दोलखा : पूर्वउपराष्ट्रपति तथा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष नन्दकिशोर पुन ‘पासाङ’ले प्रधानमन्त्री केपी शर्मा ओली संसद विघटनतर्फ उन्मुख भएको आरोप लगाएका छन् ।
मंगलबार चरिकोटमा आयोजित स्वागत कार्यक्रममा बोल्दै पुनले माओवादी केन्द्रलाई सभामुख अग्नि सापकोटाको मुद्दा उठाएर दबाब दिने प्रयास भइरहेको उल्लेख गरे । साथै, उनले सरकार पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग बदला लिने शैलीमा अगाडि बढिरहेको दाबी पनि गरे ।
पूर्व उपराष्ट्रपति पुनको चरिकोट आगमनमा नेकपा (एकीकृत समाजवादी) दोलखा जिल्ला पार्टी कार्यालयले विशेष स्वागत कार्यक्रमको आयोजना गरेको थियो । पार्टीका केन्द्रीय सदस्य तथा दोलखा सह–इन्चार्ज गोपाल न्यौपानेले खादा ओढाएर पुनलाई स्वागत गरेका थिए । कार्यक्रममा वाग्मती प्रदेशका पूर्वमन्त्री विशाल खड्का, माओवादी केन्द्रका नेता शंकर लामा, वरिष्ठ पत्रकार बलराम थापा, वैतेश्वर गाउँपालिका–५ का वडाध्यक्ष भुवन घिमिरेलगायत नेताहरूको उपस्थिति थियो ।
कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) दोलखाका कार्यवाहक अध्यक्ष अशोक कुमार दहाल, माधवलाल कायस्थ, रामहरि शिवाकोटी, यादवप्रसाद दहाल, शम्भु तामाङलगायत नेताहरूले पनि पुनलाई स्वागत गरेका थिए ।
स्वागत कार्यक्रममा बोल्दै सहइन्चार्ज गोपाल न्यौपानेले पनि सरकार व्यवस्थाविरोधी गतिविधिमा लागेको आरोप लगाए । उनले प्रधानमन्त्री ओली नेतृत्वको सरकार दलाल र प्रतिगामी शक्तिहरूलाई खुसी पार्नका लागि नेता माधव नेपाललाई अनुसन्धानको नाममा फसाउने प्रयास गरिरहेको बताए । उपराष्ट्रपति पुनको आगमनले दोलखामा वामपन्थी राजनीतिमा नयाँ उत्साह थपेको देखिएको छ ।