अमेरिकी ब्याजदर कटौतीको अपेक्षा र सरकारको आंशिक सटडाउनको चिन्ताबीच लगानीकर्ताहरू सुरक्षित स्थानतर्फ लागेपछि बुधवार सुनको मूल्यले इतिहासमै पहिलो पटक चार हजार डलर पार गरेको छ ।
टेक कम्पनीहरूको तीव्र उकालो रेकर्डमा पुगेपछि अब ती बजारहरू अत्यधिक मूल्याङ्कनमा पुगेको चिन्तासँगै सुनमा लगानी बढेको हो । वर्षभरि व्यापारीहरू विश्वव्यापी आर्थिक अनिश्चितता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार नीति र भू–राजनीतिक तनावबीच सुनमा निर्भर रहँदै आएका छन् । परिणामस्वरूप सुनको मूल्य यस वर्ष मात्र ५० प्रतिशतभन्दा बढीले बढिसकेको छ ।
फ्रान्समा प्रधानमन्त्रीको राजीनामा र राष्ट्रपति इमानुएल म्याक्रोनमाथिको राजनीतिक दबाबले पनि सुनलाई थप आकर्षक बनाएको थियो । लामो समयदेखि अस्थिरताका समयमा सुरक्षित सम्पत्ति मानिँदै आएको सुन बुधबार चार हजार ३७ दशमलव १० डलरसम्म पुगेको छ । यससँगै चाँदी पनि आफ्नै रेकर्ड नजिक पुगेको छ ।
अमेरिकी सरकारका केही विभागहरू बन्द हुँदा लगानीकर्तामा अनिश्चितता बढेको छ । यसले विशेषतः रोजगारी सम्बन्धी प्रमुख आर्थिक तथ्याङ्कहरू स्थगित गरेको छ र अमेरिकी केन्द्रीय बैंक ‘फेडरल रिजर्भ’ लाई ब्याजदरसम्बन्धी निर्णयमा अन्योलमा पारेको छ ।
नेसनल अस्ट्रेलिया बैंकका अर्थविश्लेषक टेलर न्युजेन्टले भने, ‘सुनको तीव्र वृद्धि एक्सचेन्ज–ट्रेडेड फन्डहरूको बढ्दो आगमन, चीनबाटको बलियो माग र विश्वका केन्द्रीय बैंकहरूको खरिदले समर्थन गरेको हो । राजनीतिक, आर्थिक र मुद्रास्फीति अनिश्चिततामा सुन सधैँ लाभमा रहन्छ ।’
त्यस्तै पेपरस्टोनका क्रिस वेस्टनले लेखेका छन्, ‘विश्वका कोष र रिजर्भ प्रबन्धकहरूले वित्तीय अस्थिरता, मुद्रा अवमूल्यन र अनपेक्षित सरकारी नीतिबाट जोगिन हेज खोजिरहेका छन् र सुन त्यसको केन्द्रमा छ ।’
यसबीच, एसियाली बजारहरूमा भने कमजोरी देखिएको छ । कृत्रिम बुद्धिमत्तामा (एआई) लगानीबारे प्रश्नहरू उठेपछि धातु बजार बलियो रहे पनि इक्विटी बजारमा गिरावट आएको छ । एनभिडिया ४० खर्ब डलर मूल्याङ्कनमा शीर्ष स्थानमा रहे पनि ओरेकलको क्लाउड कम्प्युटिङ नाफा अपेक्षाभन्दा कमजोर रहँदा विश्व बजारमा असर पर्यो ।
एसपिआई एसेट म्यानेजमेन्टका स्टिफन इन्सले भने, ‘पूर्णताका लागि मूल्याङ्कन भएको बजारमा नगद प्रवाहमा सानो ढिलाइ पनि ‘अन्तिम कल’ जस्तै लाग्छ । व्यापारीहरूले स्पष्टीकरणको प्रतिक्षा गरेनन्, उनीहरूले आफ्नो स्थिति घटाउन थाले । ओरेकलको परिणामले पार्टी समाप्त गरेन, तर निश्चित रूपमा मौन बनायो ।’
एसियाली बजारमा टेक कम्पनीहरूमा बिक्री बढ्यो । हङकङमा अलीबाबा र जेडीडटकम, ताइपेईमा टिएसएमसी र टोकियोमा रेनेसास तीव्र रूपमा घटे । हङकङ र ताइपेई बजार सबैभन्दा बढी प्रभावित भए भने सिड्नी, मुम्बई र सिङ्गापुरमा पनि गिरावट देखियो ।
टोकियोमा सत्तारूढ पार्टीको नेतामा व्यापार–मैत्री रूढीवादी साने ताकाइचीको विजयसँगै उकालो गएको बजार बुधबार केही कमजोर भयो । लगानीकर्ताहरू थप मौद्रिक सहजता र प्रोत्साहन योजनाको प्रतीक्षा गरिरहेका छन् । यसैबीच, लन्डन, पेरिस र फ्रेङ्कफर्टमा बजार स्थिर देखिए भने वेलिङ्टन, मनिला, बैङ्कक र जकार्तामा सन्तुलित कारोबार भइरहेको थियो ।