विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई भेट्दा मोबाइल निषेध गरिएको छ । मुख्यमन्त्री कार्कीले आफूलाई भेट्न आउने आगन्तुकका लागि मोबाइल फोन प्रयोग निषेध गर्ने निर्णय गरेका छन् ।
मुख्यमन्त्रीको सचिवालयका अनुसार यो निर्णय सुरक्षा सतर्कता र गोपनीयता सुनिश्चित गर्नका लागि गरिएको हो । मुख्यमन्त्री कार्यालय प्रवेश गर्ने प्रत्येक आगन्तुकलाई अब मोबाइल फोन बाहिरै राख्नुपर्नेछ । यस्तो निर्णयपछि अब भेटघाटमा सहभागी हुनेहरूले कुनै पनि प्रकारको अडियो वा भिडियो रेकर्डिङ, लाइभ प्रसारण वा फोटो खिच्न पाउने छैनन् ।
मुख्यमन्त्री कार्कीको यो कदमलाई कतिपयले प्रदेश सरकारको कार्यशैलीमा शिष्टाचार र मर्यादा कायम गर्न गरिएको पहलका रूपमा लिएका छन् । ‘मुख्यमन्त्रीसँग हुने छलफलहरूमा संवेदनशील नीति, रणनीति र निर्णयहरू समावेश हुने भएकाले गोपनीयता अति आवश्यक छ’, मुख्यमन्त्रीका निजी सचिव कमल पौडेलले भने,‘त्यही कारण मोबाइललाई बाहिरै राखेर मात्रै भेटघाट गर्न सकिन्छ ।’
यो निर्णयले सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा विभिन्न प्रतिक्रिया जन्माएको छ । एकातिर यसलाई सकारात्मक परिवर्तनका रूपमा समर्थन गरिएको छ भने अर्कोतिर केहीले लोकतान्त्रिक कार्यशैलीमा पारदर्शिता घटाउने संकेतका रूपमा पनि व्याख्या गरेका छन् ।