काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभाको बैठकमा अवरोध कायमै राखेका छन् । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा उनीहरुले विरोध जनाएका हुन् ।
सभामुख देवराज घिमिरेले कार्यसूचीलाई अगाडि बढाउन खोजेपछि रास्वपा र राप्रपाका सांसदहरुले उठेर विरोध जनाए । साथै, रास्वपाका सांसदहरुले आजको बैठकमा पनि निलो रिबन बाँधेर सांकेतिक विरोध जनाएका छन् ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक मुछिएको आरोप लगाउँदै रास्वपा र राप्रपाका सांसदहरुले गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएका छन् ।
आजको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तरको कार्यसूची पनि रहेको थियो । तर रास्वपा र राप्रपाको अवरोधका कारण सभामुख घिमिरेले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाइएको जानकारी गराए ।