-मन्जु शर्मा, खर्साङ, भारत
फूलमतिको मुटु भतभती पोल्न थाल्यो । फोक्सोले काम नगर्ला जस्तो भयो । सास घाँटीमै अडकेला जस्तो भयो । जसोतसो पलङ्गमा अडेस लागेर आफुलाई सम्हाली । टेबुलमा राखिएको बोतलबाट पानी घटघट पिई । तर ! पानीले पनि मुटु पोल्न शान्त भएन । पोलिरह्यो असिम चिन्ताले भतभती ।
सानोमा आमाले स्कुलजाने बेलामा रिबनको फूल बनाउदै भन्थिन् – ‘दिनमा फुलेर सुगन्ध छर्ने फूल बन्नु, रातकि रानी नबन्नु है छोरी । त्यो त रातमा फुलेर बिहान हुन नपाउँदै मिर्मिरेमै झर्छ । त्यस्को चमक–दमक केवल रातभरि मात्रै हो ।’
फुलमतीले आज आमाको यी वाक्यहरु साँचो भएको अनुभव गरी ‘साँच्चै आज म रात कि रानी न हुँ । दिनमा मुर्झाउँछु । रात परेपछी सक्रिय हुन बाध्य बन्छु । आफ्नो इच्छा होस् या नहोस् ।’
कलकत्ता महानगरी एउटा रंगिन गल्लीको आलिशान भिमकाय कहाली लाग्ने कोठाभित्र उसको बास छ । उसले केवल त्यस महानगरीको चहल– पहल आफ्नो दुुःखी आँखाहरुले देखेकी छे । दक्षीणतिर एकदमै भव्य मन्दिर दर्शन गर्नेहरुको लामो लस्कर । तँछाड मछाड पुरोहितहरु लोभी नजरहरु घुमाउदै दर्शनको लाईनको दाम तोक्दैछन् । एकसय, दुईसय र पाँच सयको लाईनमा छिटो दर्शन पाईन्छ आदि इत्यादि ।
अर्कोतिर बजारमा किनबेच गर्नेहरुको घुइँचो । अर्कोपटि मासु र माछा पसलमा पनि झिंगासरह मान्छेहरु झुम्मिएको ।अनि सडकहरुमा ठूलो र सानो गाडीहरूको लस्कर । मानौ यसरी कुद्दैछन् यिनिहरु अस्वमेघका घोडाहरु हुन् । जस्ले विश्व विजय गर्नैपर्छ ।
फुलमतिले फेरि आफ्नो गाउँ सम्झी शान्त, निश्चल, पारी क्षितिजमा रातो सुन्दर घाम उदाएको धुप्पीघारी । पानीको कलकल धारा । जता–ततै हरियाली स–साना पाठाहरु माउको दूध चुस्दै बुरुक बुरुक उफ्रेका । अनि गाउँनै मग्मगाउने सयपत्री र गुलाफहरु फूूलेको ।
फुलमतिले फेरि दुई बर्ष अघिको दुःखद् घटना सम्झी । जुन बेला घनघोर बर्षा–झरीमा उनिहरुको घर पहिरोले बगाएको थियोे । जस्मा परिवारको जिम्मेवारी बोकेका एउटै बाबा अनि आफ्नो सानो दस बर्षिय भाइले छोडेर गएको थियो । अब आमा अनि सात बर्षकी बहिनी र उ मात्र जिउँदो छ । कक्षा एघारमा पढदै गरेकी फुलमतिको स्कुल छुट्यो । अब उसको काँधमा परिवारको जिम्मेवारी आईपर्यो । यसरी आफ्नी आमा र बहिनीलाई सुखले पाल्ने उसको संकल्पले उसलाई घिसारेर मधेसमा झार्यो ।
सिलिगुडीमा ‘डोनर’ क्याफेमा रिसेप्सनको काम गर्न थाली । यसरी क्याफेमा काम गर्न थालेको करिब तीन महिनापछि अचानक एकदिन उसको भेट राजिवसित भएको थियो । राजिव त्यहाँको पुरानो ग्राहक थियो । जुन केवल छ महिना या त बर्ष दिनमा मात्रै आउने गथ्यो । पहिलो भेटमै अनौठो आकर्षण !
