काठमाडौँ : जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने बताएका छन् । कांग्रेस-एमालेले संविधान संशोधनको मुद्दा अघि सारेकाले आफूहरूले बाहिरै बसेर साथ दिन लागेको उनले बताए ।
कांग्रेस एमालेको मिलनबारे उनले थपे, ‘संविधान संशोधनको एजेण्डा हाम्रो हो । उहाँहरूले अहिले समेट्नुभएको छ । त्यसैले अब हामी बाहिर बसेर काम हेर्छौँ । संविधान संशोधन गर्नुपर्छ भनेर हामीले घोषणा भएदेखि भन्दै आएका हौँ ।’
प्रधानमन्त्री ओलीले सरकारलाई पूर्णता दिइसकेका छन् । अब सरकारमा तीन जना राज्यमन्त्री मात्रै थप्न बाँकी छ । कांग्रेस एमाले सरकारको काम हेरेर सरकारमा जाने नजाने पछि निर्णय हुनसक्ने उनले बताए । अहिले सरकार बाहिरै बसेर आफूहरूले ओली नेतृत्वको सरकारलाई सघाउने बताए ।