– गोकर्ण बराल
नेपालमा गणतन्त्र आएको १३ वर्ष बितिसकेको छ । दोश्रो सविंधानसभाको निर्वाचनपछि वि.सं.२०७२ सालमा बनेको सविंधानमा नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरिएको थियो । हुन् त २०६२÷०६३ को जनआन्दोलनपछि नेपाल धर्मनिरपेक्ष राष्ट्र घोषणा भएको हो । माओवादीको १० वर्षे जनयुद्ध र ०६२÷०६३ को १९ दिने जनआन्दोलनको माग धर्मनिरपेक्ष राज्य बनाउने थिएन । तर पनि नेपालको शान्ति प्रक्रियाको चरण सँगसँगै एकाएक धर्म निरपेक्ष राष्ट्र घोषणा भयो । अहिले आएर नेपाल धर्मनिरपेक्ष राज्य हुने कि हिन्दू राज्य हुने भन्नेमा जनमत संग्रह गर्नुपर्ने माग चौतर्फी उठिरहेको छ ।
धर्मको नाममा नेपाललाई अस्थिर बनाउने शक्तिहरु पनिप्रशस्त छन् । नेपालको मुख्य राजनीतिक पार्टीभित्र पनि धर्मनिरपेक्षबारे मत भिन्नता पाउन सकिन्छ । तर, नेपालमा धर्म निरपेक्षतालाई सबै धर्मलाई समान नजरबाट हेर्नेभन्दा पनि हिन्दू र बुद्धिष्ट विरोधी मानसिकतामा नेपाली–नेपालीहरुलाई एक आपसमा लडाईं निम्त्याउने र फुटाऊ र शासन गर भन्ने रणनीतिक उद्देश्यसँग जोडिएको राजतन्त्रवादी एबं हिन्दूवादीहरुको आरोप छ भने सबै धर्म बराबर भएकाले धर्मनिरपेक्ष राज्य बनाइएको सविंधान निर्माताहरुको मत रहेको छ ।
नेपाल हिन्दूहरुको १८ पूराणहरु मध्ये स्कन्द पूराणबाट लिइएको नाम हो । हिन्दूहरुको १८ पूराणलाई मान्ने हो भने नेपाल भन्ने बित्तिकै हिन्दू भन्ने बुझिन्छ । अहिले गणतन्त्रमा नेताहरुको रबैया देख्दा राजतन्त्र नै ठिक भन्ने र अहिले नै गणतन्त्रको मूल्यांकन गर्ने बेला नभएको भन्ने जनतामा मत विभाजित छ । मुख्य राजनीतिक दल र तिनका नेताहरु के चाहन्छन् भन्ने पनि अहिले चर्चाको विषय बनेको छ । गणतन्त्र र धर्मनिरपेक्षताबारे एकपटक बिगतलाई हेर्नुपर्ने हुन्छ । तत्कालिन नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पाँच विकास क्षेत्रलाई संघीयताको उत्तम विकल्प भनेका थिए । उनले संघीयताले देश टुक्र्याउँदैन भनेर भनेका थिए भने जातजाति बिचमा झगडा पैदा गर्ने गरी संघीयताको व्याख्या गर्दै बाध्य भएर एमालेले संघीयता स्वीकार गरेको बताएका थिए । नेपाली कांग्रेसका केही नेता नेपाललाई हिन्दू राज्य बनाउनुपर्छ भन्ने धारणा खुल्ला रुपमा राख्न थालेका छन् । जो हिजो राजतन्त्रसँग नजिकको सम्बन्ध राख्दथे आज तिनीहरु हिन्दू राज्यबारे जनमत संग्रहमा जानुपर्ने धारणा राखिरहेका छन् ।
विशेषगरि दशैं–तिहार र नयाँ वर्षजस्ता ऐतिहासिक अवसरमा मात्रै विज्ञप्ति जारी गर्ने पूर्वराजा ज्ञानेन्द्र शाहले केही वर्ष पहिले एउटा प्रेस विज्ञप्ति जारी गर्दै तत्कालिन समयबारे गतिलो गरि धारणा राखेका थिए । भारत र चीनको भ्रमण गरेर आएका बखत उनले उक्त विज्ञप्ति जारी गरेका थिए । सिधै भारत र चीन गए शंका पैदा हुन्छ भनेर उनी थाइल्यान्ड र सिंगापुर हुँदै चीन गएका थिए भने चीनमा चिनियाँ कम्युनिस्ट पार्टीका वरिष्ठ नेतासँग भेटघाट र छलफल गरेको फोटोसमेत सार्वजनिक भएको थियो । तर, नेपालमा त्यो भ्रमणपश्चात आएको ज्ञानेन्द्रको विज्ञप्तीलाई हलुकासँग लिइएको थियो । उनले वक्तव्यमार्फत भनेका थिए, ‘नेपाललाई अस्थिरता र अराजकताको आगोले क्रमशः जलाइरहेको छ, आज नेपालीबीचको सामाजिक सद्भाव मेटिँदैछ भने, तराई, पहाड र हिमाल माझको ऐक्य भाव तोड्ने भगिरथ प्रयत्न भइरहेको छ ।’ पूर्वराजाको यो अभिव्यक्तिले ५ नम्बर प्रदेशमा पहाड र तराईलाई अलग्याउन पाइँदैन भन्दै भइरहेको आन्दोलनलाई समर्थन गर्न खोजे जस्तो देखिन्थ्यो । जे होस् संघीयताभित्र पुर्वराजा खेल्न खोजेको स्पष्ट देखिन्थ्यो । र उनी छिट्टै नै मुभ हुनसक्ने संकेत पनि देखिएको थियो ।
तत्कालिन समयका प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालुवाटारमा वरिष्ठ लेखक र स्तम्भकारहरुसँग छलफलको आयोजना गरेका थिए भने सो छलफलमा प्रधानमन्त्री प्रचण्डले पूर्वराजा ज्ञानेन्द्रको मुभका विषयमा पनि प्रश्न उठाएका थिए । पूर्वराजा ज्ञानेन्द्रको बेइजिङ र दिल्ली अनि बैंकक यात्रा त्यतिकै नभएको र त्यसमा गणतन्त्र मास्ने योजना रहेको हुन सक्ने भन्दै तत्कालिन प्रधानमन्त्री प्रचण्डले सो भेटघाटमा चिन्ता व्यक्त गरेका थिए । छलफलको अन्तिममा प्रचण्डले गणतन्त्रवादी शक्तिहरु सचेत नहुने हो र ०७४ माघ ७ भित्र तीनवटै चुनाव गरेर संविधानलाई कार्यान्वयनमा नलैजाने हो भने संघीयता, गणतन्त्र र धर्म निरपेक्षता धरापमा पर्न सक्ने निष्कर्ष सुनाएका थिए । प्रचण्डले आफ्नो पार्टीको आन्तरिक बैठकमा पनि ज्ञानेन्द्रको बेइजिङ यात्राको राजनीतिक अर्थ केलाउदै सचेत हुनुपर्ने बताएका थिए ।
नेपालमा पछिल्लो केही समय पहिलेदेखि राजतन्त्रको पक्षमा सडकमा आवाजहरु गुन्जिन थालेका छन् । तत्कालिन समय नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण सडकमा ‘राजा आऊ देश बचाऊ’को नारा लागेको आरोपसमेत लगाएका थिए । तर त्यसको केही दिन बित्न नपाउँदै ओलीले संसद विघटन गरेपछि देउवाको यो आरोपमा थप टेवा पु¥याएको चर्चा चलेको थियो । नेकपा विभाजन हुनुले पनि थप संका पैदा गरेको थियो । ओलीको विभिन्न संकास्पद भेट र राजावादी आन्दोलनमा उनका समर्थक एवम् सहयोगीहरु देखिनुले पनि थप पुष्टि गरेको उनकै पार्टीका नेताहरुले आरोप लगाएका थिए । दोस्रोपटक प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर निर्वाचनको घोषणा गरेपछि नेपाली राजनीतिक वृत्तमा तरंग पैदा भयो । राजतन्त्रवादीहरुले राखेको हिन्दू राज्यको माग ओलीले