२०८२ जेठ ३१ गते शनिवार / Jun 14 , 2025 , Saturday
२०८२ जेठ ३१ गते शनिवार
Ads

भिजिट भिसा प्रकरण : कांग्रेस–एमाले र माओवादीबीच २ बुँदे सहमति

मध्यान्ह
२०८२ जेठ ३० गते १५:४४
भिजिट भिसा प्रकरण : कांग्रेस–एमाले र माओवादीबीच २ बुँदे सहमति

काठमाडौं : भिजिट भिसा प्रकरणलाई लिएर अवरुद्ध संसद् खोल्नेबारे सत्तारुढ दलहरू नेपाली कांग्रेस तथा नेकपा एमाले र प्रतिपक्षी माओवादीबीच २ बुँदे सहमति भएको छ ।

माओवादी उपमहासचिव वर्षमान पुनका अनुसार भिजिट भिसा प्रकरणको छानबिन र अध्ययन गर्न उपयुक्त संयन्त्र गठन गर्ने गरी २ बुँदे सहमति भएको हो । यो सहमतिसँगै प्रतिनिधिसभामा जारी अवरोध हटाउने समझदारी भएको छ ।

सहमतिपत्रमा कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, एमाले मुख्य सचेतक महेश बर्तौला र माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले हस्ताक्षर गरेका छन् ।

हस्ताक्षर पत्रमा प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीको भने हस्ताक्षर छैन । उसको ठाउँ खाली राखिएको छ । 
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि पनि छानबिन गर्नुपर्ने बताउँदै प्रतिपक्षीले सदन अवरुद्ध पार्दै आइरहेका थिए । अब सदनमा रास्वपा एक्लिएको छ । 

सत्तारूढ दलहरू र प्रमुख प्रतिपक्षको सहमतिमा विपक्षी रास्वपाले विरोध गरेको छ । भिजिट भिसा प्रकरणले प्रतिनिधिसभा जेठ १३ देखि निरन्तर अवरुद्ध हुँदै आएको छ । शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको बेठक ३ः१५ बजेसम्मका लागि सारिएको छ ।

यस्तो छ २ बुँदे सहमति

१. भिजिट भिसा र अध्यागमनसँग सम्बन्धित विषयका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ । उक्त कार्यलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निष्कर्षमा पुयाउने नै छ । उक्त विषयका सम्बन्धमा छानबिनका लागि आयोगले माग गरेबमोजिम नेपाल सरकारले आवश्यक सहयोग गर्नेछ ।

२. अध्यागमन र भिजिट भिसाको सम्बन्धमा विगतदेखि देखिएका समस्या समाधान गर्न नेपाल सरकारले आवश्यक अध्ययन एवं छानबिन गरी नीतिगत, कानुनी र संरचनात्मक सुधारका लागि उपयुक्त व्यवस्था गर्न ठोस पहल गर्ने प्रतिबद्धता नेपाल सरकारले व्यक्त गर्ने ।

ADV

सम्बन्धित खबर