काठमाडौं : राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, संगठित अपराध र एकीकृत कसुरको अभियोगमा मुद्दा चलाइएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा सोमबार अदालतमा हाजिर हुने भएका छन् । काठमाडौँ जिल्ला अदालतमा ११ जेठमा दायर भएको मुद्दाको थुनछेक बहसमा नआएका राणाले सोमबार अदालत जाने पुष्टि गरेका छन् ।
महामन्त्री राणाले मध्यान्हसँग कुरा गर्दै आफू सोमबार अदालतमा उपस्थित हुने जानकारी दिए । ‘हामी अदालतको निर्णयबाट भाग्न खोजेका होइनौं’, उनले भने ‘स्वास्थ्यका कारण केही ढिला हुन गएको छ । म सोमबार अदालतमा हाजिर हुन जान्छु, मिश्रजी पनि जानुहुन्छ होला,’ राणाले भने ।
राणासँगै थुनामा परेका मिश्रसँग सम्पर्क गर्न खोज्दा उनको मोबाइल बन्द छ । उनी हाजिरी जमानीमा छुटेदेखि नै सम्पर्कमा छैनन् । उक्त मुद्दामा काठमाडौँ जिल्ला अदालतले बिहीबार १५ चैत्रको आन्दोलनका कमाण्डर दुर्गा प्रसाईँसहित ७ जनालाई थुनामा पठाउने र ३० जनालाई धरौटीमा छाड्न आदेश दिइसकेको छ । तर, मिश्र र राणा भने थुनछेक बहसमै उपस्थित नभएपछि अदालतले उनीहरूविरूद्ध पक्राउ पुर्जी जारी गर्ने तयारी गरेको छ ।
उपचार गर्न हाजिरी जमानीमा छुटेका राणा र बन्दी प्रत्यक्षीकरणको आदेशमार्फत् घर गएका मिश्र सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दायर गर्दा पनि अनुपस्थित भएपछि पक्राउ पुर्जी जारी गर्ने तयारीमा रहेको जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले बताए । ‘उहाँहरू बयान दिन आउनुभएन, थुनछेक बहसमा सहभागी हुनुभएन, अब पक्राउ पुर्जी जारी गर्नुपर्ने अवस्था आएको छ’, उनले भने ।
३९ जना प्रतिवादीसँगै थुनछेक प्रक्रियामा सहभागी हुँदा लामो समय लाग्ने र सो अवधिमा हिरासतमै बस्नुपर्ने भएकाले अदालतमा हाजिरभई बाहिरै बसेर कानूनी प्रक्रिया पूरा गर्नेगरी कानुन व्यवसायीसँग छलफल गर्दैछन् । दुबै नेताहरू स्वास्थ्य समस्या देखाएर अहिलेसम्म सम्पर्कविहीन रहेको राप्रपा श्रोतले जनाएका छ ।
१५ चैतमा तीनकुनेमा राजावादी समूहले गरेको प्रदर्शन हिंसात्मक बनेपछि २ जनाको मृत्यु भएको थियो भने करोडौंको भौतिक सम्पत्तिमा क्षति भएको थियो । उक्त प्रकरणमा ४ बालकसहित ६४ जना विरूद्ध जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा दायर भएको छ ।
अदालतको थुनछेक आदेश भएपछि राजावादी अभियानमा संलग्न अधिवक्ता स्वागत नेपालले राणा र मिश्र अदालतमा अनुपस्थित भएपनि फरार भन्न नमिल्ने बताए । सरकारको नजरमा फरार देखिएपनि उनीहरूलाई पक्राउ पुर्जी जारी नगर्दासम्म फरार भन्न नमिल्ने कानुन व्यवसायीहरू बताउँछन् । अधिवक्ता स्वागत नेपालले भने ‘उहाँहरू फरार होइन । फरारको सूची अर्को छ । अनुपस्थित र फरारको हकमा चाहिँ उपस्थित हुँदाको बखत आदेश हुन्छ ।’
तर, उनीहरू आफ्ना कानुन व्यवसायीसँगकै परामर्शमा अदालतमा हालसम्म अनुपस्थित नभएको बताइएको छ । स्वास्थ्य समस्याका कारण समयमा कानुनी प्रक्रियामा आउन नसकेको बताएका नेता राणाले पुनःपक्राउ पुर्जी जारी हुनुअगावै अदालतमा उपस्थित भएर कानुनी लडाइ लड्ने बताए । राणा २२ दिनको हिरासत बसाइपछि उपचारका लागि ७ वैशाखमा र मिश्र ५० औं दिनमा २ जेठमा हाजिरी जमानीमा छुटेका थिए ।
बन्दी प्रत्यक्षीकरण रिट दायरसँगै सर्वोच्च अदालतको आदेशमा रिहा भएका मिश्र र क्यान्सरको उपचारका लागि रिहा भएका राणा अदालतमा उपस्थित नभएपनि पार्टीका विभिन्न गतिविधिमा संलग्न हुदै आएका छन् ।
२० जेठमा धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा महामन्त्री राणा उपस्थित भएका थिए । त्यसअघि १७ जेठमा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा वरिष्ठ उपाध्यक्ष मिश्र र राणा दुबै सहभागी थिए ।
उनीहरू अदालत हाजिर नहुँदा हाजिरी जमानीमा छुट्दा बुझिलिने वकिल र स्वकीय सचिवले जरिवाना तिर्नु परेको छ । मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १५ को उपदफा ४ अनुसार मुद्दा दर्ता गर्न अनुपस्थित रहे जरिवाना गर्न सकिने व्यवस्था अनुसार मिश्रका वकिल र राणाका स्वकीय सचिवबाट ५० हजार रुपैयाँका दरले जरिवाना गरिएको थियो ।