काठमाडौँ । माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा दायर भएको मुद्दाको सुनुवाइ सकिएको छ । काभ्रेका अर्जुन लामाको हत्या आरोपमा सापकोटाविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएको थियो ।
प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाश कुमार ढुङ्गाना र कुमार रेग्मीको पूर्ण इजलासमा बुधबार सुनुवाइ सकिएको हो ।
सर्वोच्च अदालतका अनुसार आज मुद्दाको अन्तिम सुनुवाइ सकिएको र फैसला भने आउन बाँकी छ । सर्वोच्चले आजै संक्षिप्त आदेश वा निर्णय सुनाउने दिन तोक्न सक्ने छ ।
१२ वर्षअघि अर्जुन लामाकी श्रीमती पूर्णिमाया लामाले आफ्नो श्रीमानको हत्यामा संलग्न रहेको भन्दै सापकोटा, सूर्यमान दोङसहितका माओवादी कार्यकर्ताहरु माथि रिट दायर गरेकी थिइन्।