२०८१ भदौ २३ गते आइतवार / Sep 08 , 2024 , Sunday
२०८१ भदौ २३ गते आइतवार

बागमतीका मुख्यमन्त्री जम्कट्टेल विश्वासको मत लिँदै

ADV
मध्यान्ह
२०८१ साउन ६ गते १०:३२
बागमतीका मुख्यमन्त्री जम्कट्टेल विश्वासको मत लिँदै

बागमती : बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज प्रदेशसभामा विश्वासको मत लिने भएका छन् । आज अपराह्न १ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए । 

संघीय सरकार परिवर्तनसँगै प्रदेश सरकारमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट सहभागी पाँचजना मन्त्रीले गत असार २४ गते राजीनामा दिएपछि मुख्यमन्त्री जम्कट्टेलले सत्ता साझेदार दलका नेताहरूसँगको परामर्शपछि विश्वासको मत लिन लागेका हुन् ।
 
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) संसदीय दलका नेता जम्कट्टेल गत २०७९ पुसमा नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । 

मुख्यमन्त्रीमा दाबी पेस गर्दै कांग्रेस 

नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी गरेका छन् । मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत नदिने निर्णय गरिसकेका नेपाली कांग्रेस र एमालेले कांग्रेस संसदीय दलका नेता लामालाई मुख्यमन्त्रीमा नियुक्त गर्न प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्ने तयारी गरेका हुन् । 

“दुई दलबीच पहिला नै मुख्यमन्त्रीमा कांग्रेसले दाबी पेस गर्ने सहमति भइसकेको छ”, नेता लामाले भने, “कांग्रेस संसदीय दलको नेताको हैसियतले मुख्यमन्त्रीका लागि मेरो दाबी पेस हुन्छ, पार्टीबीच कुनै विवाद छैन ।”

मुख्यमन्त्रीमा कांग्रेसका नेता लामाले दाबी पेस गर्ने सहमति भएको एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले बताए । “मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिँदै हुनुहुन्छ, उहाँले विश्वासको मत नपाएपछि नयाँ मुख्यमन्त्री चयनको प्रक्रिया शुरु हुन्छ”, थपलियाले भने, “प्रदेश प्रमुखले मुख्यमन्त्रीमा दाबी गर्न आह्वान गर्नुहुन्छ र त्यसलगत्तै हाम्रोतर्फबाट कांग्रेसका नेताले मुख्यमन्त्रीमा दाबी पेस गर्नुहुन्छ ।” 

यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत नदिने  बताए । 

विश्वासको मतका पक्षमा तीन दल

मुख्यमन्त्री जम्कट्टेललाई माओवादी केन्द्रसहित तीन दलले विश्वासको मत दिने भएका छन् । उनालाई एकीकृत समजावादी र हाम्रो नेपाल पार्टीले विश्वासको मत दिने निर्णय गरेका हुन् । प्रदेशसभामा माओवादी केन्द्रका २१, एकीकृत समाजवादीका सात र हाम्रो नेपाल पार्टीका दुईजना प्रदेशसभा सदस्य छन् । 

एक सय १० सदस्यीय प्रदेशसभामा कांग्रेसका ३७, एमालेका २७, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का २१, राप्रपाका १२, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को सात, नेमकिपाका तीन र हाम्रो नेपाल पार्टीका दुईजना प्रदेशसभा सदस्य छन् ।
 
नेमकिपा बैठक हुँदै 

बागमती प्रदेशसभामा प्रतिनिधित्व गर्ने नेपाल मजदुर किसान पार्टीले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिने वा नदिने निर्णय गर्न पार्टी संसदीय दलको बैठक आज बिहान ११ बजे आह्वान गरेको छ ।      

ADVADV

सम्बन्धित खबर

Advertise