एक महिला प्रहरी जवानले सडकमा सुत्केरी गराइरहेको भिडियो/तस्बिर अहिले सामाजिक संजालमा भाइरल छ । प्रहरी युनिफर्ममै रहेकी ती जवानले सडकमा सुत्केरी गराइरहेको भिडियो भाइरल हुनु स्वाभाविक पनि हो किनकि सुत्केरी गराउने पेसा प्रहरीको नभएर स्वास्थ्यकर्मी हो र स्थान सडक त हुँदै होइन । स्वास्थ्य चौंकीमा स्वास्थ्यकर्मीले आमा र शिशुको स्वास्थ्यलाई ख्याल राख्दै सुत्केरी गराइनुपर्ने हो । भाइरल भिडियो कैलालीको गोदावरी नगरपालिका– १, वसन्तपुरको हो । प्रहरीका अनुसार त्यहाँ एक सुत्केरी छट्पटाइरहेकी थिइन् । उनले सडकमै बच्चा जन्माइन्, जसलाई प्रहरी जवानले सहयोग गरिन् । ती सुत्केरी सुर्खेत भेरीगंगा नगरपालिका– ८ की २४ वर्षीया चन्द्रा आचार्य रहेको खुलेको छ । उनका पति बझाङका डम्बर जोशी वैदेशिक रोजगारीका निम्ति भारत गएका छन् ।
गोदावरी बस्दै आएकी चन्द्राले सडकमै बच्चा जन्माइन् र प्रहरी जवानले सहयोग गरेको भिडियो भाइरल छ । प्रहरीले दिएको जानकारीअनुसार आमा–शिशु दुवैको स्वास्थ्य सामान्य छ । यो खुसीको खबर हो । तर, भिडियोमा देखिएको दृश्य र चन्द्रा सुत्केरी बनेको प्रक्रिया राष्ट्रिय लज्जाको विषय हो । यसमा थुप्रै प्र्रश्न अनुत्तरित छन् । संभवतः ३ तहकै सरकार जबाफहीन छन् । संघीय सरकारको नीति, प्रदेश सरकारको उपस्थिति र स्थानीय सरकारका प्रतिनिधिहरू त्यहाँ पुग्न सकेका देखिँदैन जबकि हरेक वडामा कम्तीमा ५ जना प्रतिनिधि छन् । प्रदेश र संघीय सरकारका प्रतिनिधिहरू जनसेवामै परिचालित छन् । तर, धन्न ! चन्द्रा बाँचिन्, शिशु सकुशल जन्मिए । सुदूरपश्चिम, कर्णाली र अरू दुर्गम क्षेत्रमा सुत्केरीकै कारण थुपै्र महिला र शिशुको ज्यान गइरहेको छ ।
सरकारकै कार्यक्रम हेर्दा पनि मातृशिशु मृत्यु दर अझै देशमा चिन्तायोग्य रहेकै पुष्टि हुन्छ । सरकारी तथ्यांकहरूका अनुसार हाल नेपालमा मातृ मृत्यु दर प्रतिलाखमा २३० छ । यो अवस्थालाई सन् २०३० सम्म प्रतिलाख ७० जनामा झार्ने दिगो विकास लक्ष्य छ । यसका लागि सरकारले ठूलै मिहिनेत/लगानी गरिरहेको छ । गर्भवती र शिशुको ज्यान जोगाउन राष्ट्रपति हवाई उद्धार कार्यक्रम संचालित छ । दूरदराजका गर्भवतीलाई सुत्केरी गराउन सुविधा सम्पन्न अस्पतालसम्म लैजान हेलिकोप्टरको प्रयोग गर्नु यो कार्यक्रमको लक्ष्य हो । तर, अझै पनि सडकमै प्रहरी जवानले सुत्केरी गराइरहेको दृश्य भाइरल हुनु देशमा बलियो र सुव्यवस्थित सरकार रहेको प्रमाण भने होइन ।