–उमेश कुमार भट्टराई
यदि हामीले कुनै पनि सफल व्यक्तिको जीवनीलाई खोतल्ने प्रयास गर्यौँ भने तिनिहरु सबैमा एउटा कुरा साझा देखिन्छ, ती हरेक व्यक्तिहरुले सफल हुनुभन्दा अघि कुनै न कुनै गलत समयको अथवा प्रतिकुल समयको सामना गरेका हुन्छन् । सफलताको बाटोमा गलत समय एउटा तिखो ढुङ्गाको रुपमा हरेकको जीवनमा आउने गर्दछ । कुनै पनि सामान्य व्यक्ति जीवनमा गलत समयको सामना गर्न चाहाँदैनन् । कसैले पनि चाहाँदैनन् कि उस्को पारिवारिक जीवन गलत समयबाट गुज्रीयोस्, आर्थिक समस्याको सामना गर्न परोस् । कोहि पनि चाहाँदैनन् कि उसको पेशागत जीवनमा समस्या आओस् । प्रेम सम्बन्धमा समस्या आओस् । पारिवारिक सम्बन्धहरुमा समस्या आओस् । हरेक व्यक्ति गलत समयबाट बच्न चाहन्छन् । जुनसुकै धर्मलाई पच्छ्याउने व्यक्ति किन नहोस् । उ आफ्नो भगवानसँग आफ्नो प्रार्थनामा एकै चिजको कामना गर्दछ कि मेरो जीवनमा कुनै समस्या आइनपरोस् । मानिसहरु आफ्नो गलत समयसँग यतिसम्म डराउँछन् कि समय सहि चलिरहेको अवस्थामा पनि भोलि फेरि समस्या आउने हो कि गलत समय फेरि फर्किएर आउने हो कि भनेर चिन्तित हुने गर्दछन् । सहि समयमा पनि गलत समयको सम्भाव्यतालाई सम्झेर चिन्तित हुने गर्छन ।
जिन्दगीमा उतार चडावको सामना नगरेको व्यक्ति भेट्न गार्हो मात्र होइन असम्भव हुन्छ । उतार चडावको आकार फरक हुन सक्छ तर, बिना समस्या कसैको जीवन गुज्रिएको हुँदैन । जब समय गलत चल्छ, सम्बन्धहरु टुट्न सक्छ, व्यापार/व्यवसाय ध्वस्त हुन सक्छ, मानसिक तनाव हुन सक्छ । गलत समयमा यस्तोसम्म सोंचले डेरा जमाउँछ कि कमजोर मनसिकता भएका व्यक्ति जीवन समाप्त गर्ने निष्कर्षसम्म पुग्ने गर्छन् । सबैमा प्रतिकुल समयसँग लड्न सक्ने क्षमता र सहि समय पर्खने धैर्यतासम्म हँुदैन । गलत समयको आयु छोटो हुने गर्छ र त्यही समय चुनौती होइन अवसरको उदगम बिन्दु हो भनेर सकारात्मक विचारद्वारा प्रतिकुल समयमाथि विजय प्राप्त गर्न सके जीवन फेरि सफल र सहि दिशा तिर अघि बढ्न सक्छ । त्यसैले हरेक व्यक्तिको जीवनमा गलत समय र समस्या आउन जरुरी हुन्छ । गलत समय सहि समयको आधारशिला हो । गलत समय गुरु हो जसबाट धेरै कुराको शिक्षा प्राप्त हुने गर्छ । सम्बन्धहरुको पहिचान हुन्छ । गलत समयलाई कसरी परास्त गर्न सकिन्छ भन्ने कुरामा आत्मविश्वासको बृद्धि हुन्छ । सहि समय हुँदा तपाईं फुल र तपाईँका आफन्त शुभचिन्तकहरु मौरिको भूमिकामा रहन्छन् भने गलत समयमा तपाईँ कुनै सरुवा रोगबाट पीडित बिरामीको भूमिकामा रहनु हुन्छ ।
