२०८१ भदौ २३ गते आइतवार / Sep 08 , 2024 , Sunday
२०८१ भदौ २३ गते आइतवार

नेपाली राजनीतिमा छक्कापञ्जा चलिरहेको छ : ईश्वर पोखरेल

ADV
तिलु शर्मा पौडेल
२०८१ साउन ५ गते १६:१६
नेपाली राजनीतिमा छक्कापञ्जा चलिरहेको छ : ईश्वर पोखरेल

दोहा, कतार : नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपाली राजनीतिमा छक्कापञ्जा चलिरहेको बताएका छन् । प्रवासी नेपाली मञ्च कतारको सातौँ राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै पोखरेलले पुष्पकमल दाहाल प्रचण्डलाई क्रमभङ्ग गरेर महाविपत्ति खडा गर्दै छलाङ मार्न मन लाग्नु नै सरकार ढल्नुको प्रमुख कारण रहेको बताए ।

नेताहरू सबै चोर हुन् भनेर सोलोडोलो एकै ठाउँमा राख्न नहुने बताउँदै उनले आफूले जोहो नगरी छिमेकीलाई गाली गरेर उपलब्धि नहुने बताए ।  नेपाललाई भारतले लगाएको नाकाबन्दी सदैवका लागि अन्त्य गर्दै चीनसँग पारवाहन सम्झौता गर्ने नेता आफ्नो दलका अध्यक्ष केपी शर्मा ओली रहेको उनले बताए । अब नेपालले नाकाबन्दीको पीडा कहिल्यै भोग्नु नपर्ने दाबी गर्दै उनले गलत भाष्य निर्माण गरेर प्रगति कसैको नहुने धारणा राखे ।

शुक्रबार अल डल्ला ड्राइभिङको सभा हलमा सम्पन्न अधिवेशनका प्रमुख अतिथि समेत रहेका पोखरेलले बिजुली बेचेर पैसा कमाउने भनेर विज्ञप्ति निकाले पनि छिमेकीले जलस्रोतमाथि नियन्त्रण चाहेको कतिपय दलका प्रधानमन्त्रीले नबुझेको भन्दै नेकपा माओवादी केन्द्रप्रति कटाक्ष गरे । एमालेको गुणगानमा निकै लामो समय खर्चेका पोखरेलले करिब एक घण्टा अधिवेशनमा आफ्ना भनाइ राखे ।

रेमिट्यान्स व्यवस्थित गर्ने विषयको एक सवालको जवाफ दिँदै उनले अहिलेको सरकारले केही न केही सकारात्मक कार्य गर्ने आश्वासन दिए । उनले पासपोर्टको सलटका समस्याप्रति इङ्गित गर्दै उनले नेपालमा लाइसेन्स बन्न २ साल लाग्ने गरेको बताए । उनले राजनितिक अस्थिरताका कारण कतिपय प्रविधिको विकास गर्न नसकिएको स्वीकार गरे । उनले वामपन्थी एकताभन्दा देशलाई माया गर्ने कामपन्थीको एकता आवश्यक रहेको बताए ।

नेपालीहरू बाध्यताका कारण विदेशिन परेको उनको भनाइ थियो । विभिन्न ठाउँमा रहेका प्रवासी नेपाली तथा श्रमिकहरूको योगदानप्रति गर्व गर्नुपर्ने बताउँदै उत्पादन बढाएर रोजगारी सिर्जना गर्न नसकेसम्म विदेशिने लर्को रोक्न नसकिने उनको भनाइ थियो । देशमा रेमिट्यान्स भित्र्याउन अन्य क्षेत्रका श्रमिकको भन्दा खाडी क्षेत्रमा काम गरेका नेपालीहरूको योगदान बढी रहेको बताउँदै उनले प्रवासमा श्रम गरेर नेपालीहरूले आफ्नो परिवार र समाज धानेको बताए ।

‘रेमिट्यान्सलाई व्यवस्थित एमाले नेतृत्वको सरकारले गर्छ, रेमिट्यान्सलाई पहिला उत्पादनमा लगाउनुपर्छ,’ उनले भने । पोखरेलले उद्योग चलाएर उत्पादनमा जोड दिए मात्र नेपाली श्रमिकलाई नेपालमै स्वरोजगार बनाउन सकिने बताए । पार्टीका प्रवास संगठन प्रवासी नेपाली मञ्च विश्वका ३७ देशमा फैलिएको बताउँदै पोखरेलले पार्टीले लिएको मिसन ८४ लाई पूरा गर्न प्रवासका संगठनहरूको भूमिका पनि अतुलनीय रहने हुँदा  एकजुट भएर लाग्न आग्रह गरे ।

अधिवेशनमा प्रेस चौतारी नेपालका सचिव विष्णु तारुके, प्रवासी नेपाली मञ्च बहराइनका सचिव वीरेन्द्र बुढाथोकी, प्रवासी नेपाली मञ्च मध्यपूर्व कमिटीका संयोजक प्रकाश कोइराला, प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका सदस्य, सालिकराम पन्त, सचिवालय सदस्य तथा मध्यपूर्व महादेश इन्चार्ज कमलमणि गुरागाईं, उपसचिव तथा प्रचार प्रसार प्रमुख चानक पोखरेल, कोसी प्रदेश अध्यक्ष घनश्याम खतिवडा, प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापा, एमालेका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री उमाशंकर अरगरियाले सम्बोधन गरेका थिए ।

