२०८१ भदौ २३ गते आइतवार / Sep 08 , 2024 , Sunday
२०८१ भदौ २३ गते आइतवार

राहदानी विभाग र फ्रान्स दूतावासको टोली पोर्चुगल आउँदै

ADV
भरत प्रधान
२०८१ साउन ७ गते १७:५२
राहदानी विभाग र फ्रान्स दूतावासको टोली पोर्चुगल आउँदै

लिस्बन : पोर्चुगलमा राहदानीसम्बन्धी समस्यामा परेका नेपालीलाई सेवा दिन राहदानी विभाग काठमाडौं र फ्रान्सस्थित नेपाली दूतावासको संयुक्त टोली पोर्चुगल आउने भएको छ ।

राजधानी लिस्बनमा घुम्ती सेवा शिविर सञ्चालन गरेर विद्युतीय राहदानी (ई–पासपोर्ट)का लागि दरखास्त संकलन गर्न विभाग र दूतावासको संयुक्त टोली पोर्चुगल आउने भएको हो । लिस्बनस्थित रहेको अवैतनिक नेपाली महावाणिज्यदूतावासको समन्वय र सहजीकरणमा टोलीले यही अगस्ट २ देखि ११ तारिकसम्म पोर्चुगलमा रहेर ई–पासपोर्टका लागि दरखास्त संकलन गर्ने पेरिसस्थित नेपाली दूतावासले जनाएको छ ।

घुम्ती सेवाका लागि विभागका निर्देशक मोतिबहादुर श्रीस नेतृत्वको तीन सदस्यीय टोली पोर्चुगल आउने तयारी भइरहेको फ्रान्सका लागि नेपाली राजदूत सुधीर भट्टराईले जानकारी दिए । टोलीमा विभागका दुई र फ्रान्सस्थित नेपाली दूतावासका एक गरी तीन जना कर्मचारी सहभागी हुने बताइएको छ । पोर्चुगलमा रहेका नेपालीको राहदानीसम्बन्धी समस्यालाई समाधान गर्नका लागि परराष्ट्र मन्त्रालय र विभागले विशेष प्राथमिकता दिएर घुम्ती टोली पठाउन लागेको राजदूत भट्टराईले बताए ।

घुम्ती सेवा शिविरका लागि राजधानी लिस्बनमा इनरोलमेन्ट सेन्टरको स्थापना गरी ई–पासपोर्टका लागि दरखास्त संकलन गर्ने तयारी भइरहेको उनले बताए । शिविरबाट दुई हजार पाँच सय बढीको ई–पासपोर्टका लागि दरखास्त संकलन हुने अनुमान गरिएको भट्टराईले बताए ।

टोलीले राहदानीको म्याद सकिसकेको, राहदानीको म्याद एक वर्षभन्दा कम भएको, क्षति भएको, हराएका र पोर्चुगलमा जन्मेका बालबालिकाको नयाँ राहदानीका लागि दरखास्त संकलन गर्ने जनाएको छ । विद्युतीय राहदानीका लागि अनलाइन आवेदन फारम भर्न र अपोइन्टमेन्ट लिन राजदूत भट्टराईले आग्रहसमेत गरेका छन् ।

केही महिनाअघि पनि फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगल आएर एक सातासम्म राहदानीसम्बन्धी सेवा प्रदान गरेको थियो । टोली आउने भएपछि राहदानी नवीकरण तथा नयाँ राहदानी बनाउन नपाएर समस्यामा परेका नेपालीलाई राहत हुने भएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise