काठमाडौं : संसदको दोस्रो ठूलो दल नेकपा (एमाले) को विधानमा व्यवस्था भएको ७० वर्षे उमेर हद र एउटै पदमा लगातार दुई पटक भन्दा बढी बस्न नपाउने प्रावधान खारेज गर्ने संकेत अध्यक्ष केपी शर्मा ओली आफैले दिइरहेका छन् ।
२०७१ असारमा भएको नवौँ महाधिवेशनबाट पारित उमेरहदको प्रावधानलाई २०८० जेठमा बसेको केन्द्रीय समितिको बैठकले तत्कालका लागि निलम्बन गरेको छ ।
एकीकृत समाजवादीबाट एमालेमा फर्केका मुकुन्द न्यौपाने लगायत नेता व्यवस्थापन गर्न तत्काललाई उमेर हदको प्रावधान निलम्बन गरिएको गरिएको थियो । २०६५ सालमा बुटवलमा सम्पन्न एमालेको आठौँ महाधिवेशनले एउटै कार्यकारी पदमा दुईपटक भन्दा बढी निर्वाचित हुन नपाउने व्यवस्था गरेको थियो ।
उक्त व्यवस्थालाई पनि प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली हटाउन चाहन्छन् । ओलीले नेतृत्वमा ७० वर्षे उमेर हद असफल भइसकेको बताएका छन् । योसँगै एमालेमा उमेरहदको थप पेचिलो बन्दै गएको हो । २५ जेठमा ओलीले एक सार्वजनीक कार्यक्रममा भनेका थिए ‘७० वर्ष उमेर हद फेल खाइसक्यो । अहिले म ७४ मा चल्दैछु । ७० मा रिटायर्ड हुन चार वर्ष घटाउन भएन । त्यसकारण, उमेरले होइन । स्वास्थ्यले साथ दिन्छ, दिँदैन । कार्यक्षमता हुन्छ या हुँदैन यी कुराहरु मुख्य हो ।’
चीन र साइप्रसको कम्युनिष्ट पार्टीमा नेतृत्वको निरन्तरताका लागी उमेर हद हटाइएको समेत उनले चर्चा गरेका थिए । ‘चीनमा महासचिव दुईपल्ट, राष्ट्रपति हुइपल्ट हुन पाउने नियम बनाएको थियो । सिचिनपिङको नेतृत्वको निरन्तरताको आवश्यकता देखेपछि चिनियाँ कम्युनिष्ट पार्टीले ६५ वर्षे उमेरहद हटायो । साइप्रसको कम्युनिष्ट पार्टी, अरु विभिन्न पार्टीले उमेर हद तोकेका थिए, छोडे । जडसुत्रको रुपमा कुनै कुरा समाउने होइन ।’
उनी अझै सक्रिय राजनीति गर्ने र नेतृत्वमा रहीरहने सोचमा छन् । तेस्रोपटक अध्यक्ष बन्ने आकांक्षा पालेका ओलीले आगामी २०–२२ भदौमा हुने विधान महाधिवेशनबाट उक्त व्यवस्थालाई हटाउने वा संशोधन गर्ने गृहकार्यमा छन । तर यो विषयमा पार्टीभित्र मतभेद देखिएको छ ।
पार्टीका बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले विधानमा भएको उमेर हद र कार्यकालसम्बन्धी व्यवस्था हटाउन नहुने पक्षमा छन् । ‘एमालेबाटै विभाजित भएर समाजवादीमा गएकाहरू फर्कन उमेर हदको सीमाले केही व्यवहारिक अप्ठ्यारो भएको हो’ पोखरेलले भने ‘महाधिवेशनमा पारित गरिएको विषयलाई बोक्नु हामी सबैको कर्तव्य हो । विधान महाधिवेशनमा यो विषयमा गम्भीर छलफल हुन्छ ।’
यद्यपि एमालेको विधानले बाधा अड्काउ फुकाउको निर्णय गर्ने अधिकार केन्द्रीय कमिटीलाई दिएको हुँदा त्यहा ओलीको बहुमत छ । तर, बैठकले यस्तो निर्णय गरे विधान महाधिवेशन वा राष्ट्रिय महाधिवशेनबाट अनुमोदन गर्नुपर्ने व्यवस्था रहेको नेताहरूले बताएका छन् ।
उमेर हदको विषय व्यक्ति भन्दा पनि पार्टी र कम्युनिष्ट आन्दोलन केन्द्रित भएर निर्णयमा पुुग्नुुपर्ने नेकपा एमालेका पोलिटव्युुरो सदस्य कर्ण थापाले बताए । उमेर हद र दुई कार्यकाल सम्बन्धी दुवै प्रस्ताव अध्यक्ष ओलीकै भएको थापाको भनाई छ ।
‘नेतृत्वमा नयाँको सहज आगमन र पूूरानाबाट सहज हस्तान्तरणको लागी यो व्यवस्था राखिएको हो’, थापाले मध्यान्हसँग भने ‘व्यक्ति भन्दा पनि संस्था र कम्युनिष्ट आन्दोलनलाई व्यवस्थित गर्ने विषय हो ।’ ओलीकै व्यवस्थापनका लागी दसौँ राष्ट्रिय महाधिवेशनको २ महिना अघि भएको विधान महाधिवेशनले ७० वर्ष पुग्नुअघि निर्वाचित कार्यकारीको हकमा त्यस्तो व्यवस्था लागू नहुने निर्णय गरेको थापाले बताए ।
उनले भने ‘अध्यक्ष ओलीको जन्मदिन ११ फागुनमा हो, तर नेतृत्वमा उहाँकै व्यवस्थापनका लागी १०–१३ मंसिर २०७८ मा दशौं महाधिवेशन गरिएको हो । दसौँ राष्ट्रिय महाधिवेशनमा ओली उठ्न नमिल्ने भएपछि उहाँकै व्यवस्थापन र कम्युनिष्ट आन्दोलन बचाउनका लागी महाधिवेशन हुनु दुई महिनापूर्व २०७८ असोजमा ललितपुरको गोदावरीमा भएको विधान महाधिवेशनले यस्तो व्यवस्था गरेको हो ।’
तर विधानमा यो व्यवस्था हटाउन पुराना नेताहरू लागीरहेको अवस्थामा पार्टीको विधन महाधिवेशन आगामी भदौमा हुँदैछ । सोही विधन महाधिवेशनमा यसको निर्णय हुने गरी अहिले जिल्ला तथा प्रदेशबाट सुझाव संकलन भइरहेको थापाले बताए । ‘विधानको सन्दर्भमा संशोधन गर्नुपर्ने कुराहरू, थप गर्नुपर्ने कुरासहितका सुझाव के छन ? विधानमा भएका प्रावधान के मिलाउनुपर्छ ? भन्ने विषयमा प्रदेश र जिल्लालाई सर्कुलर पठाएर राय सुझाव मागिएको छ’,थापाले भने ।
एमालेभित्र पछिल्लो पटक पूर्वराष्ट्रिपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिलाई लिएर पनि यो विषय बढी चर्चामा आएको बताइएको छ । ६४ वर्षकी भण्डारी ७० वर्षे उमेर हद र कार्यकाल सम्बन्धी प्रावधान कायम राख्नुपर्ने पक्षमा नेताहरू सुुझाउँदै आएकी एमालेका एक नेताले बताए । उनले भने ‘पूर्वराष्ट्रिपति भण्डारी पनि आगामी पार्टी नेतृत्वका लागी उपर्युुक्त पात्र हुन सक्ने भएकाले उहाँले नेताहरूलाई विधानमा भएको व्यवस्था कायमै राख्न सुुझाव दिदै आउनुुभएको छ ।’
प्रदेश र जिल्ला दौडाहामा लागेकी उनले विधानमा भएको उमेर हदको सन्दर्भमा एमालेका नेताहरूसँगको भेटवार्ता र छलफल चलाएदै आएको उनको दाबी छ । ७० वर्षे उमेर हद कायमै रहेको अवस्थामा एमालेका १८ पदाधिकारीमध्ये अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, उपाध्यक्ष युवराज ज्ञवाली र उपाध्यक्ष रामबहादुर थापा उम्मेदवार बन्न पाउँदैनन् ।