
काठमाडौं : गत फागुन २१ गतेदेखि धुम्म भएको काठमाडौंको आकास एक सातासम्म पनि खुल्न सकेको छैन । सोमबार साँझ छिटपुट वर्षा भए पनि आकास खुल्न सकेन । तुवाँलोले पूरै छोपेका कारण उपत्यका निसास्सिँदै गएको छ । विगतका वर्षमा वनजंगलमा लागेको डढेलोका कारण प्रदूषण बढ्ने गथ्र्यो । गर्मी सुरु भए पनि यो वर्ष उपत्यकाआसपासमा आगलागीका घटना खासै सुनिएका छैनन् । तर, पनि वायु प्रदूषण बढ्दा जनजीवन नै प्रभावित बनेको छ ।
बुधबार काठमाडौं विश्वको सबैभन्दा प्रदूषित दोस्रो सहर बन्यो । वायु प्रदूषणको अवस्था रियल टाइममा मापन गर्ने आइक्यु एयरका अनुसार काठमाडौं विश्वको सबैभन्दा बढी वायु प्रदूषण भएको दोस्रो सहर बनेको हो । काठमाडौंको एयर क्वालिटी इन्डेक्स १९७ रहेको छ । जसलाई चिन्ताजनक मानिन्छ । पहिलो स्थानमा रहेको भारतको नयाँ दिल्लीको एयर क्वालिटी इन्डेक्स २१६ छ ।
वायु गुणस्तर सूचक शून्यदेखि ५० सम्म हुँदा राम्रो, ५१ देखि १०० सम्म हुँदा सन्तोषजनक, १०१ देखि २०० सम्म हुँदा विचारणीय वा चिन्ताजनक, २०१ देखि ३०० सम्म कमजोर, ३०१ देखि ४०० सम्म अति कमजोर र ४०१ देखि ५०० सम्म अति घातक मानिन्छ ।
जल तथा मौसम विभागकी मौसमविद् पूजा लामिछानेले आकासमा बादलजस्तो देखिएको तुवाँलो भएको बताउँछिन् । ‘बादल लागेजस्तो देखिए पनि तुवाँलो हो,’ उनले भनिन, ‘त्यसकै कारण आकास धुम्म भएको हो ।’
हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्चचापीय प्रणाली र नेपालको पूर्वी भूभागनजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक सुधार हुँदै गएको उनले बताइन् । ‘बिहीबार बागमती प्रदेश र केही प्रदेशमा वर्षाको सम्भावना छ, वर्षा भयो भने तुवाँलो हट्ने सम्भावना हुन्छ,’ उनले भनिन् ।
वायु प्रदूषणका कारण काठमाडौं उपत्यका केही दिनयता विश्वकै प्रदूषित सहरका रूपमा सूचीकृत हुँदै गएको छ । वायु प्रदूषणले बालबालिका, वृद्धवृद्धा, दमका बिरामी, गर्भवतीलाई बढी प्रभाव पर्ने भएकाले सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकी सुझाउँछन् । ‘वायु प्रदूषण बढ्दै जाँदा विशेषगरी श्वास–प्रश्वासमा समस्या हुने, खोकी लाग्ने खालका समस्या देखिन थालेको छ,’ उनले भने । वायु प्रदूषणका कारण दम, फोक्सोका रोग, आँखाको समस्या, नाक र घाँटीमा एलर्जी, छालामा समस्या, हृदयरोग हुने सक्ने उनले बताए ।
यसकारण प्रदूषण
विपद् व्यवस्थापन तथा जलवायुविद् डा. धर्मराज उप्रेतीले पश्चिमी वायु कमजोर हुँदा वर्षा हुन नसकेर प्रदूषण भएको बताउँछन् । पाँच वर्षयता हिउँदे वर्षामा कमी हुनु, प्रि–मनसुन लागिसक्दा पनि राम्रोसँग वर्षा हुन नसक्नु, वन डढेलो तथा अन्य आगलागीका घटना बढ्नुले प्रदूषण बढ्दै गएको उनले बताए । ‘वर्षा हुन सकिरहेको छैन, हावासमेत चल्न नसक्दा प्रदूषण जहाँको तहीँ थुप्रिएको छ,’ उनले भने, ‘पानी परेको भए प्रदूषण हट्थ्यो ।’
जलवायु परिवर्तनले पारेको असरका कारण पनि मौसमी अवस्थामा परिवर्तन आउने र प्रदूषण बढाउने गरेको उनले बताए ।
उनका अनुसार वातावरणमैत्री पूर्वाधारनिर्माण हुन नसक्नुलगायत कारण प्रदूषण बढेको छ । विगतका वर्षमा प्रदूषणका कारण विद्यालयसमेत बन्द गर्नुपरेको थियो भने सवारीसाधन जोर–विजोर प्रणालीमा चलाउनुपरेको थियो । नेपालमा फागुनदेखि जेठसम्म वायु प्रदूषण उच्च हुने गरेको छ ।