उठान गरेको आरोप पनि लाग्यो । ओलीको कतिपय अभिव्यक्तिले उनी हिन्दू राज्य फर्काउने ग्राण्ड डिजाइनमा लागेको आरोप लागिरहेको थियो । अहिले नेपाललाई दुुई प्रकारको मोडल धर्मनिरपेक्ष राष्ट्र बनाउने र हिन्दू राष्ट्र बनाउन चाहने शक्ति र डिजाइनर एकै भएकोले उसले चाहे जुनसुकै बेला नेपाल हिन्दू राष्ट्र बन्नसक्ने बुझाई आम नेपालीमा देखिन्छ । हुन् त नेपालमा इसाईहरु नेपालको गरिबीसँग सेन्टिमेन्टका रुपमा आफ्नो साम्राज्य विस्तार गर्न खोजिरहेका कारण पनि नेपाल हिन्दू राष्ट्र हुनुपर्ने बहस चलेको छ । तर धर्म निरपेक्ष फेरि आफैमा नराम्रो भने होइन । यसलाई सफल बनाउने, असफल बनाउने या कुन रुपमा प्रयोग गर्ने भन्ने कुरा यसलाई प्रयोग गर्नेहरुमा निर्भर गर्दछ ।
छिमेकी राष्टहरु र सार्क राष्ट्रहरु एउटा पनि इसाई राष्ट नभएको अवस्थामा नेपालमा बाइबल कसरी र कहाँवाट आयो ? भन्ने प्रश्न भने विचारणीय छ । इसाईहरुको गाउँ–गाउँसम्म तिव्र गतिमा पुगेको विस्तार, नेपालको गरिबी, अभाव आदीबाट पिल्सिएका समाजमा उनीहरुले देखाएको चाँसोले पनि उनीहरु नेपालका गरिबीसँग सेन्टिमेन्टका रुपमा आफ्नो साम्राज्य विस्तार गर्न खोजिरहेको आरोप भोगिरहेका छन् । नेपोलियन वोनापार्टले भनेझैँ – यदि कुनै राष्टलाई कमजोर बनाउनु छ भने सबैभन्दा पहिले त्यस देशको धर्म, भाषा, संस्कृति र परम्परामाथि प्रहार गर्नुपर्छ । हो आज नेपालमा बिभिन्न शक्तिहरु धर्म र संस्कृतिमाथि आफ्नो अस्त्र प्रयोग गर्न खोजिरहेका छन् । त्यसैअनुरुप नेपालमा बुद्धिष्ठ र किराँतीहरुको संस्कृति र पहिचानलाई निर्मुल पार्न खोजिरहेका छन् । एकातर्फ हिन्दूवादीहरु इसाईहरु आज मात्र होइन, पहिलेदेखि नै नेपाललाई प्रयोग गर्न खोजिरहेको थिए तर, सफल नभएको देखिन्छ ।
१० वर्षको जनयुद्धको चपेटामा नेपाल परिरहँदा भने उनीहरुले प्रवेश गर्ने राम्रो अवसर पाए । २०६२÷०६३ को जनआन्दोलनपश्चात भने सहजै उनीहरुले नेपाल भित्रिएर आफनो सञ्जाललाई विस्तार गर्न सफल भएको उनीहरुको बुुझाई छ । गणतन्त्रवादी भनिने उनीहरुको विचारसँग सहमत हुँदा उनीहरुलाई थप सहज भएको हो । नेपालको सनातन हिन्दू, बौद्ध, किराँत, बोनलगायतका मौलिक परम्परा र संस्कृतिहरु अहिले क्रमशः नष्ट हुँदै गइरहेको हुँदा बुद्धको देशमा बुद्धको धर्म र बुद्धको इतिहास नै नष्ट हुनसक्ने खतरा पनि बढेको जनमानसमा पर्न थालेको छ ।
