२०८१ पुष ८ गते सोमवार / Dec 23 , 2024 , Monday
२०८१ पुष ८ गते सोमवार

नेपाली कम्युनिष्ट आन्दोलनको बाटो

ADV
२०८१ जेठ २३ गते ०६:२५
नेपाली कम्युनिष्ट आन्दोलनको बाटो

–लेखराज रेग्मी

हामीले जतिबेला राजनैतिक परिस्थितिबारे छलफल ग¥यौं, त्यतिबेला प्रशिक्षण होस् वा दस्तावेज दुई वटा कुरा ग¥यौं– अन्तर्राष्ट्रिय परिस्थिति र राष्ट्रिय परिस्थिति । विवेचनाकै सारमा या त अनुकुलताको निष्कर्ष निकाल्यौ र समयले हामी बहकिएको ठहर ग¥यो वा प्रतिकुलताको निष्कर्ष निकाल्यौँ र अकर्मण्यताको पगरी गुथ्यौँ । परिस्थिति भनेको हामीभन्दा परको स्थिति हो, यसको अध्ययन गर्दा सबैभन्दा हेक्का रहनुपर्ने सिक्नु र बुझ्नुपर्ने कुरा आत्मगत स्थितिको रहेछ । वास्तवमा हाम्रा भड्कावको मूल स्रोत यसैको अस्पष्टतामा हुँदो रहेछ । यसको ठिक समझदारी नहुदाँ परिस्थितिबारे अधिमूल्यन र अवमूल्यनको गल्ती हुँदो रहेछ ।

दोस्रो कुरा, परिस्थितिमा परिवर्तन यात सचेत हस्तक्षेपद्वारा गर्न सकिँदो रहेछ वा परिस्थिति बुझेर त्यसको अनुकुलन आवश्यक हुँदो रहेछ । क्रान्तिकारी बनिरहन यी दुवै खुट्टा सन्तुलनमा चाल्न सिपालु हुनुपर्दो रहेछ, तर यसको लागि कुनै दिग्दर्शन उसको लागि लेखिएको हुँदैन, जसको हुबहु प्रयोग गरेर अगाडि बढ्न सकियोस् । 

पंक्तिकारलाई २०३५ सालको चौ.म.को सेक्रेटरी सम्मेलनको दस्तावेज पढ्दा अत्यन्त ऊर्जाशील बनायो, तर त्यसको विरोध वा आलोचना पढ्दा निराश बनायो । परिस्थिति यसरी बनेर आयो कि भुट्टोको फाँसीको विरोधमा निकालिएको जुलुस पाकिस्तानी दुतावासमा जाँदा बाटोमै सरकार दमनमा उत्रियो र यही बहानामा जनताको आक्रोश फुट्यो र निर्विकल्प भनिएको निर्दलीय व्यवस्थाले बिकल्प स्वीकार गरेर जनमत संघर्षको घोषणा गर्न पुग्यो । यसलाई राजाको धोकापूर्ण घोषणा भनियो । नत नेपाली कांग्रेस यस्तो घोषणासँग सहमत भएर संघर्षमा सहकार्य गर्न तयार भयो न त बाम दलहरूले आन्दोलनलाई फरक निष्कर्षमा पुर्‍याउन सके । यसले नेपाली कांग्रेससँग सहकार्यको वातावरण बनाउन उसको जनमत सङ्ग्रहको चुनौती फेस गर्ने निष्कर्षमा बदलावको लागि काम गर्नुपर्ने हुन्थ्यो । पाँच पूर्वसर्तसहितको आन्दोलन सँग नेपाली कांग्रेससँग वार्ता र उसमाथि दबाबको स्थिति बनाउन सक्दा चौमको लागि दुई हातमा लड्डु थियो । 

नेपाली कांग्रेस सहमतिमा आउँदा उसले गल्ती सच्याउने मौका पाउँथ्यो र परिणाम सकारात्मक बनाउन एकहदसम्म अनुकूलता पैदा हुन्थ्यो । यस्तो प्रयत्न गर्दा कांग्रेस सहमत नहुँदा पनि जनतामा राजाको जालझेल र कांग्रेस बाह्य इसारामा राजाको पक्षमा पुगेको कुरा बुझाउन सहज हुने थियो । 

आखिर २०४६ र २०६२÷६३ मा कांग्रेसका नेतृत्व स्वीकार गरेरै बहुदल र गणतन्त्र पायौँ । कांग्रेसले स्वीकार गरेर पाँच बाम र कांग्रेसको संयुक्त आन्दोलन एकसाथ उठ्दा कांग्रेसकै नेतृत्व कायम भएपनि बाम पक्षको साख बढ्ने स्थिति हुने थियो भने उसले इन्कार गर्दा जनतामा उसप्रतिको विश्वास टुट्थ्यो । तर, चौमभित्रै सेक्रेटरी सम्मेलनको निर्णय उल्ट्याउने कार्यले यो सम्भावना गुमेको मात्र होइन आखिरमा धोखालाई स्वीकारेर त जानुपर्यो तर, मतभारको स्खलनसँगै साथै, दबाबमुक्त षड्यन्त्र सफल भयो र हारेको निर्दलको लागि पुनर्जीवन प्राप्त भयो । आत्मगत स्थितिको सही मूल्यांकन र बाह्य परिस्थितिलाई सही ढंगले बुझ्न नसक्दा आन्दोलन कसरी पछि पर्छ भन्ने यो एउटा सटिक उदाहरण हो । 

जनयुद्धको सुरुवात गर्दा, सञ्चालन गर्दा र शान्ति प्रकृयामा आउँदा हामीले आत्मगत स्थितिको अधिमूल्यन, राष्ट्रिय राजनैतिक परिस्थितिको अपेक्षाकृत ठीक मूल्यांकन र अन्तर्राष्ट्रिय परिस्थितिको मूल्यांकनमै असक्षमता रहेको कुरा हालका दस्तावेजहरूले बोलिरहेका छन् । शान्ति प्रकृयामा आइपुगेर पनि बालाजुदेखि पालुङटारसम्म आफूलाई सच्याउने अवसरहरू खेर फालेको पनि छर्लङ्ग छ ।

परिस्थितिको मूल्यांकन, राजनैतिक शक्तिहरूको भूमिकाको विश्लेषण र मुख्य अन्तरविरोधको किटानीमा जुन किसिमको कमजोरी देखाइरहेका छौं, यसलाई नहटाई विद्यमान ‘कम्युनिष्ट’ पार्टीहरू वा नयाँ ‘कम्युनिष्ट पार्टी’ गठन र आन्दोलनका सबै कुरा अधुरा नै रहने कुरा बुझ्न आवश्यक छ ।

(लेखक रेग्मी, माओवादी केन्द्रका नेता हुन् ।)

ADVADV

सम्बन्धित खबर

Advertise