२०८२ वैशाख २९ गते सोमवार / May 12 , 2025 , Monday
२०८२ वैशाख २९ गते सोमवार
Ads

बीमाको नाममा १८ लाख बढी हिनामिना, १ जना पक्राउ

सुर्य प्रकाश बुढा मगर
२०८२ वैशाख २९ गते २१:२२
बीमाको नाममा १८ लाख बढी हिनामिना, १ जना पक्राउ

रोल्पा : जीवन बीमा गरेकाको १८ लाख बढी रकम हिनामिना गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सल्यानको शारदा नगरपालिका–४ घर भइ हाल घोराही उपमहानगरपालिका–१५ तुलसीपुरचौकमा बस्दै आएका गणेश बस्नेत रहेका छन् । 

रोल्पाको होलेरीस्थित हिमालयन लाइफ इन्स्योरेन्सको उपशाखामा अप्रेसन सपोर्ट पदमा कार्यरत रहँदा १८ लाख ६७ हजार ७ सय १ रुपैयाँ हिनामिना गरेको आरोपमा ३१ वर्षीय बस्नेतलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

‘विश्वासघात सम्बन्धी कसुर गरेको भन्दै हामीले पक्राउ गरेका हौं’एक प्रहरी अधिकृतले भने । 

ती प्रहरी अधिकृतका अनुसार रोल्पाको होलेरी शाखामा कार्यरत हुँदा बिमितबाट बीमा रकम बुझ्ने तर कम्पनीको सफ्टवेयरमा अद्यावधिक गरेको पाइएको छ । 

‘बस्नेतले आफूखुसी ५६ जना बिमितको बीमा रकम हिनामिना गरेका रहेछन् र बस्नेत घोराहीस्थित हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड लुम्बिनी उपप्रादेशिक कार्यालयमा कार्यरत रहेछन्’ ती प्रहरी अधिकृतले भने । 

जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक विजय चापागाईंका अनुसार आरोपित बस्नेतलाई आइतबार रोल्पा जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ । 

ADV

सम्बन्धित खबर