२०८१ भदौ २३ गते आइतवार / Sep 08 , 2024 , Sunday
२०८१ भदौ २३ गते आइतवार

त्रिशूलीमा बेपत्ता बसका चालकका छोरा–छोरीको शिक्षाको जिम्मा वीरगञ्ज महानगरले लिने

ADV
आबिद हुसेन
२०८१ साउन २ गते १६:१४
त्रिशूलीमा बेपत्ता बसका चालकका छोरा–छोरीको शिक्षाको जिम्मा वीरगञ्ज महानगरले लिने

वीरगञ्ज : चितवनको सिमलतालमा पहिरोले बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएको एन्जल डिलक्स बसका चालकको छोरा–छोरीको शिक्षाको जिम्मा वीरगञ्ज महानगरपालिकाले लिने भएको छ ।

गत शुक्रबार नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा पहिरोले बगाएर त्रिशूली नदीमा बेपत्ता बनाएको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जेल डिलक्स बसका चालक जवाहीर महतोको नाबालक दुई छोरा र १ छोरीको शिक्षादिक्षाको जिम्मा वीरगञ्ज महानगरपालिकाले लिने भएको हो ।

बससँगै त्रिशूली नदीमा बगेका वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवाका ३६ वर्षीय जवाहीरको अवस्था अझै अज्ञात छ । दुर्घटना भएको ६ दिन भइसक्दा पनि उनीसँगै अरु ४८ जना फेला पर्न सकेका छैनन् ।

बुधबार बिहान नगवास्थित जवाहीरको घरमा पुगेका वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले पीडित परिवारसँग भेटेका थिए । सो अवसरमा मेयर सिंहले जवाहीरका दुई छोरा र एक छोरीको शिक्षादिक्षाको जिम्मा महानगरपालिकाले लिने बताए । साथै उनले चालक जवाहीरको परिवारको जीविकोपार्जनका लागि आवश्यक व्यवस्था मिलाउन महानगर तयार रहेको पनि बताए ।

जवाहीरका वृद्ध बुबा भगवान महतोलाई सान्तवना दिँदै मेयर सिंहले भने, ‘तपाईहरुको पीडासँगै हामी छौं । जवाहीरजीका छोरा छोरीका पढाइलेखाइको जिम्मा महानगरले लिन्छ । अरु केही सहयोग चाहिन्छ भने भन्नुहोला । हामी सहयोग गर्छौं ।‘

जवाहीरले रात्रि बस चलाएर जीविकोपार्जन गर्दै आएका थिए । घरको मूली जवाहिर नै नरहेपछि परिवार यतिबेला बिचल्लीमा परेको बुबा भगवानले मेयर सिंहसामु दुखेसो गरे ।

जवाहीरका शोकमग्न परिवारलाई भेटेपछि मेयर सिंहले उक्त दुर्घटनामा परेर बेपत्ता भएका वीरगञ्ज महानगरका अरु दुई जनाको परिवारलाई पनि उनीहरुकै घरमा पुगेर बुधबार नै भेटेका छन् ।

शिक्षण अस्पताल काठमाडौंबाट बीएससी नर्सिङ पूरा गरी सेवा अवधिका लागि पत्र बुझ्न हिँडेका वीरगञ्ज–१६ नगवामै बस्दै आएका अरबिन्द पणितका परिवारसँग पनि भेट गर्दै मेयर सिंहले पीडित परिवारको साथमा आफू सधैं रहेको बताए । नगवाकै नयाँ टोलका ४५ वर्षीय हरेन्द्र पणितको परिवारलाई पनि मेयर सिंहले भेट गरे । काठमाडौंमा फर्निचरको काम गर्दै आएका उनी पनि एन्जल बसमै काठमाडौं गइरहेका थिए ।

असार २८ गते शुक्रबार बिहान ३ बजे वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०३९००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स र काठमाडौंबाट गौर आउँदै गरेको बागमती प्रदेश ०३२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बस भरतपुर महागनरपालिका वडा नम्बर २९ सिमलतालमा पहिरोसँगै बगेर त्रिशूलीमा बेपत्ता भएका थिए ।

ADVADV

सम्बन्धित खबर

Advertise