काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आइतबार ५ बजेपछि प्रधानमन्त्रीमा नियुक्ति गर्ने तयारी राष्ट्रपति कार्यालयले गरेको छ । प्रधानमन्त्रीमा नियुक्त भएपछि ओलीको सोमबार बिहान ११ बजे शपथ समारोह राख्ने तयारी भइरहेको छ ।
ओलीको नेतृत्वमा बन्ने सरकारलाई भोलि नै पूर्णता दिने तयारी पनि भइरहेको छ । ओलीले आफूले शपथ लिँदा मन्त्रिपरिषदलाई पूर्णता दिन चाहेका छन् । सकेसम्म भोलि नै मन्त्रिपरिषदलाई पूर्णता दिइनेगरी छलफल भइरहेको बताइएको छ ।
ओलीले एकैपटक सबै मन्त्री नियुक्त गर्न चाहेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले त्यसैअनुसार छलफल गरिरहेका छन् । आइतबार रातिसम्म सम्भव नभए पनि भोलि बिहानसम्म मन्त्रीहरु टुंगो लगाउने गरी देउवा लागिपरेका छन् ।
पार्टीभित्र आकांक्षी सांसदहरुको संख्या धेरै रहेकाले पनि भोलि एकैपटक मन्त्रिपरिषद पूर्णता दिन लागिएको एमालेका एक नेता बताउँछन् । सरकार सहभागी हुन चाहेका सबै दलले आन्तरिक रुपमा तयारी गरिसकेका छन् ।