काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियराले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले दुई बुँदे सहमतिको नाममा प्रतिपक्षी दलहरुलाई धोका दिएको बताएका छन् । सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरुसँगको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले रास्वपाले भिजिट भिसा र अध्यागमनको विषयलाई लिएर आन्दोलन गरिरहेको र प्रतिपक्षको तर्फबाट माओवादीले गरेको सहमति झारो टार्ने काम भएको बताए ।
सरकारले मानव बेचबिखनको मुद्दालाई गम्भीरताका साथ नलिएको उनले बताए । सुशासनमा एउटा कदम अघि बढौं भन्दा कुनै सुनुवाइ नभएको गुनासो रास्वपाको छ ।
उनले गृहमन्त्रीको राजीनामाबाट आफूहरु पछि नहटेको बताए । सदनको काम कारबाहीमा रास्वपा जिम्मेवार रहेको उनले बताए । आफूहरुले बुझाएका पाँच बुँदामा सहमति र उच्चस्तरीय छानबिन समिति नबनाएसम्म सदन चल्न नसक्ने उनले बताए ।