
रौतहट : रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नं. ५ सन्तपुरमा दलित समुदायमाथि भएको भनिएको आक्रमणको घटनाले यतिबेला सामाजिक सञ्जाल र स्थानीय स्तरमा ठूलो आक्रोश पैदा गरेको छ ।
फागुन १९ गते उक्त घटनामा दलित समुदायका व्यक्तिहरूलाई सांघातिक आक्रमण गरी गम्भीर घाइते बनाइएको र महिलाहरूको अस्मितामाथि समेत खेलबाड गरिएको पीडित पक्षको गम्भीर आरोप छ ।
पीडित परिवारले सोमबार पत्रकार सम्मेलनमा स्थानीय प्रभावशाली व्यक्तिहरूको एक समूहले योजनाबद्ध रूपमा दलित बस्तीमा प्रवेश गरी कुटपिट गरेको बताइएको छ ।
आक्रमणबाट नरेश राम, सीता राम, ललन राम, बिरजा राम र राजकुमार राम लगायतका व्यक्तिहरू गम्भीर रूपमा घाइते भएका छन् । घाइतेहरूको शरीरका विभिन्न भागमा गहिरो चोट लागेको र उनीहरूको उपचार भइरहेको पीडित परिवारले जनाएको छ ।
कुटपिट मात्र नभइ आक्रमणकारीहरूले सोही समुदायका चेलीबेटीहरूमाथि समेत अमानवीय व्यवहार र अस्मितामाथि आँच पु¥याउने कार्य गरेको आरोप सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियो र बयानहरूमा उल्लेख छ ।
पीडित पक्षले घटनामास्थानीय भुनेश्वर यादव, पसिन्द्र यादव, नितेश यादव, जगु यादव (नगेन्द्र यादव), सुखारी यादव, गिरधारी यादव, नबिन कुमार यादव र जयप्रकाश यादव रहेको बताएका छन् ।
तर घटना भएको दुई दिन बितिसक्दा पनि दोषीहरू पक्राउ नगरिएको पीडित पक्षले बताएका छन् ।
पीडित पक्षले न्याय माग्न जाँदा उल्टै पीडितहरूलाई नै नियन्त्रणमा लिने र दोषीहरूलाई संरक्षण दिने काम प्रहरीबाट भइरहेको आरोप लगाएको छ ।
‘हामी कुटिएका छौं, हाम्रा चेलीबेटीको इज्जत लुटिएको छ, तर प्रहरीले दोषीलाई समात्नुको साटो हामीलाई नै त्रसित बनाइरहेको छ,’ एक पीडितले गुनासो गरे ।
जातीय विभेद र हिंसाविरुद्ध सक्रिय अधिकारकर्मीहरूले यस घटनालाई लोकतान्त्रिक मुलुककै कलंकको रूपमा चित्रण गरेका छन् ।
नेपालको संविधानले जातीय आधारमा हुने विभेद र हिंसालाई कठोर अपराध मानेको अवस्थामा रौतहटमा भएको यो घटनाले विधिको शासनमाथि नै चुनौती थपेको उनीहरूको ठहर छ ।