२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

शंका सहितको आशा

shivam cement
२०८२ जेठ २ गते ०६:३५
Shares
शंका सहितको आशा

प्रतिनिधि सभाको सवैभन्दा ठूलो दल नेपाली कांग्रेस सहित सात दलको समर्थनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेपछि देखिनेगरी भएको काम मध्ये एक हुन्– संक्रमणकालीन न्याय । विपक्षी दलहरुको समेत साथ लिएर प्रधानमन्त्री ओलीले संक्रमणकालीन न्याय सम्बन्धि काम अगाडि बढाएका हुन् । ओली प्रधानमन्त्री बनेको एक महिनाभित्रै (गत साउनमा) बेपत्ता पारिएका व्यक्तिहरुको छानबीन र सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी ऐन संशोधन पारित भएको थियो । कानुन बनेको ९ महिनासम्म पनि पदाधिकारी नियुक्त गर्ने कार्य हुन सकेको थिएन । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले दुवै आयोगमा पदाधिकारी नियुक्त गरेका छन् । दुवै आयोगले नेतृत्व पाएकाले अब संक्रमणकालीन न्याय निरुपण कार्य अगाडि बढ्नेछ । 

संक्रमणकालीन न्याय सम्बन्धि यो काम ढिलोमा पनि एक दशक अगाडि सकिनुपर्ने थियो । ५ मंसिर २०६३ मा तत्कालीन विद्रोही माओवादीसँग शान्ति सम्झौता भएको थियो । सशस्त्र माओवादीसँग शान्ति सम्झौता हुँदा संक्रमणकालीन न्याय आयोग गठन गरेर टुंग्याउने भनिएको थियो । तर शान्ति सम्झौताको झण्डै दुई दशक पुग्न लाग्दा बल्ल आयोगमा पदाधिकारी नियुक्त भएका छन् । अर्थात् संक्रमणकालीन न्याय सम्बन्धी काम अगाडि ठ्याक्कै एक दशक अगाडिकै अवस्थाबाट अगाडि बढेको छ । २०७०/०७१ तिरै आयोग सम्बन्धी कानुन निर्माण र पदाधिकारी नियुक्त भएका थिए । आयोग नेतृत्वले उजुरी संकलन गरिसकेको थियो । तर राजनीतिक बखेडा उत्पन्न भयो, न्याय निरुपणको काम अवरुद्ध भयो । 

सर्वोच्च अदालतले दुवै आयोग सम्बन्धी कानुन संशोधनकै आदेश दियो । जसले गर्दा संकलन भइसकेको उजुरी लथालिङ्ग हुन पुग्यो । कानुन संशोधन गर्न दलहरुबीच सहमति जुट्न सकेन । तर वर्तमान सरकारको उपलब्धिकै रुपमा कानुन संशोधन भयो र पदाधिकारी नियुक्त गरियो । तर पदाधिकारी नियुक्ति प्रक्रिया विवाद रहित बन्न सकेन । किनकि दुवै आयोगका अध्यक्ष सहित पदाधिकारीहरु कांग्रेस–एमालेबीच भागबण्डाका आधारमा भयो । यदि भागबण्डा नै हुन्थ्यो भने पीडितहरुका तर्फबाट र सम्बन्धित विषय–विज्ञका आधारमा गरिनुपथ्र्यो । तर राजनीतिक नेतृत्वबीच भागबण्डाका आधार पदाधिकारी नियुक्त भएका छन् । यसर्थ फेरि पनि संक्रमणकालीन न्याय सम्बन्धी विषयको जटिलता कायमै रहन पुगेको छ । यद्यपि आशा गर्ने ठाउँ बाकी छन् । असाध्यै ढिलो भइसकेको न्याय निरुपणको कामलाई शिघ्र टुंग्याउनेगरी र कुनै पक्षपात नराखी काम भयो भने त्यसलाई सकारात्मक रुपमै लिनुपर्छ ।

ताजा खबर

सम्बन्धित खबर