२०८१ भदौ २३ गते आइतवार / Sep 08 , 2024 , Sunday
२०८१ भदौ २३ गते आइतवार

आरजु राणा देउवा : मनोविज्ञानमा विद्यावारिधि, महिला अधिकार र स्वास्थ्यका क्षेत्रमा सक्रिय 

ADV
मध्यान्ह
२०८१ असार ३१ गते १८:१८
आरजु राणा देउवा : मनोविज्ञानमा विद्यावारिधि, महिला अधिकार र स्वास्थ्यका क्षेत्रमा सक्रिय 

काठमाडौँ : नवनियुक्त परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा नेपाली कांग्रेसकी नेत्री हुन् । उनी नेपाली कांग्रेसको काठमाडौँमा सम्पन्न १४ औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन् ।

डा राणा कांग्रेस पार्टीका तर्फबाट हाल प्रतिनिधि सभाको सदस्य हुन् । संविधानसभा सदस्यसमेत रहेकी नेत्री डा राणाले प्रतिनिधि सभामा तेस्रो पटक प्रतिनिधित्व गर्दैै छिन् । हाल उनी सङ्घीय संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापति हुन् ।

पहिलोपटक मन्त्री बनेकी डा. राणा महिला अधिकार र स्वास्थ्यका क्षेत्रमा काम गर्ने एक सक्रिय अधिकारवादी हुन्छ । विशेषगरी महिलाको प्रजनन स्वास्थ्य अधिकार, समान नागरिकताको अधिकार, सम्पत्तिको अधिकार, राज्यका हरेक निकाय तथा राजनीतिमा महिलाको समान एवं समतामूलक प्रतिनिधित्व तथा महिला हिंसाविरुद्धको अभियानलगायत मुद्दामा उनले वकालत गर्दै आएकी छिन् । दक्षिण तथा पूर्वी एसियाका लागि आइयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा दुई कार्यकाल काम गरेको अनुभव डा राणासँग छ ।

म्यानेजमेन्ट एसोसिएसन अफ नेपाल (म्यान) को पहिलो महिला अध्यक्षका रुपमा निर्वाचित डा राणा गरिबी निवारण कोषको बोर्ड सदस्यसमेत थिइन् । उनले सुरक्षित मातृत्वसम्बन्धी ‘एलाइन्स’ ह्वाइट रिबन एलाइन्सको अध्यक्ष तथा बोर्ड सदस्यका रुपमा सन् २०१० देखि २०१४ सम्म दुई कार्यकाल पूरा गरेकी छिन् ।

पिता विनोद शमशेर जवरा र माता प्रतिभा राणाको कोखबाट विसं २०१८ माघ १३ गते काठमाडौँमा जन्मिएकी डा. राणाले भारतको चन्डीगढस्थित पञ्जाव विश्वविद्यालयबाट सन् १९९० मा संस्थागत मनोविज्ञान विषयमा विद्यावारिधि हासिल गरेकी छिन् । उनले स्नातकोत्तरको अध्ययन पनि सोही विश्वविद्यालयबाट सन् १९८४ मा मनोविज्ञान विषयमा नै सम्पन्न गरेकी हुन् ।

उनले सन् १९९६ मा सेफ मदरहुड नेटवर्क (सुरक्षित मातृत्व) संस्थाको स्थापना गरी महिलाको प्रजनन तथा समग्र स्वास्थ्य तथा यसका माध्यमबाट महिला अधिकारका विषयमा काम गर्दै आएकी छिन् । देशव्यापी कार्यसंयन्त्र रहेको सो संस्थासँग नेपालको ७२ जिल्लाका कम्तीमा पनि सात सय ५० गैरसरकारी संस्था आबद्ध छन् । हाल ५२ जिल्लामा शाखा रहेका सो संस्थामा देशभर करिब ५० हजार नागरिक सदस्य छन् ।

त्यसैगरी, उनी संस्थापक रही सन् १९९२ मा स्थापना गरेको ‘साथी’ नामको अर्को गैरसरकारी संस्थामा आबद्ध भई महिला हिंसा विरोधी अभियानमा सक्रिय छिन्। महिलामाथि हुने विभेद तथा विविध प्रकारका हिंसाका विरुद्धमा काम गरी उनीहरुलाई आफ्ना हक अधिकारप्रति जागरुक गराई महिलालाई सशक्तीकरण गर्ने साथी संस्थाको उद्देश्य रहेको छ । यो संस्थाले नेपालको दूरदराजसहित सुगम क्षेत्रका महिलाविरुद्ध हुने हिंसाको अध्ययन गरी निराकरणका लागि राज्यसम्बद्ध निकायसँगको सहकार्यमा कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

यस कार्यमा उनी आफैँ सक्रिय रही देशका विभिन्न जिल्ला तथा क्षेत्रमा पुगेर महिलाविरुद्धको हिंसा र महिलाको प्रजनन अधिकारबारे अध्ययन गरी महिला अधिकार र महिला सशक्तीकरणका क्षेत्रमा समर्पित भएकी छिन् ।

उनी गुणस्तरीय शिक्षाका पक्षमा वकालत गर्ने सक्रिय राजनीतिकर्मी हुन् । विभिन्न कलेजको संस्थापक तथा अध्यक्ष रही नेपालमा गुणस्तरीय शिक्षा प्रदान गर्ने काममा पनि उनको सक्रिय सहभागिता छ । उनका कैयौँ अनुसन्धानमूलक प्राज्ञिक लेख र पुस्तक प्रकाशित छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise