?
संसद विघटनदेखिका सबै घटनाप्रति सबै नेताले आत्मसमिक्षा मात्रै होइन्, कम्युनिष्ट आन्दोलनमा ‘ओली प्रवृत्ति’ कसरी विकसित भयो भन्ने कुराको जवाफ खोज्नुपर्छ । ओली प्रवृत्तिलाई विकसित हुन नदिन कसरी अगाडि बढ्ने त्यो स्पष्ट हुन आवश्यक छ । घोषणा पत्र र प्रतिबद्धता पत्रअनुसार समाजवादको जग निर्माण कसरी गर्ने भन्ने तर्फ समिक्षा र आगामी दिनको कार्यक्रम बनाउनु पर्दछ । यो पार्टीको संसदमा, सरकारमा के भूमिका हुन्छ, स्पष्ट पार्न सक्नुपर्छ । सबै कार्यकर्ता र जनतालाई आश्वस्त पार्न सक्नुपर्छ ।
संसदमा सबैभन्दा धेरै सांसद हाम्रै छन्, सभामुख हाम्रै हुनुहुन्छ, यो अवस्थामा हामीले कसरी प्रभावकारी भूमिका खेल्ने भन्नेतर्फ स्पष्ट कार्यक्रम हुनुपर्छ । संसदमा जतिपनि जनमुखी ऐनहरु रोकिएका छन्, त्यसलाई कसरी पारित गर्दै कार्यान्वयनमा लैजाने भन्नेतर्फ भूमिका हुनुपर्छ ।
सर्वोच्चको फैसलासँगै हाम्रो काँधमा धेरै ठूलो जिम्मेवारी आएको छन् । त्यो जिम्मेवारी पुरा गर्न सामूहिक नेतृत्वमा विधि, विधान र पद्धतिलाई आत्मसाथ गरेर अगाडि बढेमात्र हामी लक्ष्यमा पुग्न सक्छौं । हामी ओलीसँग त अलग भयौं तर, ओली प्रवृत्तिलाई कसरी पराजित गर्ने, आगामी दिनमा कम्युनिष्ट पार्टी कस्तो बनाउने भन्ने बारेमा हामीले गम्भीरतापूर्वक समिक्षा गरेर आगामी नीति र कार्यक्रम बनाउनु पर्ने हुन्छ ।
अहिले सामाजिक सञ्जाल र सञ्चार माध्यममा एउटा बहस छेडिएको छ, के केपी शर्मा ओली विकल्प पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल हुन् ? के प्रचण्ड र माधवले निकास दिन सक्छन् ? यी प्रश्नहरुलाई तपाईँहरुले कसरी हेर्नुभएको छ ?
सुरुदेखि नै पार्टीभित्र विधि, विधान र पद्धतिलाई लागु गर्ने कुरामा हामीले जोड दिएका थियौं । संविधान र घोषणापत्रअनुसार हाम्रा नीति तथा कार्यक्रम बन्नुपर्छ भन्यौं । तर, त्यसो हुन सकेन । हामीले पार्टीभित्र त्यसलाई कार्यान्वयन गर्न निरन्तर संघर्ष चलायौं । पार्टीभित्र देखिएको अन्तरसंघर्ष पनि संविधान र घोषणापत्रअनुसार अगाडि जाने कि नजाने भन्नेमा नै थियो । ती कुरा कार्यान्वयन हुन नसक्दा नै जनता र हामीबीच दरार आएको हो ।
आगामी दिन हामीले संविधान र घोषणापत्रअनुसार नै अगाडि बढ्ने प्रतिबद्धता गर्नुपर्छ । हाम्रा सांसदहरुले जुन अवस्थामा भएपनि जनतालाई दिएको बाचाअनुसार नै भूमिका निर्वाह गर्नुपर्छ । यदि हामी सरकारमा जान्छौं भने हाम्रा भूमिका त्यहि परिधिभित्रबाट हुनुपर्छ । त्यसो हुन सकेमा मात्रै यी सबै प्रश्नहरुको समाधान खोज्न सकिन्छ ।
संसद पुनर्स्थापनाको फैसला हुँदै गर्दा पृष्ठभूमिमा अबको सरकार कसले बनाउने, कसरी बनाउने, को–को मिलेर बनाउने भन्ने कुरा बहसमा छ । तपाईँको विचारमा अब नेकपाले आफ्नो भूमिका कसरी खोज्नुपर्छ ?
नेपालमा अहिले पनि बाम र लोकतन्त्रवादी शक्तिको बीचमा सहकार्य र समन्वयको आवश्यकता देखिन्छ । हिजो जसरी त्यो समन्वय थियो आज पनि त्यसको आवश्यकता देखिएको छ । संसद पुनर्स्थापना हुँदै गर्दा पनि सडक संघर्षमा त्यसको महत्व देखिएको थियो ।
आगामी दिन सरकार बनाउने कुरामा बाम र लोकतन्त्रवादी शक्तिबीचको सहकार्य खोज्नुपर्छ । मुख्यतः संविधानको मर्म, भावना र निर्देशनअनुसार अगाडि जानेकुरामा सहमती गर्दै समन्वय गर्नुपर्छ । संविधानमाथि अहिलेसम्म पनि केहि वर्ग र समूदायले स्वामित्व ग्रहण गर्न सकेको अवस्था छैन् । त्यसलाई पनि संशोधन गर्ने गरि हाम्रा सहकार्य हुनुपर्छ । जबसम्म संविधान सर्वसम्मत हुनसक्दैन् त्यसको कार्यान्वयन पक्ष कमजोर बन्छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies