
रौतहट : रौतहटको उत्तरी भेगमा रहेको चन्द्रपुर नगरपालिका स्थित पूर्व–पश्चिम राजमार्गको बागमती पुलमा बसको ठक्करबाट एक बालकको मृत्यु भएपछि उत्पन्न तनावका कारण आइतबार करिब ४ घण्टा राजमार्ग अवरुद्ध भएको छ ।
मृतकका आफन्त र स्थानीयवासीले उचित क्षतिपूर्तिको माग गर्दै सडकमा टायर बालेर प्रदर्शन गरेपछि यातायात सेवा पूर्णरूपमा ठप्प भएको थियो । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार शनिबार दिउँसो करिब १ः२० बजेको समयमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ५ ख ६२६३ नम्बरको बसले सोही दिशातर्फ साइकलमा जाँदै गरेका १३ वर्षीय बालक कृष्ण सहनीलाई ठक्कर दिएको थियो ।
चन्द्रपुर नगरपालिका–१ मंगलपुर निवासी सिकिन्द्र सहनीका छोरा कृष्णको दुर्घटनामा परी टाउको र बायाँ खुट्टाको तिघ्रामा गम्भीर चोट लागेको थियो ।
घाइते बालकलाई तत्काल प्राथमिक उपचारका लागि वीरगञ्ज पठाइएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि उनलाई बारास्थित एल.एस. न्यूरो अस्पताल रिफर गरिएको थियो । उपचारकै क्रममा शनिबार चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् । दुर्घटनालगत्तै प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका–५ निवासी ४१ वर्षीय सोमबहादुर प्रजा रहेका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार प्रारम्भिक जाँचमा चालकले मदिरा सेवन नगरेको पाइएको छ । प्रहरीले सवारी ज्यान मुद्दा अन्तर्गत थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाए ।
आफ्नो सन्तान गुमाएको शोकमा डुबेका आफन्त र न्यायको माग गरिरहेका स्थानीयले आइतबार दिउँसो १२ बजेदेखि मंगलपुर खण्डमा राजमार्ग अवरुद्ध गरेका थिए । प्रदर्शनकारीहरूले सडकमा ढुंगा राख्ने र टायर बालेर यातायात रोकेका थिए ।
आफ्नो बच्चा गुमाउनुको पीडामा रहेकी मृतककी आमा सडकमै सुतेर विरोध जनाएपछि स्थिति थप भावुक र तनावपूर्ण बनेको थियो ।
अवरोधका कारण राजमार्गको दुवैतर्फ सयौँ सवारी साधन र यात्रुहरूबीच बाटोमै अलपत्र परेका थिए ।
स्थिति नियन्त्रणमा लिन घटनास्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं डिएसपी विष्णुप्रदीप वस्यालका अनुसार प्रहरी निरीक्षक कमलेश मण्डल, रुपेश कुमार झा र सशस्त्र प्रहरी निरीक्षक राजेश आचार्यको नेतृत्वमा खटिएको टोलीले स्थानीयसँग संवाद गरेको थियो ।
मृतकका परिवारलाई नियमानुसारको क्षतिपूर्ति उपलब्ध गराउने र दोषी चालकमाथि कडा कानुनी कारबाही चलाउने लिखित सहमति भएपछि बेलुका करिब ४ बजेदेखि राजमार्ग पुनः सञ्चालनमा आएको हो ।