
उदयपुर : उदयपुरमा गुडिरहेको बोर्डिङ बसबाट खसेर एक बालकको मृत्यु भएको छ । बेलका नगरपालिका ४ हरीपुर शिसवारीस्थित भित्री सडक खण्डमा जहडाबाट हरिपुरतर्फ जाँदै गरेको को १ ख ३५१६ नम्बरको बेलका बोर्डिङ स्कुलको बसबाट खसेर सोही बोर्डिङमा अध्ययनरत ९ वर्षीय सफल बस्नेतको निधन भएको हो ।
घटनाको सूचना प्राप्त हुनासाथ तत्काल इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट प्रहरी टोली खटिएर शबको कानुनी प्रक्रियापश्चात पोष्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा पठाइएको छ । बस चालक बेलका नगरपालिका ८ सिसौली बस्ने अन्दाजी वर्ष ३४ का प्रेम तामाङलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको छ ।
त्यसैगरी उदयपुरमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । उदयपुरगढी गाँउपालिका ६ कटारी चोक स्थित गाईघाटबाट कटारीतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००५ प ८६०० को मोटरसाइकललाई कटारीबाट गाईघाटतर्फ आउँदै गरेको बा ४ ख १४०९ को टिपरले बुधबार ठक्कर दिइ दुर्घटना हुँदा मोटरसाइकल चालक खोटाङ बराहपोखरी गाउँपालिका वडा ५ बस्ने वर्ष अन्दाजी ३० को भुपाल राईको निधन भएको हो । उनलाई गम्भीर अवस्थामा जिल्ला अस्पताल उदयपुरमा लगिएकोमा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा संलग्न सवारी साधन अस्थायी प्रहरी पोष्ट नेपालटारको नियन्त्रणमा रहेको तथा घटना सम्बन्धमा थप अनुसन्धान तथा टिपर चालकको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।