२०८२ चैत ३ गते मङ्गलवार / Mar 17 , 2026 , Tuesday
२०८२ चैत ३ गते मङ्गलवार
Ads

विधिको शासन स्थापित गर्न लागिपर्नेछु : गृहमन्त्री लेखक

shivam cement
२०८१ असार ३१ गते १७:२५
Shares
विधिको शासन स्थापित गर्न लागिपर्नेछु : गृहमन्त्री लेखक

काठमाडौँ : नवनियुक्त गृहमन्त्री रमेश लेखकले विधिको शासन, शान्तिसुरक्षा र अपराध नियन्त्रणमा दत्तचित्त भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृहमन्त्रीको शपथ ग्रहणपश्चात् आज मन्त्रालयमा पदबहालीका क्रममा उहाँले विधिको शासन स्थापित गर्न सुरक्षा निकाय र गृह प्रशासनबाट पर्याप्त सहयोग प्राप्त गर्ने विश्वास व्यक्त गरे।
 
“सबै मिलेर काम गरौँ, मेरातर्फबाट गृह मन्त्रालयले सम्पादन गर्नुपर्ने कार्य इमान्दार भई निष्ठापूर्वक गर्नेछु”, मन्त्री लेखकले भने । उनले आफू गृहमन्त्रीका रुपमा रहँदासम्म इमान्दारपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरे । मन्त्री लेखकले गृह मन्त्रालयबाट भइरहेका कामकारबाहीको सूक्ष्म अवलोकन गरेर सुझाव दिन सञ्चारजगत्सँग आग्रह गरे ।
 
मन्त्री लेखकले प्राकृतिक प्रकोपका कारणबाट भएको जनधनको क्षतिलाई उचित ढङ्गले सम्बोधन गर्नेगरी काम गर्नुपर्ने अहिलेको मुख्य प्राथमिकता भएको बताए । “प्राकृतिक विपद्बाट मुलुकका धरै स्थानमा जनधनको क्षति भई विषम् परिस्थिति उत्पन्न भएको छ, यसलाई सम्बोधन गर्नु सरकारको पहिलो दायित्व हो ।”
 
गणतन्त्र र समावेशिताको सुदृढीकरण सरकारको उच्च प्राथमिकता
 
गृहमन्त्री लेखकले देशमा राजनीतिक स्थिरता कायम गरी सुशासन कायम गर्ने उद्देश्यका साथ वर्तमान सरकार गठन भएको स्पष्ट पारे । मुलुकको अर्थतन्त्रलाई क्रियाशील बनाउने तथा संविधानलाई थप सुदृढ बनाउन सरकार क्रियाशील हुने उनको भनाइ छ ।
 
“संविधानको समीक्षा र मूल्याङ्कन गर्ने, संविधानको मूल तत्वका रुपमा रहेका गणतन्त्र र समावेशितालाई सुदृढ र बलियो बनाउन सरकार लागिपर्नेछ”, मन्त्री लेखकले भने, “यस व्यवस्थालाई सुदृढ गर्दै मुलुकमा सुशासन कायम गरी आमजनतालाई राहत उपलब्ध गराउने कायलाई सरकारले प्राथमिकता दिनेछ ।”
 
 मन्त्री लेखकलाई गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याललगायत गृह मन्त्रालयका उच्चअधिकारीले स्वागत गरेका थिए ।

ताजा खबर

सम्बन्धित खबर