केही वर्ष पहिलेको एक घटनालाई हेराँै, पुर्वराजा ज्ञानेन्द्र शाह धार्मिक भ्रमणमा मधेस यात्रामा थिए । पुर्वराजा ज्ञानेन्द्र शाह जहाँ जान्छन् उनलाई हेर्न, भेट्न र छुनका लागि सर्वसाधारणको ठुलो भिड लाग्ने गर्दथ्यो । भिड नियन्त्रण गर्न सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई हम्मेहम्मे परेको दृश्यसमेत जताततै देख्न सकिन्थ्यो । ज्ञानेन्द्रलाई कयौँले हात हल्लाएर अभिनन्दन गरेका थिए भने कयौँ समर्थकले ‘राजा आऊ, देश बचाऊ’ भन्ने नारासमेत लगाएका थिए । पूर्वराजालाई हेर्न स्थानीय सयौं सर्वसाधारण सडकको दायाँबायाँ उभिएर नमस्कार गरिरहेका थिए भने हात हातमा फूलमाला र राष्ट्रिय झण्डा बोकेका मधेशी महिलाहरुसँग पूर्वराजाले छोटो–छोटो सम्वाद पनि गर्न भ्याएका थिएका । त्यतिबेला मधेस तातेको कुनै राजनीतिक दलका कारण होइन् त्यसको कारण पूर्वराजा हुन् । पूर्वराजा ज्ञानेन्द्र शाहको तीर्थाटनका कारण मधेस प्रचण्ड तापमा रहेको त्यतिबेला चर्चा थियो ।
मधेस मिसनबारे मानिसहरूको आ–आफ्नै धारणा थिए । कसैले हिन्दू धर्मसँग जोडेका थिए त कसैले भारतसँग जोडेर चर्को तर्क गरेका थिए । कसैले यूरोपियन यूनियनलाई धारे हात लगाउँदै आएका थिए । कुनै समय चीनसँग जोडेर पनि चर्चा गरिन्थ्यो । नेपालका राजनीतिक दलहरूका आ–आफ्नै रणनीति र कार्यनीतिहरू छन् । उनीहरूका फरक–फरक धार र दृष्टिकोणका कारण पनि मधेस चर्चामा रहिरहन्छ । ज्ञानेन्द्रको भ्रमणमा खुलेआम राजतन्त्रको पक्षमा नारा लाग्नुका साथै ब्यानरमा उनलाई ‘महाराजधिराज सरकार’ भनेरै सम्वोधन गरिएको पाइन्छ । तर पूर्वराजा ज्ञानेन्द्रले ‘जनताको र देशको भलो होस्’ भन्ने बाहेक आफूसँग अरु कुनै स्वार्थ नरहेको बताउन भने कहिल्यै छुटाएका छैनन् । धेरै ठाउँमा स्थानीयले पूर्वराजालाई राजतन्त्र हटेपछि मधेसले दुःख पाएको गुनासो गर्दै हिन्दू धर्मको रक्षाका लागि राजा पुनः आउनु पर्ने राय दिएका भएपनि उनले मुन्टो हल्लाउने बाहेक अरु कुनै प्रतिक्रिया दिएनन् । पछिल्लो समय नेपाललाई हिन्दू राष्ट्र बनाउन चाहने भारतको चाहाना र नेपालमा धर्म र संस्कृतिमाथि हुने गरेको बारबारको हमलाले गर्दा बहुसंख्यक नेपाली हिन्दू राष्ट्रको पक्षमा उभिन पुगेको सहज अनुमान गर्न सकिन्छ ।
पशुपतिमा गएको र चितवनमा राम मन्दिर बनाएको घटनाले ओली नेपाललाई धर्म निरपेक्ष राष्ट्रबाट पुरानै हिन्दू राष्ट्र बनाउने तयारीमा रहेको अनुमान गर्न थालिएको थियो । केही वर्ष पहिले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्राको समापन गर्न भृकुटीमण्डपमा आयोजित आमसभालाई सम्बोधन गर्दै काठमाडौंबासीलाई जगाएर हिन्दू राष्ट्र पुनस्र्थापना गरि छाड्ने संकल्प गरेका थिए ।
नेपालमा रहेको करिब ८३ प्रतिशत हिन्दूको सेन्टिमेन्ट आफ्नो पक्षमा पार्न एमालेमा ओलीदेखि कांग्रेसका केही नेता र राप्रपासमेत हिन्दू राष्ट्रको पक्षमा उभिएको चर्चा अहिले चल्ने गरेको छ । हजाराँै शहिदको रगतले प्राप्त यो उपलब्धि अहिले गुम्ने खतरा देखिन थालेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies