– भुवन तामाङ
“प्यारी प्राण प्रिय साहिँली ! कोशीको अबिरल कञ्चन पानी जस्तै धेरै–धेरै अटुट माया तिमीलाई । सञ्चै त छौ होली तिमी ? म यता सञ्चै छु । तिम्रो आद आउन्जेल म किन पो बिरामी हुन्थे र ! तर लामो समय भेट नहुँदा अलि बिरामी परिहाल्छु तर, जब तिम्रो उज्यालो मुहारको झझल्को आउँछ, चट्टै पो निको भै हाल्छु । निकै दिन भयो आकाशमा कालो बादल कुदेर तिम्रो त्यो स्वर्ग जस्तै सुन्दर गाऊँ रहेको पहाड छेलिन थालेको । सिगरेटको धुँवा हातले हम्काए जस्तै गरी बादल हम्काउन सकिन साहिँली । घरहरु त के देखिन्थ्यो र त्यै पहाड हेरेर पनि चित्त बुझाउँथे । हुन त तिमी पनि त्यसै भन्ने गथ्र्यौ यता मेरो गाऊँ रहेको पहाड हेरेर मन भुलाउँछु भनेर । म पन्छी भएत बादलसँगै उडेर आउने थिएँ मेरी प्यारी साहिँलीलाई भेट्न । तिमी पनि के अडिन्थ्यौ हौली र यदि तिमी पनि पन्छी भएकी भए ।
यता बर्खा लाग्यो साहिँली ! गाउँका फुच्चे खोलाहरु त राम्रै गाउँनै बगाएर लान्छु जस्तो गर्न शुरु गर्दैछन् । झन् कोशी नदीको त कुरै अर्कै । साउने भेल उर्लिने बेला भयो साहिँली अब । त्यसैले डाँडा बजार हाटमा भेटौँ भनेर तिमीलाई पत्र लेख्दै छु । अनि तिमै्र गाउँतिर ससुराली भएका एक जना साथीसँग यो पत्र पठाउँदै छु । ऊ झोलुङ्गे तरेर आउँदै छ है । तिमै्र म ‘हावापानी’ गाउँको हावा जस्तै तर तिम्लाई औधी माया गर्ने तिम्रो साहिँलो ।”
पत्र लेखिसक्दा साहिँलोले तुरुक्कै आँशु पनि झार्यो । साहै्र पो माया गर्छ साहिँलीलाई ऊ । साँच्चै लाली गुँराश फुलजस्तै रातै गाला भएकी अनि कञ्चनजंघा हिमाल जस्तै झरिलीभरिली र उज्याली छिन् साहिँली । “खोइ कसरी पो पट्यायो मोरो साहिँलोले” भन्दै दौँतरीहरु छक्कै पो परेका छन् ।
“आमा, आज भात छिट्टै पकाउ है ।” “किन र ?” “आज मलाई छिटै भोक लाग्छ नि त ।” “के भन्छ यो ?” साहिँला भात खाइवरी झोला बोकेर कोशी झर्न ठिक्क पर्छ । “अब कहाँ जानलाई झोला बोकिस् ?” साहिँला फिस्स हाँस्दै भन्छ, “उता कोशीपारी डाँडा बजार जानलाई नि आमा ।” “होइन तँ त डाँडा बजार भनेपछि हत्ते गर्छस् त, को छ हँ त्यता तेरो ?” आमालाई थाहा छ उनको छोराको चालामाला । “होइन तिमीलाई काम सघाउने बुहारी चाहिँदैन र ?” बुझिहालिन् आमाले अनि सम्झिन् आफ्नो पालाको कथा पनि । “अनि यो बर्खामासमा कसरी जान्छस् ? तलको पुलबाट जान्छस् कि माथिको झोलङुगेबाट ?” “आमाको आशिर्वाद भए कोशी नै तर्छु र डाँडाबजार पुगेर मिलिक्कै आइहाल्छु नि ।” “भेल बढेको होला, कोशीलाई ढोगेर तर् है ।” यति भएपछि साहिँला धाइफाल हान्दै कोशी झर्छ । जहाँ अलि सम्म परेको ठाउँ हुन्छ र लक्का जवानहरु पौडेरै कोशी पार गर्ने गर्छन् त्यहाँ पुग्छ साहिँला । कोशी किनारमा पुगेर कट्टु मात्र बाँकी राखेर साहिँला जीउको लुगा फुकालेर पोको बनाएर टाउकामा बाँध्छ । एक पटक कोशीमातालाई ढोग्छ र “जय कोशीमाता” भन्दै अरु केही जोशीला युवासँगै ऊ पनि कोशीमा हामफालेर पौडेर छिनमै पारी पुग्छ ।
बर्खाको झरनाहरुको पानी पिउँदै उकालो चढ्दै साहिँला डाँडा बजार पुग्छ । ऊ आज साहिँलीलाई केही उपहार दिने मुडमा छ किनभने बर्खा नसकिइ अब साहिँलीसँगको भेट असम्भव छ । उसले चुरौटेको पसलबाट निकै राम्रा र सुन्दर चुराहरु किन्छ । त्यहीँ दुईथान केशमा बाट्ने रातो लाछा पनि किन्छ अनि एउटा गोलो ऐना र केही टिका पनि । हुन त उसलाई औँठी पनि किनुँ कि भन्ने नलागेको त होइन तर विहेमा मात्र औँठी लगाइदिने अठोट छ । एउटा रुमाल पनि किन्छ तर तुरुन्तै फर्काउँछ, रुमाल उपहार दियो भने बिछोड होला भनेर । साहिँला केही खानेचिज पनि किन्छ । ल्वाङ, सुपारी, किसमिस, छोकडा, बदाम अनि पुस्टकारी र पान पनि । किनमेलको काम सकेपछि साहिँलीलाई खोज्न निस्किन्छ साहिँला तर डाँडाबजार सबै चाहार्दा पनि साहिँली भेटिन्न । साहिँलाको छट्पटी बढ्छ । मोबाइलमा सम्पर्क गर्छ तर साहिँलीको मोबाइल अफ रहेछ । साहिँला निराश हुन्छ साहिँलीलाई भेट्न नसकेकोमा । कि साहिँलीले ढाँटिन् ? तर ऊ पत्याउँदैन ।
“ए है !” साहिँला तर्सेर झसङ्ग हुन्छ । साहिँली त आफ्नै अगाडि पो ठिङ्ग उभिईराखेकी । “कहाँ थियौ र तिमी साहिँली ?” “मलाई कतिको माया गर्दा रैछौ भनेर हेरेको नि त । तिमी यो डाँडाबजार तीनपल्ट ओहोरदोहोर गर्यौ । म ऊ त्यहाँ डाँडामा बसेर तिमीलाई हेरिराखेको थिएँ ।” भन्दै खितित्त हाँस्छिन् साहिँली । साहिँलीको हाँसोमा साहिँला हुनसम्म भुतुक्कै हुन्छ । सेता हिमाल जस्तै टलक्क टल्कने साहिँलीका दाँतका पङ्ती कम्ति सुन्दर छैनन् अनि राताराता गाला कम्ति लोभलाग्दा छैनन् । सलक्क परेका जीउडालमा ढाकाको चौबन्दी चोली अनि छिट्को सारी, कम्मरमा सेतो पटुकीले साहिँली बिछट्टै राम्री देखिएकी छिन् । ढाकाकै बर्को ओढेकी साहिँलीको कान र नाकका सुनका गहनाले झिरिभ्mयाट्टै परेकी देखिएकी छिन् । सपक्क कोरिएका काला केश अनि केशमा उनिएका क्लिपले पनि उनको सौन्दर्यता निखारिएको छ । साहिँलीको बोलीको टोन नै मोहनी लाउने खालको छ । पुर्वी पहाडी लवजको सभ्य भाषाको सम्बोधन सुन्दा साहिँला भुतुक्कै पर्छ । त्यसो त साहिँला पनि कहाँ कमको छ र ? डाँडा बजार आइपुग्ने बेलाको भञ्ज्याङ्मा उसले पनि दौरासुरुवाल, स्टकोट, ढाकाटोपी लगायो । कम्मरमा कालो पेटी बाँध्यो र कपडाकै कालै जुत्ता लगाए पछि त ऊ पनि कम्ति राम्रो देखिएको छैन । थाहा नपाउने किसिमले अघि नै साहिँलीले नियाली सकिन् आफ्नो मायालुको सुन्दरता ।
अब उनीहरुलाई चाहिएको छ एकान्तता । उनीहरु बजारभन्दा अलि माथितिर लाग्छन् । बजारको थाप्लामा एउटा चौर छ । यो, साहिँला साहिँली जस्ता जोडिहरुको रोजाइको ठाउँ हो । आधुनिक भाषामा भन्दा डेटिङ् स्पट । उनीहरु त्यहाँ निकैबेर गफिन्छन् मनको धित् मरुन्जेल । माया पिरतीका कुरा, सँगै बाँच्ने सँगै मर्ने कुरा गर्दै । अनि साहिँलाले झोलाबाट आप्mनी मायालुलाई मायाको कोशेली, चिनो झिकेर “लेऊ यो” भनेर साहिँलीको काखमा राखिदिन्छ । साहिँलीलाई थाहा छ तै पनि भन्छिन् “अप्पुई अन्त किन ?” “राखन” साहिँला माया पोख्छ । “आमम्मम, अन्त के के हौ, पान र पुस्टाकारी पनि ?” साहिँली मरुन्जेल हाँस्छिन् । हाँसो रोकिएपछि साहिँलाको मुहारमा पुलुक्क हेरेर ती मायाको चिनोहरु पोको पारेर पटुकीमा जतनले घुसार्छिन् । साहिँलाको मन ढुक्क हुन्छ ।
उनीहरु फेरि बजार झर्छन् । साहिँला भन्छ “आऊ साहिँली खाजा खाऊँ ।” उनीहरु गोसखानतिर जान्छन् । काँचो स्याउलाको छानो भएको थुप्रै छाप्रोहरुमध्ये एक छाप्रामा लगेर साहिँलाले आप्mनी प्राण प्यारी साहिँलीलाई राँगाको मासु र चिउरा खुवाउँछ । साहिँली स्वाद मानी मानी खान्छिन् । दाउराको आगोमा ठूलो कराहीमा फत्फत गरेर पाकिरहेको राँगाको मासु कम्ति मिठो हुन्न । दोकाने महिला ग्राहकहरुलाई पातका दुनामा तात्तातै मासु पस्केर दिन्छिन् । कोही ग्राहकहरु मासुमात्रै र कोही चिउरा र खुर्सानीसँग बढो स्वादले खान्छन् ।
साहिँला साहिँली त्यहाँबाट बजार बीचमा पुग्छन् । “ओ दिदी, ओ दाजु पानी पुरी खानुहोस्” भन्ने आवाजले साहिँला साहिँलीको ध्यान खिचिन्छ । हुन त साहिँलीलाई नै पानी पुरी खान मन पर्छ । दुर्गम पहाडका बजारमा पनि पानीपुरी बेच्न आइपुगेका छन् तराईका दाजुभाईहरु । मुन्टो ठाडो पारेर गाला पुक्क पारि पारि पानीपुरी खाइन् साहिँलीले । अलिपर पुगेपछि डमरु बजाउँदै बरफ बेचिरहेको देखेपछि बरफ खुवाउन मन लाग्छ साहिँलीलाई । “बरफ खाउन है साहिँली !” “अँ भो हौ अन्त कति खानु ।” “खाउन खाऊ बरफले पेट ठण्डा हुन्छ, अघि धेरै खोर्सानी खायौ नि त ।” साहिँलाले यसो भन्दा साहिँलीले मायालु पाराले साहिँलालाई पुलुक्क हेर्छिन् ।
उनीहरुलाई थाहा छ अब छुट्टिनु पर्छ भन्ने । अनायासै उनीहरुका पाइलाहरु बजार किनारतिर सर्छन् । साहिँलालाई बिदा माग्न गाह्रो हुन्छ । साहिँलीलाई पनि छुट्टिन उस्तै साह्रो । दुबै निकैबेर मौन उभिएपछि साहिँला बोल्छ, “जाऊ है साहिँली अब घर ।” साहिँलीले साहिँलाको मुहारमा पुलुक्क हेर्छिन् ।
“बर्खा लाग्यो साहिँली ! अब आइरहन पाउँदिन । बर्खा थामिए पछि दशैँ छेकमा आउँछु है साहिँली । अनि फेरि यो डाँडा बजार धित मरुन्जेल घुमौला ।” साहिँली मौन उभिइरहन्छिन् ।
“छुट्टिऔँ है साहिँली‘ खोइ त बोलेकी ?”
साहिँली त गहभरि आँशु टिलपिल पार्दै एकपटक साहिँलातिर पुलुक्क हेर्छिन् र सुँकसुँकाउन पो थाल्छिन् ।
“किन रोएकी साहिँली ? यसरी नरोऊ मलाई गाह्रो हुन्छ ।”
“पछि आउँछ्यौ नि ।”
“के भनेकी साहिँली तिमीले यस्तो ? म तिमीलाई भेट्न नआएर कहाँ जान्छु र ? तिमी नै हौ मेरो लागि यो संसारमा ।”
“तिमी कसरी जान्छौ ?”
“जसरी आएँ त्यसरी नै, कोशी तरेर आएँ कोशी तरेरै पुग्छु ।”
“कोशी तरेपछि फोन गर है एक चोटी ।”
“एक चोटी मात्र ? मेरी साहिँलीलाई लाखौँ चोटी फोन गर्छु ।”
“ए यो लेउन ।”
“के हो नि यो साहिँली ।”
“बाटोमा खोलेर खाऊ ल । घरमा आफ्नै हातले तिम्रो लागि खाजा बनाएर ल्याएकी ।” साहिँलीको यस्तो माया पाएर साहिँलाले पनि तुरुक्कै आँशु झार्छ । साहिँली त हिक्का नै छाड्न थाल्छिन् ।
साहिँला बाटो लाग्छ । साहिँली सुँकसुँकाउँदै हेरिरहन्छिन् साहिँलालाई पहाडले ओझेल नपारुन्जेल ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies