२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

एक महिनामै अकस्मात बिते १ सय ६५ व्यक्ति

shivam cement
सपना बोहरा
२०८२ फागुन १६ गते ०६:२५
Shares
एक महिनामै अकस्मात बिते १ सय ६५ व्यक्ति

- धनकुटा साँगुरीगढी गाउँपालिका–१ जोगेनका ४२ वर्षीय प्रिथिराज राई गत असोज २४ गते आफ्नै घरमा मृत अवस्थामा भेटिए । साँझ खाना खाएर सामान्य अवस्थामा सुतेका उनी बिहान ओछ्यानमै मृत भेटिएको प्रहरी अनुसन्धानमा देखिएको छ । उनले न विष सेवन गरेका थिए, न त शरिरमा कुनै चोटपटक नै लागेको थियो ।

- काभ्रे धुलिखेल नगरपालिका–७ अड्डाबजारमा डेरा गरी बस्ने ६० वर्षीय हिराकाजी लामा गत माघ ९ गते आफ्नै कोठामा मृत अवस्थामा फेला परे । काभ्रेकै नमोबुद्ध नगरपालिका–५ कमिरे घर भएका लामा पनि सामान्य अवस्थामा नै खाना खाएर सुतेका थिए । बिहान अवेरसम्म पनि नउठेपछि परिवारले हेर्दा उनको मृत्यु भइसकेको थियो । 

‘कुनै औषधी खाँदैनथ्यो, कुनै रोग लागेको पनि थाहा थिएन, तर राति अचानक मृत्यु भएछ’ कसैको आकस्मिक मृत्युपछि यस्ता संवाद धेरै सुनिन्छ । दिनभरीसँगै घुमेको, बोलेको व्यक्ति अर्को दिन अकस्मात मृत्यु भएका खबरहरु पनि आइरहन्छन् । 

यसरी कुनै जटिल रोग थाहा नभएरै वा नथलिएका व्यक्तिको एक्कासी मृत्युका घटना बढेको पाइएको छ । नेपालल प्रहरीको एक तथ्यांक अनुसार, माघ महिनामा मात्र देशभर १ सय ६५ जनाको त्यसरी आकस्मिक मृत्यु भएको छ । प्रहरीले यस्ता घटनालाई फुटकर मृत्यूको नाम दिएको छ । जुन मुत्यू कसैले हत्या गरेको पनि होईन्, कुनै दिर्घ रोग वा विष सेवन, आत्महत्या जस्ता नभई अकस्मात मृत्युसँग सम्बन्धित छन् । आत्महत्या, हत्या वा कुनै विपद, दुर्घटनामा बाहेकका मृत्युलाई फुटकर (अकस्मात) मृत्यूको सूचीमा राखिएको प्रहरी प्रवक्ता अविनारायण काफ्ले बताउँछन् । ‘शरिरमा कुनै चोट पटक नलागेका, हत्या, आत्महत्या जस्तो नभएका र दिर्घरोगी पनि नभएर मृत अवस्थामा भेटिएका व्यक्तिलाई ‘फुटकर ज्यान’को लिस्टमा राखिएको छ’, उनले भने । 

अचानक मृत्युको कारण के हो ? 

अप्रत्यासित मृत्यु हुने अवस्थाको मुख्य कारण जीवनशैली र स्वास्थ्यमा ध्यान नदिनु रहेको चिकित्सकहरु बताउँछन् । जसले गर्दा व्यक्तिको असामयिक मृत्यु हुने गरेको छ । 

जोखिम पहिचान नभएका ब्यक्तिको आकस्मिक मृत्यु कडा खालको ह्रदयघात (म्यासिभ हार्ट एट्याक) र अन्य थुप्रै कारणले मृत्यु हुनसक्ने विशेषज्ञहरु बताउँछन् । मुटुरोग विशेषज्ञ डा. कृष्ण अधिकारीका अनुसार, अचानक मृत्युको प्रमुख कारण मुटुको मांसपेशीमा रगत प्रवाह रोकिनु हो । मुटुको धडकन असामान्य रूपमा छिटो वा ढिलो भई मुटुले रगत पम्प गर्न छोडेर मस्तिष्कमा रक्तस्राव वा रगतको आपूर्ति रोकिने उल्लेख गर्दै उनी भन्छन्, ‘त्यस्तो मृत्यु बिहानको समयमा बढी हुने गरेको छ ।’ 

‎अत्याधिक मादक पदार्थ सेवन गरेर सुत्दा फोक्सोको नलीमा रगत जमेर अवरोध हुने र मृत्यु हुने गरेको डा अधिकारी बताउँछन् । फुर्तिलो र औषधि सेवन नगर्दैमा त्यसलाई निरोगी भन्न नमिल्ने उल्लेख गर्दै उनी भन्छन्, ‘यस्तो हुने स्वास्थ्य परीक्षण नगराएर हो । लक्षण नदेखिने मुटुको जोखिम कारकहरू जस्तै उच्च रक्तचाप, मधुमेह, धूम्रपान, र अव्यवस्थित जीवनशैलीले यस्तो मृत्युको सम्भावना हुन्छ ।’ 
रगतमा उच्च कोलिस्टोल, उच्च रक्तचाप, मधुमेह, धुम्रपान, मध्यपान, मोटोपनका कारण अचानक मृत्यु हुने गरेको अधिकारी बताउँछन् । 

सामान्यतया धेरै समय लामो दूरीको उडान वा बस वा कारमा यात्रा गर्दा वा डेस्कमा लामो समयसम्म खुट्टा नहल्लाइकन निष्क्रिय बस्दा पनि यस्ता समस्या आउन सक्छन् । वृद्धावस्था, उच्च रक्तचाप, मधुमेह, कोलेस्टोरोल, सुर्ती तथा मदिराजन्य पदार्थको लत लगायतले स्ट्रोकको जोखिम बढाउँछ ।

सामान्यतया मुटुको धड्कन प्रतिमिनेट ६० देखि १०० पटक धड्किन्छ । जब मुटुको धड्कन नियन्त्रण गर्ने मुटुको विद्युतीय संकेतमा समस्या हुन्छ र राम्रोसँग काम गर्दैन । यस्तोमा मुटुको कुनै भागमा वा रगत पम्प गर्न समस्या भएको हुनसक्छ । जसकारण मुटुको धड्कन धेरै छिटो वा ढिलो धड्किन थाल्छ । यसरी मुटुको चालमा अनियमितता आउनु कार्डियाक एरिथमिया हो । यस्तो अवस्थामा एक्कासि टाउको दुख्ने, थकान लाग्ने, चक्कर लाग्ने, मुटु ढुकढुक गर्ने, पसिना आउनु, छाती दुखेर सास फेर्न कठिनाइ हुने, बेहोस भई भुईंमा लडेर घटनास्थलमै मृत्यु हुनसक्छ ।

यसबाट बच्न शारीरिक व्यायाम सन्तुलनमा गर्ने, पौष्टिक आहार खाने, पर्याप्त निद्रा लिने, दीर्घ रोग भए चिकित्सकको निगरानीमा औषधि खाएर नियन्त्रण गर्ने जस्ता अभ्यास गर्नुपर्ने चिकित्सकहरुको सल्लाह छ । 

जनस्वास्थ्य विद् डा. रबिन्द्र समीर बदलिएको जीवनशैलीका कारण यस्ता घटना बढेको बताउँछन् । अस्वस्थ खाना र जीवनशैलीले साइलेन्ट हार्ट अट्याक बढ्दै गएको उनी बताउँछन् । ‘अस्वस्थ जीवनशैलीले भित्रभित्रै प्रेसर, कोलेस्ट्रोल बढिरहेको हुन्छ’ डा समीर भन्छन्, ‘त्यसमाथि मादक पदार्थ, धुम्रपान सेवन गर्दा साइलेन्ट हार्ट अट्याक आउँछ र सुतेकै अवस्थामा मृत्यु हुन्छ ।’ सामान्य अबस्थाका मानिसहरूको पनि अकस्मात ज्यान गइरहेका कारणले समय समयमा सुगर, प्रेसर, कोलेस्ट्रल अनिवार्य जाँच गराउन उनी सल्लाह दिन्छन् ।

सम्बन्धित खबर