गलत समयका केही फाइदाहरु छन् । जस्तै पहिलो फाइदा यदि तपाईँको समय सहि चलिरहेको छ भने टाढाको सम्बन्धहरु पनि नजिक हुने गर्दछन् । यदि समय गलत चलिरहेको छ भने नजिकका सम्बन्धहरु पनि टाढिने क्रम जारी हुन्छ, केही सम्बन्धको अपवादलाई छोडेर । तपाईँको नियत कति सफा छ, तपाईं कति इमान्दारिपुर्वक आफ्नो कर्म गरिरहनु भएको छ त्यसले कुनै अर्थ राख्दैन । कसैलाई तपाईँको सफा नियत र इमान्दारीताप्रति कुनै चाँसो पनि हुँदैन् । उनिहरु तपाईँको केवल गलत समयलाई सर्वोपरी ठानेर व्यवहार गर्दछन् । गलत समयमा तपार्इँले गर्नुभएको हरेक कुराहरुलाई झुटको तराजुमा राखेर तौलिने गर्छन् । कोहि विश्वास गर्ने पक्षमा हँुदैनन् । गलत समय कहिले हामीलाई सम्बन्धहरु चिनाउन आउने गर्छ त कहिले गुरुको रुपमा धेरै कुराको पाठ सिकाउन पनि आउने गर्छ । भनिन्छ यदि हामिले मान्छेलाई सहि तरिकाले चिन्न र बुझ्न सकेनौ भने जीवनको हरेक मोडमा धोका र विश्वास घातको सामना गर्नुपर्दछ । त्यसैले व्यक्तिलाई चिन्न र बुझ्न पनि गलत समय जीवनमा आउनु जरुरी छ । त्यसैले गलत समयलाई गुरु बनाउ र सहि समयमा घमण्ड नगरौँ ।
गलत समयको दोस्रो फाइदा अनुभव प्राप्त गर्ने सहि समय पनि हो । अनुभव मानिसको सबैभन्दा ठूलो सम्पत्ती हो । अनुभव केवल उमेर धेरै हुँदैमा प्राप्त हुँदैन । तपाईँले बिताएको त्यो उमेरमा कति गलत समयबाट गुज्रीनु भयो त्यही समयबाट अनुभव प्राप्त हुने गर्छ । सफलता र सहि समयले हामीलाई त्यति अनुभव दिँदैन जति गलत समयले दिने गर्दछ । यसको तात्पर्य तपाईं जति प्रतिकुल समय र गलत समयको सामना गर्नु हुन्छ त्यति खारिनुहुन्छ र त्यति नै अनुभवी बन्नु हुनेछ । यदि कसैलाई कुनै व्यवसाय पेशाबाट भारी नोक्सान हुन्छ भने उसले त्यो नोक्सानबाट पाठ सिक्नुपर्छ । जसले अगाडि अरु व्यवसाय गर्दा सजक भएर गर्न सक्दछ । तपाईँको गलत समय चलिरहेको बेला यदि कसैले धोका या विश्वासघात गर्दछ भने फेरि जीवनमा यस्तो गल्ती कहिल्यै दोहोर्याउने छैन भनेर शिक्षा लिनुपर्दछ । हाम्रो जिन्दगीमा जुन पनि घटना घट्दछ ती हरेक घटनाबाट जति सक्दो धेरै अनुभव बटुल्ने प्रयास गर्नुपर्दछ । समस्याले चुनौती मात्र होइन अवसर र निकासको बाटो पनि सँगै लिएर आउने गर्दछ ।
गलत समयले अवसरको ढोका खोली दिन्छ । उदाहरणको लागि एप्पल कम्पनीका प्रमुख स्टिभ जब्सको जीवनीलाई लिन सकिन्छ । एउटा समान्य ग्यारेजबाट सुरु गरेको कम्पनी एप्पललाई दश वर्षमा विश्वको प्रतिष्ठित कम्पनीको रुपमा स्थापित गर्न सफल स्टिब जब्सलाई सोहि कम्पनीबाट निकालियो । सहजै अनुमान लगाउन सकिन्छ, आफ्नो दस बर्षको मेहनत र लगनको फलको रुपमा कम्पनीबाट बाहिरिनु पर्दा स्टिभ जब्सले कति ठूलो पीडाको सामना गर्नुपर्यो होला । तर, उनले पीडालाई शक्तिमा बदले र कम्पनीले उनीप्रति गरेको व्यवहारलाई नवीन अवसरको ढोकाको रुपमा लिए । आफैँले जन्माएको कम्पनीबाट निकालिँदाको पीडाले केहि समय त स्टिभ जब्सलाई विक्षिप्त बनायो । त्यतिखेर उनको उमेर तीस वर्षको थियो । अब के गर्ने सोंच्न सकिरहेका थिएनन् ।
तर जसको अनुराग नै सृजनशिलता थियो उसलाई कुनै एक घटनाले रोक्ने त कुरै आउँदैन् थियो । स्टिभ जब्सको लागि एप्पल एउटा कम्पनी मात्र थिएन ‘प्यासन’ पनि थियो । एप्पलबाट उनलाई निकालिएको थियो तर, उनको अनुरागलाई निकाल्ने हिम्मत कसैको थिएन । फेरि उनले तीस वर्षको उमेरमा क्रान्तिकारी रुपमा ‘पिक्सर’ र ‘नेक्स्ट’ जस्तो महान कम्पनीको स्थापना गरे । पिक्सर आज दुनियाको सबैभन्दा ठूलो एनिमेशन स्टुडियोको रुपमा चिनिन्छ । जसअन्तर्गत टोय स्टोरि जस्तो एनिमेटेड फिचर फिल्म बनेको थियो । जो आफैँमा एउटा महान सृजना थियो । स्टिव जब्सको यहि सृजनशिलता को कारण एप्पल कम्पनीको व्यवस्थापनले उनलाई पुनः कम्पनीको प्रमुखको रुपमा न्युक्त गर्न बाध्य भयो । यदि स्टिव जब्सलाई एप्पलबाट ननिकालिएको भए नेक्स्ट र पिक्सरको स्थापना हुने थिएन । स्टिभ जब्सले एक अन्तरवार्तामा भनेका थिए, ‘यदि मलाई एप्पलबाट ननिकालिएको भए न दुई ठुला कम्पनी जन्मने थिए न म मान्छेलाई चिन्ने थिए न व्यवसायीक गुण सिक्ने थिए’ ।
यस्तै गलत समयको तेस्रो फाइदा नयाँ सम्बन्धहरु बन्दछन् र नयाँ मौकाको ढोकाहरु खुल्नेछन । गलत समयमा पुरानो सम्बन्धहरु छुट्ने छन् भने नयाँ र उपयुक्त सम्बन्धहरु जोडिनेछन् । त्यस्तै पुरानो बाटोहरु बन्द हुन्छन्, नयाँ ढोकाहरु आफै खुल्न सुरु हुन्छन् । धेरैले गलत समयमा केवल गलत सोंचमा अल्मलिएर नया सम्बन्ध र नयाँ बाटोको दिशामा ध्यान पुर्याउन सक्दैन् । जसले गर्दा समय अझै पीडादायी हुने गर्छ । जसरी गलत समय आउँछ चुनौतीहरु आउँछन् त्यसैगरी सहि समय र समाधानका उपायहरु पनि सँगै आउने गर्छन् । गलत समयमा आत्तिनु र सहि समयमा कदापी मात्तिनु हुँदैन । पुनः एकपल्ट छोटकरीमा भन्नू पर्दा गलत समय सहि समयको आधारशिला हो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies