२०८२ असार १८ गते बुधवार / Jul 02 , 2025 , Wednesday
२०८२ असार १८ गते बुधवार
Ads

सप्लाई कम्पनीका नाममा म्यानपावरविरुद्ध बढ्दो उजुरी

shivam cement
२०८२ वैशाख ३१ गते ०६:४०
सप्लाई कम्पनीका नाममा म्यानपावरविरुद्ध बढ्दो उजुरी

काठमाडौं : राजधानीको एक म्यानपावर कम्पनीबाट साउदी अरेबिया रोजगारीमा जान श्रम स्वीकृति लिएका सुनसरी इनरुवाका इद्रिस मियाँ काठमाडौं नआइ भारतीय विमानस्थल हुँदै रोजगारीका लागि साउदी अरेबिया पुगे । साउदी अरेबिया पुगेको १४औं दिनमा नै उनले परिवारलाई वैदेशिक रोजगार विभाग पठाएर आफूलाई सम्झौता विपरीत सप्लाई कम्पनीमा हालेका कारण स्वदेश झिकाउन उजुरी दर्ता गराए ।

नवलपरासी बर्दघाटका सनिल विक पनि इद्रिस जस्तै आफूलाई सप्लाईमा हालेको भन्दै बरू मर्ने तर काम नगर्ने अड्डी लिएर बसेको ११ दिन भएको छ । दुवैको एउटा मात्रै माग छ, ‘हामीलाई सप्लाई कम्पनीमा हालिएको छ, छिटोभन्दा छिटो घर फर्काउनु पर्‍यो ।’

हाल वैदेशिक रोजगार विभागमा म्यानपावर कम्पनीविरुद्ध पर्ने अधिकांश उजुरी सप्लाईमा पारिएको भन्दै साउदीबाट उद्धार गर्नुपर्ने प्रकृतिका छन् । तर साउदी सरकारलाई १ जना नेपाली कामदारको ६ हजार रियाल भिसा शुल्क तिर्ने साउदी रोजगारदाता कम्पनीले कामदार फर्काउन सजिलोसँग एक्जिट पर्मिट दिँदैनन् ।

करार अवधि अगावै कामदार आफ्नो कारणले स्वदेश फिर्ता भए, रोजगारदाताको भिसा र अन्य खर्च क्षतिपूर्ति दिएर स्वदेश फर्कनुपर्ने र स्वदेश फर्केपश्चात् क्षतिपूर्तिको दाबी नगर्ने गरी विगतमा म्यानपावर कम्पनीको सरकारसँग सहमति भएको छ । तर कामदारले नातादेखि नेता र मन्त्रीसम्मको शक्ति ‘पावर’ लगाएपछि म्यानपावर कम्पनी आफ्नो कम्पनी छवि बिग्रिने र काम बन्द हुने त्रासले विगतमा जे सहमति भएपनि वर्तमानको दबाब पन्छाउन घर फर्किने जहाज टिकट दिएर भएपनि सहमति गर्ने गरेका छन् ।

विभागमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघका तर्फबाट मेलमिलाप केन्द्रमा छलफलमा सहभागी कार्यसमिति सदस्य राजकाजी भोलान (राज लामा) साउदी अरेबियामा कुन सप्लाई हो र कुन सप्लाई होइन भनेर उड्नु अघि राम्रोसँग कामदारलाई म्यानपावर कम्पनीले ओरिएन्टेशन दिन नसकेका कारण साउदी अरेबिया कामदार पठाउने अधिकांश म्यानपावर कम्पनी समस्यामा परेको बताउँछन् ।

उनका अनुसार साउदी अरेबियाको कन्स्ट्रक्सन क्षेत्रमा काम गर्ने अधिकांश बहुराष्ट्रिय कम्पनी छन् । उनीहरूले ठाउँ ठाउँमा परियोजना सञ्चालन गरेका हुन्छन् । एउटा परियोजनाको काम सकिएपछि शहर नै परिवर्तन गरेर अर्को ठाउँमा कामदार लैजाने र साटफेर गर्ने गर्छन् । तर नेपालीहरूले त्यसलाई सप्लाई भन्दै विरोध जनाउने कतिपय अवस्थामा काम रोक्ने गर्दछन् ।

हाल घर फर्काउन परिवारमार्फत उजुरी दिएका इनरुवाका इद्रिस काठमाडौं नै आएनन् । सस्तो टिकटको लोभले उनी भारतीय विमानस्थलबाट साउदी अरेबिया गएका थिए । काम कस्तो छ भन्ने बारे उनले राम्रोसँग थाहा नै पाएनन् । संघका प्रतिनिधि लामा भन्छन्, ‘साउदीमा कन्स्ट्रक्सनमा कामदार पठाउने हो भने म्यानपावर कम्पनी सञ्चालक आफैंले जाने कामदारलाई राम्रोसँग ओरिएन्टेशन दिन अल्छी गर्न नहुने देखिन्छ । ओरिएन्टेशन पाएका कामदार खटेका छन्, टिकेको पनि देखिन्छ । ओरिएन्टेशन नपाउने कामदार गएको दोस्रो दिनदेखि नै घर फर्काउन दबाब दिन्छन् ।’

साउदीमा नेपाली कामदारको समस्या देखिन थालेपछि यसअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले साउदी अरबमा नेपाली कामदारलाई तलब नदिने र फर्काउन असहयोग गर्ने कम्पनीहरूमा नयाँ कामदार नपठाउने निर्णय गरेको थियो । झन्डै १५ सय कामदार समस्यामा परेको तथ्यांक सार्वजनिक भएपछि संकटग्रस्त कम्पनीमा कामदार रोक्ने निर्णय मन्त्रालयले गरेकोे थियो । 

विभागमा विवाद समाधानका लागि खटिएकी संघकी प्रतिनिधि विद्या बज्राचार्यले कतिपय कामदार र उनका परिवारले पुरानो निर्णयलाई आधार बनाएर व्यवसायीलाई कामदार फर्काउन दबाब दिने गरेको बताइन् । उनले भनिन्, ‘उजुरी दर्ता गराउँदैमा फर्काइदिने भन्ने हुँदैन, उजुरीका आधारमा मात्रै फर्काउने हो भने बिना कारण समस्या खडा गरेर घर फर्किन चाहनेले पनि समस्यामा पार्ने भएकाले यसमा व्यवसायीले पनि आफ्नो तर्फबाट अडान लिनुपर्छ ।’

ADV

सम्बन्धित खबर

Advertise