कतारमा स्थापित सामाजिक संस्थाहरूको प्रतिनिधित्व गर्दै गोरखा सेवा समाजका अध्यक्ष ओम गुरुङले शुभकामना मन्तव्य राखेका थिए । प्रदेश समन्वय परिषद्को प्रतिनिधित्व गर्दै मधेस प्रदेश समन्वय परिषद्का अध्यक्ष नियाज शेख, श्रमिकहरूको प्रतिनिधित्व गर्दै जिफन्ट कतारका अध्यक्ष समुन्द्र खड्का, मुस्लिम समुदायको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाजका अध्यक्ष अजमत अलि, महिलाहरूको प्रतिनिधित्व गर्दै नेपाली महिला समाज कतारकी प्रवक्ता शारदा भुजेल, आदिवासीहरूको प्रतिनिधित्व गर्दै जनजाति महासंघ कतारका अध्यक्ष डिएन मगर, पत्रकारहरूको प्रतिनिधित्व गर्दै पत्रकार महासंघ कतारका उपाध्यक्ष अर्जुन पौडेलले आफ्ना शुभकामना मन्तव्यसहित विभिन्न सुझाव र गुनासा उपाध्यक्ष पोखरेलसमक्ष राखेका थिए ।

एनआरएनए एनसीसी कतारका अध्यक्ष रमेश भट्टले समृद्ध नेपाल सुखी नेपालको नाराले लिएर एमाले हिँडिरहेको स्मरण गराउँदै ३० वर्षभन्दा बढी समयसम्म प्रवासीएका नेपालीहरूलाई स्वदेश फर्काउने र श्रमिकका हितमा के कस्ता कार्य गर्ने योजना बनाएको छ त्यो स्पष्ट रूपमा राख्दिन र आवश्यक स्थानमा आवाज पुर्‍याइदिन आग्रह गरे ।

अधिवेशनमा व्यवसायी तथा समाजसेवी नरेन्द्र भाट र सागर नेपालले शुभकामना मन्तव्य राखेका थिए । कतारमा रहेका वैचारिक संस्थाहरूमध्ये नेपाल नेपाली जनप्रगतिशील मोर्चाका अध्यक्ष रबिन पुन, संघीय लिम्बुवान सामाजिक मञ्चका वरिष्ठ उपाध्यक्ष डम्बर लिवाङ, अन्तर्राष्ट्रिय नेपाली समाजका महासचिव ध्रुव क्षेत्री, कतार नेपाली एकता समाज (पानस) कतारका अध्यक्ष तिलक श्रेष्ठ, नेपाली समाज कतारका अध्यक्ष मनिष यादव, प्रवासी नेपाली एकता मञ्च कतारका अध्यक्ष मोहमद मुक्तदा मुसलमान, प्रवास नेपाली सम्पर्क विभाग दोहा कतारका सभापति अब्दुल करीम, नेपाली जनप्रगतीशिल मञ्च कतारका अध्यक्ष राज देवकोटा, नेपाली जनसम्पर्क समिति कतारका सभापति मोहमद अजिज अलिले शुभकामना मन्तव्य राखेका थिए ।

ब्यानर अनावरण तथा पानसमा दीप प्रज्वलन गर्दै समुद्घाटन गरिएको कार्यक्रममा मञ्चका उपाध्यक्ष विजय बस्नेतले स्वागत मन्तव्य राखेका थिए । सचिव विनेश तामाङले सहजीकरण गरेको अधिवेशनमा गायक शिवराम ढकाल र गायिका रेसमी सुनुवारले राष्ट्रिय भावको गीत गाएका थिए । गायक मनिष गोस्वामी र कलाकारहरूले मैथिली भाषामा गायन प्रस्तुत गरे भने कलाकार समृद्ध सापकोटा, दिया सिंह र प्रज्ञा निउरेले आफ्नो नृत्य पेस गरेका थिए । जिया हमालले काफल गेडी कुटुक्कैमा आकर्षक नृत्य पेस गरेकी थिइन् ।

सातौं राष्ट्रिय अधिवेशनका संयोजक अफसर अलि खानको सभापतित्वमा भएको अधिवेशनको बन्द सत्र शुक्रबार राति शुरु भए पनि सहमति जुट्न भने सकेको छैन । एक सूत्रका अनुसार अध्यक्षसहित विभिन्न पदमा आकांक्षी उच्च देखिएका कारण सहमति जुट्न नसकेको खुलेको छ । सहमतीय प्रणालीबाट अगाडि बढ्न खोजेको मञ्चको बन्द सत्र आज शनिबार साँझ पुन फूलबारी रेस्टुरेन्ट अलत्तियामा शुरु हुने एक आकांक्षीले मध्यान्हलाई जानकारी दिए । नेतृत्व चयनका लागि ३ सय २१ जना प्रतिनिधि अधिवेशनमा सहभागी रहेका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise