काठमाडौं : नेपाली कांग्रेसले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ । बुधबार बिहान साढे ८ बजे बस्ने बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यलाई बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।
बैठकमा नेकपा एमालेसँग सत्ता सहकार्यको समीक्षा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को संसद अवरोध, पार्टीको १५औं महाधिवेशनको तयारीलगायतका विषयमा छलफल हुने जनाइएको छ ।
साथै बैठकले पूर्वमन्त्री एवं कांग्रेसका नेता ढुण्डिराज शास्त्रीको निधनमा शोक प्रस्तावको निर्णय गर्नेछ । ९० वर्षीय शास्त्रीको उपचारका क्रममा सोमबार बिहान काठमाडौंको केएमसी अस्पतालमा निधन भएको थियो ।
बैठकमा भ्रातृ संगठनको अधिवेशनलगायतका विषयमा पनि छलफल हुने बताइएको छ । यसअघि असार १५ गते आइतबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको थियो ।