काठमाडौं : विधायिकामा आफ्नो दलको नेतृत्व गर्ने सांसद संसदीय दलको नेता हो । तर, सांसद पदबाटै निलम्बनमा परेपछि संसदको नियमित बैठकमा प्रवेश नपाउने नेताहरू नै संसदीय दलको नेताको जिम्मेवारी अहिले पनि छन् । यसले राजीतिमा नैतिकता र इमान्दारिता गुमेको संकेत गरेको छ ।
भ्रष्टाचार र ठगी मुद्दा खेपिरहेका नेकपा (एकीकत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने अहिले सांसद छैनन् । भ्रष्टाचार र ठगी मुद्दामा परेपछि संसदीय प्रक्रियाअनुसार उनीहरू सांसद पदबाट निलम्बनमा परेका हुन् । सांसद पदबाट निलम्बित भएका उनीहरू अहिले पनि आ–आफ्नो पार्टीको संसदीय दलको नेतामा कायमै छन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एसका अध्यक्ष नेपालमाथि पतञ्जलिको जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २२ जेठमा विशेष अदालतमा मुद्दा दायर गरेपछि उनी संसद्बाट निलम्बनमा परेका हुन् ।
त्यस्तै पूर्वउपप्रधान तथा गृहमन्त्री लामिछाने ५ वटा सहकारी ठगी काण्डमा मुछिएपछि अहिले रुपन्देही जिल्ला कारागारमा पूर्पक्षकालागि थुनामा छन् । उनीविरुद्ध सम्पत्ति शुद्धीकरणमा समेत छानबिन भइरहेको छ । ८ पुसमै उनको सांसद पद निलम्बनमा परेको हो ।
पुराना दलका नेताहरूलाई नैतिकताको पाठ सिकाउँदै आफूलाई बैकल्पिक राजनीतिक शक्तिका रूपमा स्थापित गर्न खोजेको रास्वपामाथि यतिबेला गम्भीर नैतिकताको खडेरी देखिएको भन्दै सर्वत्र टिप्पणी भइरहेको छ । सहकारी ठगी र संगठित अपराधमा लामो समयदेखि मुद्दा झेलि रहेपनि लामिछानेले हिरासतबाटै पार्टी र संसदीय दलको नेतृत्व लिइरहँदा पार्टीभित्र खैलाबैला भएपनि उनलाई हटाउने आँट भने नेताहरूले गर्न सकेका छैनन् । लामिछानेकै कारण रास्वपाका अन्य नेताहरू नागरिकमाझ नैतिक संकटको घेरामा छन् ।
राजनीतिक दलसम्बन्धी ऐनमा २०७३ मा सम्बन्धित दलको निर्देशन बमोजिम संघीय संसद वा प्रदेशसभाको संसदीय दलका सदस्यले आफू मध्येबाट १ जना संसदीय दलका नेता निर्वाचित गर्ने व्यवस्था गरेको छ । ‘सम्बन्धित दलको विधानमा अन्यथा व्यवस्था भएकोमा बाहेक संसदीय दलका नेताले संसदीय दलका सदस्य मध्येबाट उपनेता, सचेतक वा सदस्य सचिव मनोनयन गर्ने छ’, ऐनमा उल्लेख लेखिएको छ ।
यद्यपि लामिछाने र नेपाल अहिले सांसद नभएकाले संसदीय दलको नेताहुने योग्यता उनीहरूसँग छैन् । संसदीय दलका नेता लामो समयसम्म अनुपस्थित रहने कुरा अहिलेको व्यवस्थाले परिकल्पना नै नगरेको संसद् सचिवालयका अधिकारीहरू बताउँछन् । यस कारण पनि दलहरूले संसदीय दलको नेता फेर्न हतार नगरेको उनीहरूको भनाइ छ ।
सहकारी ठगी काण्डमा परेका लामिछानेको बचाउ गर्दै सडकदेखि सदनसम्म आन्दोलित बनेका रास्वपाका सांसदहरूले अहिले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै सदन अवरोध गरिरहेका छन् ।
भिजिट भिसा प्रकरणमा अध्यागमन विभागका महानिर्देशक तीर्थराज भट्टराईलाई अख्तियारले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । गृहमन्त्रीको राजीनामालाई मुख्य एजेण्डा बनाएर सदनमा नाराबाजी गरिरहेको रास्वपाले जेलमा रहेका लामिछानेलाई सांसद पद निलम्बनमा परेको ६ महिना बितिसक्दासमेत दलको नेता र पार्टी सभापतिमा रहिरहेको प्रति नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले नैतिकताको प्रश्न उठाए । ‘रवि लामिछाने कुन नैतिकताले पार्टी सभापति र दलको नेता रहिरहेका छन् र उनको पार्टीका सांसदहरूले अन्य पार्टीलाई कुन आधारमा नैतिकताको कुरा गरिरहेका छन् ?’,घिमिरेले प्रतिनिधि सभा बैठकमै प्रश्न गरे ।
लामिछानेले सभापति र संसदीय दलको नेताबाट राजीनामा नदिइ पूर्पक्षका लागि थुनामा रहेको समयमा काम चलाउ प्रयोजनका लागि उपसभापति डिपी अर्याललाई कार्यबाहक सभापतिमा र उपनेता विराजभक्त श्रेष्ठलाई संसदीय दलको कार्यबाहक जिम्मेवारी तोकेको छ । ‘अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको ५ वटा मुद्दा खेपिरहेका र सर्वोच्च अदालतले समेत थुनामा राखि पुर्पक्ष गर्न आदेश दिएको व्यक्तिलाई आफ्नो पार्टीको सभापति पदमा विराजमान राख्न कुन नैतिकताले दियो ?,’ घिमिरेको प्रश्न छ ।
यो विषयले रास्वपालाई अप्ठ्यारो पारेको छ । रास्वपामाथि सदनमै नैतिकताको प्रश्न उठेपछि पार्टीका नेताहरू आन्तरिक छलफलमा जुटेका छन् । ‘सार्वजनिक रूपमा प्रश्न उठेपछि उठेका प्रश्नबारे कसरी जवाफ दिने भनेर हामी आन्तरिक छलफलमा छौँ’, रास्वपाका कार्यबाहक प्रवक्ता मनिष झाले भने । पार्टी सभापति र संसदीय दलको नेता परिवर्तन गर्ने विषयमा रास्वपामा छलफल प्रारम्भ भएको छ । तर, कसलाई दलको नेता बनाउने भन्ने झमेलाले पार्टीमा थप संकट आउन सक्ने नेताहरूको अनुमान छ ।
संसद्मा आफ्नो पार्टीका सांसदहरूलाई दिशानिर्देशन गर्नका लागि पनि संसदीय दलको नेताको उपस्थिति आवश्यक भएको रास्वपाका नेता समेत रहेका अधिवक्ता यज्ञमणि न्यौपानेले बताए । पार्टीले नयाँ दलको नेता बनाउनु पर्ने सुझाव दिदै उनले भने, ‘आफ्ना सांसदहरूलाई परिचालन गर्ने संसदीय दलका नेताले हो । यसरी अगाडि बढौँ भन्नलाई पनि आफ्ना नेता संसद्मा हुनुपर्यो । त्यसका लागि दलको नेता नयाँ बनाउनुपर्छ ’, उनले भने ।
उता एकीकृत समाजवादीका प्रमख सचेतक मेटमणि चौधरीले भने बेठिक र नियतवश भ्रष्टाचारको मुद्दा दायर गरिएकोले अध्यक्ष र दलको नेताबाट माधव नेपाललाई हटाउने बित्तिकै दुश्मनहरूको मनोबल बढ्ने हुँदा अहिले नै जिम्मेवारीबाट हटाउने कुरा नभएको बताए । ‘हाम्रो अध्यक्ष तथा संसदीय दलको नेता माधवकुमार नेपालमाथि बेठिक र नियतवश भ्रष्टाचारको मुद्दा दायर गरिएको हो’, उनले भने ‘त्यसैले हामी दलको नेता र पार्टी अध्यक्ष दुवैबाट हटाउँदैनौ ।’
यद्यपि सो दलका सम्मानीत नेता झलनाथ खनालले नेपालमाथि भ्रष्टाचार मुद्दा दर्ता भएकै दिन नैतिकताको प्रश्न उठिसकेपछि अध्यक्ष र संसदीय दलको नेता फेर्नुपर्ने प्रतिक्रिया दिएका थिए ।