काठमाडौं : १५ वर्ष नेकपा एमालेको नेतृत्व गर्दै प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसकेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल यतिबेला तनावमा छन् । नेकपा एमालेसँगको विद्रोहपछि नयाँ पार्टी स्थापनासँगै विभिन्न उल्झनले घेर्दै आएका नेपालको पछिल्लो पटक पार्टीकै सम्मानित नेता झलनाथ खनालसँग वार–पारको स्थिति बनेको छ । यो घटनाले नेपालमाथि तनाव थपिएको हो ।
२०७८ भदौ २ गते नेपालको नेतृत्वमा एमालेबाट चोइटिएर बनेको नेकपा एसभित्र त्रासको वातावरण बनि नै रह्यो । कहिले पार्टीका जिम्मेवार नेताको पलायन, कहिले आफ्ना नजिकका नेताहरूबाट पार्टी नै फुटाउने धम्की, कहिले मुद्दा मामिलाको अदालती झमेला त कहिले भरोसा गरेकाहरूप्रतिकै अविश्वासले अध्यक्ष नेपाल तनावबाट मुक्त हुन सकेका छैनन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको कटुतासँगै पार्टी विभाजन गरेर नेकपा एस गठन गरेका नेपाललाई नेता खनालले विद्रोहको औचित्य पुष्टि गर्न नसकेको टिप्पणी गरेका छन् । योसँगै अध्यक्ष नेपाल भयभित मात्रै बनेनन्, नेता खनालको राजीनामा नै मागेका थिए । जवाफमा खनालले नेपालप्रति लक्षित गर्दै पार्टी चलाउन नसक्नेले पार्टी छाडेर जान सुझाव दिएका छन् ।
खनालले शनिबार पत्रकार सम्मेलन गरेर माधव नेपालप्रति थप आक्रोश पोखे । यस अघि खनालले एक टेलिभिज अन्तर्वार्तामा एमाले विभाजन गलत भएको सन्देश दिनेगरी अभिव्यक्ति दिएपछि पार्टी अध्यक्ष नेपालले खनाललाई पार्टीबाट राजीनामा दिएर जान निर्देशन गरेका थिए । नेपाल र खनाल दुवै जनाको यस्तो अभिव्यक्तिले नेकपा एस विभाजनको डिलमा पुगेको छ ।
नेपाल नेतृत्वको नेकपा एसमा विचारको बहस नभएकाले पार्टीलाई वैचारिक सैद्धान्तिक विचलन आएको खनालले भने, ‘पार्टीमा बहस छलफल आवश्यक छ, तर त्यो हुन सकेन अनि कसरी पार्टीको विकास हुन सक्छ ?’ एमालेसँगको विद्रोह गलत हो भन्ने आफ्नो धारणा नरहेपनि विद्रोहको औचित्य पुष्टि हुनेगरी पार्टीलाई सैद्धान्तिक, वैचारिक ढंगले विकास गराउनुपर्ने बताए । ‘विद्रोह गरेको गलत हो भन्ने मेरो धारणा होइन’, उनले भने, ‘तर हामीले राजनीतिक वैचारिक र शैद्धान्तिक धरातलबाट औचित्य सावित गर्ने गरी आन्दोलनलाई रूपान्तरण गर्नुपर्छ । औचित्य पुष्टि गर्न सकेनौ भने हाम्रो विद्रोह गलत सावित हुन सक्छ भन्ने हो ।’
नेता खनालले माधव नेपालमा जस्तोसुकै सरकारमा जहिले पनि सहभागी हुने, वर्गीय हित विपरीतका सरकारमा सहभागी भएर आत्मसमर्पण गर्ने, चुनावमा पनि कांग्रेस लगायतसँग साँठगाँठ गर्दा समस्या भएको बताए । साथै उनले पार्टीमा आफूले वैज्ञानिक समाजवादको विचार अघि सारे पनि त्यो विचार र दृष्टिकोण नै पार्टीले सार्वजनिक नगरेको बताए । खनालले नेपालप्रति लक्षित गर्दै भनेका छन्, ‘पार्टी सञ्चालन गर्न सक्ने क्षमता छैन, पार्टीमा बसेर काम गर्न सक्ने क्षमता छैन भने त्यस्ता मान्छे आफैं बाटो लागे हुन्छ तर झलनाथ खनालले त्यस्तो काम जान्दैन ।’
यसअघि रामकुमारी झाँक्री, प्रेमबहादुर आले, किसानकुमार श्रेष्ठलगायत नेताहरूले नेपाललाई तनाव दिएका थिए । केपी ओली नेतृत्वको सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर नेकपा एस फुटाउन खोजेको थियो । यो विषय पनि अध्यक्ष नेपालका लागी त्यत्तिकै तनावपूर्ण बन्यो । त्यसवेला पार्टीका १० मध्ये आधाभन्दा बढी सांसदले पार्टी फुटाएर जान खोजेका थिए ।
नेताहरू जीवनराम श्रेष्ठ, विजय पौडेल, हरि पराजुली, रामकुमारी झाँक्री, किसान श्रेष्ठ, प्रेम आले, धनबहादुर बुढा, अम्मरबहादुर थापा र भानुभक्त जोशी निरन्तर अध्यक्षसँग असन्तुष्ट रहेका छन् । पार्टीको गत महाधिवेशनपछि यी नेताहरू अध्यक्ष नेपालको कार्यशैलीप्रति असन्तुष्टि पोख्दै आएका छन् । पदाधिकारी, पोलिटब्युरो र २ सय ९९ जनाको केन्द्रीय कमिटी बनाउने निर्णयविपरीत ३ सय २२ जनाको केन्द्रीय कमिटी बनाएको, योग्यभन्दा पनि आफ्नालाई छानेर केन्द्रीय कमिटीमा ल्याईएको उनिहरूले आरोप लगाउदै आएका छन् ।
त्यस्तै नेपाललाई प्रधानमन्त्री भएका बेला काभ्रेस्थित पतञ्जली जग्गा बेच्न र सट्टा भर्ना गर्न पाउने निर्णय गरेर नीतिगत भ्रष्टाचार गरेको आरोप लागेको छ । नेपालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । उक्त मुद्दामा आवश्यक अनुसन्धान र बयान पश्चात नेपाललाई अदालतले धरौटीमा छाडेर बाहरिबाटै मुद्दा लड्ने सुविधा दिएको छ । विचाराधीन रहेको यो मुद्दले पनि नेपालमाथि तनाव थपेको छ । उल्लेखित विषयलाई व्यवस्थित गर्न नसकेका पूर्वप्रधानमन्त्री नेपाललाई तनावको भारीले थिच्न लागेको राजनीतिक वृत्तमा बहस भइरहेको छ ।