तर ! जे भए नि पहिलो भेटमा उनिहरुमा बोलचाल भएन । केवल एकाअर्कोलाई हेराहेर मात्रै गरे । राजिव प्रधान यतै सिलिगुडी निवासी बैङ्गलोरमा काम गर्ने हेर्नमा पनि सुन्दर जवान फुलमति उसलाइ हेरेको हेर्यै भइन् । राजिव खाली त्यहाँ कफी पिउन आउथ्यो । जुन दिनदेखि त्यहाँ उसले फुलमतिलाई देख्यो । त्यसपछि उ धेरैपटक आउन थाल्यो । उसले फुलमतिलाई आफ्नो घर परिवारबारे सोधपुछ गर्यो र थाहा पायो निक्कै समस्या रहेछ घर चलाउन । उसले फुलमतिलाई बेङ्लोर गए उसैको अफिसमा राम्रो जागिर लगाइदिने भनेर फकायो । उसले आफ्नो अफिसको म्यानेजरहरुसित राम्रो सम्बन्ध भएको भन्दै फेरि भन्यो, ‘तिमी जस्तो पढेको राम्रो प्रतिभा भएकीले उता राम्रो जागिर पाउछ्यौ । यदि जाने भए कल गर्नु ।’ एउटा कागजको टुक्रामा फोन नम्बर लेखेर उ आफ्नो बाटो लाग्यो ।
शुरुमा त फुलमतिलाई उसको कुरामा ध्यान दिइन । आमा र बहिनीलाई छोडेर नजाने बिचार गरि । तर फेरि हप्ता मरेपछि घर पुग्दा दैलोबाटनै बहिनीको स्कुलको बिल आएको देखि, दस हजार रुपैयाँ । यो महिना नतिरे स्कुलबाट निकालिने छ । बिल हेरेपछि उसको टाउको फन्फनी घुम्न थाल्यो । महिनाको छ हजार तलबमा कोठा भाडा तिरेर खानापिनमा दुई हजार खर्च हुन्छ । बचेको चार हजार रुपैयाँले घर चलाउनै धौ–धौ । फेरि स्कुलको खर्च । उ एकदमै चिन्तित बनि । अनि मनमनै सोची–‘आ जेसुकै होस बरु राजिवसित बेङलोर गएर मज्जाले कमाएर महिना पिच्छै घरमा खर्च पठाउछु ।’
मनमा यस्तै कुराहरु खेलाउदै मधेस झरि फुलमति । बिहानदेखि बेलुकीसम्म बाटो हेरि तर राजिव देखा परेन । राजिवले दिएको मोबाइल नम्बरको कागजको टुक्रा पनि हराएछ । यसरी नै साता बित्यो । तर राजिव देखापरेन । अर्को साता पनि लाग्यो । उसको आँखाले राजिवलाई नै खोजीरहेको थियो । तर !
अर्कोदिन अचानक फेरि क्याफेमा राजिव देखापर्छ । फुलमतिको सास आयो । हत्त न पत्त सारा वृतान्त सुनाई उसको कुरा सुनेर राजिवले नि ठूलो सन्तोषको स्वास फेरे झैँ देखियो ।
राजिव पनि फुलमतिसित उसको घरमा गयो । अनि आगामी दुई/तीन महिनाको लागि घर खर्च बीस हजार रुपैयाँ आमाको हातमा हालिदियो । ढोग गर्दै भन्यो, ‘आमा तपाईं चिन्ता नलिनु सब ठिक हुन्छ । यसरी राजिवले दुई/तीन दिनमै फुलमति र उसको आमाको मन जित्न सफल भयो ।’
हुँदा–हुँदा फुलमतिले घर छोड्ने दिन पनि आयो । राजिवले टिकट पहिलेबाट नै काटेको रहेछ । हिँड्ने बेलामा आँखाबाट बलिन्द्र आँसु बगाउदै आमा र बहिनीलाई अंगालो हालेर धित मरुन्जेल रोइ । विदावारी हुँदै आफ्नो बाटो लागि ।
टाटा सुमो गाडिमा चढेर उनिहरु सिलिगुडी झरे । गाडीमा फुलमतिलाई आमा र बहिनीको सम्झनाले सताई रह्यो । जानुपर्ने एनजेपि प्लेटफर्म बेलुकी सात बजेको रेल थियो । त्यहाँ पुगेर वेटिङ्ग रूममा बसे उनिहरु ।’ रेलमा चढने बेलामा पुलिसले को हो ? कहाँ जान लाएको ? भनेर सोधपुछ गर्नसक्छ । मेरो दाजु हो । हामी काम गर्न जान लाएको भन्नू’ भनेर राजिवले फुलमतीलाई सम्झाएको थियो ।
फुलमती दिनभरी त्यही बसि । राजिव भने बाहिरतिर घुम्न निस्क्यो । बेलुकी समय हुनै लाग्दा आयो । अनि दुबैले एक–एक गिलास जुस पिएर रेलमा चढे । धनमतीलाई खल्लो लागिरह्यो । यसरी पहिलोपटक घर छोड्दा सार्है मन दुखेको थियो । तर पनि मन थामेर चुपचाप बसिरही । रेल आफ्नै गतिमा गुडन थालेको थियो । रेलमा चियादेखि लिएर अनेक सामान बेच्ने मानिस चढि नै रहन्थे । यतिकैमा कतिबेला उसको आँखा लाग्यो थाहै पाइन । भुसुक्क निंदाइछे ।
पछि जब आँखा खोली, उसले आफुलाई त्यस नर्कमा पाई । त्यहाँ न राजिव, न त काम गर्ने अफिस । राजिव केवल नोकरीको लोभ दिएर केटि बेच्ने दलाल पो रहेछ । वरिपरि लोग्नेमान्छेको जस्तै अनुहार भएको तर साडि लाएकी । महिला भनुम त महिला होईन । पुरुष भन्नै नमिल्ने । किन्नर हिजडा मुखमा पान चपाउँदै ‘देहव्यापार’ को धन्धा गर्दै बस्दा रहेछन् ।
पुलिसदेखि लिएर सारा प्रशासन पनि उनीहरुको सामु झुक्दा रहेछन् । त्यही कारण त भगवानले नि यिनिहरुलाई मानवको स्वरुप दिएर ठगेको रहेछ भन्ने कुरा फुलमतीले मनमनमा सोची ।
यसरी राम्रो नोकरी र राम्रो तलब पाउने आसामा दलालको हातबाट बेचिएर उ आज रानीमहलमा ‘रातकी रानी’ बनेर बसेकिछे । यसरी आफुले भोगेको दुःख सम्झेर कतै उसको बहिनीले पनि त्यस्तै झेल्नु पर्ला कि भनेर उसको मुटु यसरी पोलेको हो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies