काठमाडौंः नेकपा (एकीकृत समाजवादी) की सांसद मदनकुमारी साहले लोकतन्त्र र प्राप्त उपलब्धीमाथि खतरा मडारिरहँदा राजनीतिक नेतृत्व रोमको राजाझैं आफैँमा मस्त भएको आरोप लगाएकी छन् । शुक्रबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद साहले सात दशक लामो संघर्षबाट प्राप्त गणतन्त्रको इतिहास स्वर्णिम रहेको बताएकी हुन् ।
उनले जसरी एकतावद्ध भएर राजनीतिक परिवर्तन गर्यौं त्यसरी नै आर्थिक, सामाजिक रुपान्तरणसँगै मुलुकलाई गरिबी, बेरोजगारी र कुशासनको दुष्चक्रबाट बाहिर निकाल्न सक्यौं त भन्दै प्रश्न गरिन् । सांसद साहले संविधानको भावना र मर्मअनुरुप कति काम गर्यौं, आत्मसमीक्षा गर्दै इतिहास गर्विलो बनाउने कि भावी पिढींले धिक्कार्ने खालको बनाउने भन्ने प्रश्न सबैका सामु रहेको स्पष्ट पारिन् । वर्तमानमा राजनीतिक छिनाझपटी, स्वार्थ, पदलोलुपता र बदला प्रदर्शनका कारण व्यवस्थाप्रति नै जनअसन्तोष बढ्दै गएको उनको दाबी थियो ।
उनले भनिन्, ‘लोकतन्त्र र प्राप्त उपलब्धीमाथि खतरा मडारिइरहेको छ । अर्कातिर राजनीतिक नेतृत्व रोमको राजा झैं आफैंमा मस्त छ । सात दशक लामो संघर्षबाट हामीले लोकतान्त्रिक गणतन्त्र स्थापना गर्यौं । संघर्ष र सफलताको इतिहास स्वर्णिम छ यसप्रति हामी गौरब गर्छौं । अहमता, मपाई र देखाइदिने प्रवृत्तिले मुलुकलाई दिनप्रतिदिन ठूलो नोक्सान भइरहेको छ । देश जले जलोस् तर मेरो अहंममा ठेस लाग्नु भएन, मेरो आलोचक कोही जीवित रहनुभएन । यस्तो खालको मनोवृत्ति, राजनीतिक छिनाझपटी, स्वार्थ, पदलोलुपता र बदला प्रदर्शनले जनता वाक्क दिक्क भएका छन्, जनअसन्तोष बढ्दै गएको छ ।’
उनले राजनीतिक वृत्तमा अहंता, मपाइत्व र देखाइदिने प्रवृत्तिका कारण मुलुकले दिनप्रतिदिन ठूलो नोक्शानी व्यहोर्नु परिरहेको बताइन् ।