२०८१ कार्तिक २ गते शुक्रवार / Oct 18 , 2024 , Friday
२०८१ कार्तिक २ गते शुक्रवार

इजरायलले बढायो कोटा

ADV
२०८१ साउन ८ गते ०७:००
इजरायलले बढायो कोटा

काठमाडौं : इजरायलले वृद्धवृद्धालाई स्याहार गर्ने दीर्घकालीन स्याहार केन्द्रहरूका लागि दुई हजार नेपाली लैजान सहमति जनाएको छ । यसअघि भएको एक हजार पाँच सय नेपाली लैजाने सहमतिअनुसार आवेदन माग भएको अवस्थामा इजरायलले दुई हजारसम्म लैजाने सहमति जनाएको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीसँग सोमबार श्रम मन्त्रालयमा भएको शिष्टाचार भेटमा नेपालका लागि इजरायलका राजदूत हमान गोडेर गोल्डबर्गरले उक्त जानकारी दिएको मन्त्रालयले जनाएको छ ।

यसअघि इजरायलबाट आठ सय नेपाली कामदारको माग आएको थियो । त्यसमा ५ सय जना मुख्य उम्मेदवार र ३ सय जना वैकल्पिक उम्मेदवार छनोट हुने व्यवस्था थियो । अब सो संख्यामा त्यति नै बढाएर एक हजार मुख्य उम्मेदवार र एक हजार वैकल्पिक गरी दुई हजार नेपाली लैजाने सहमति भएको हो । 

छनोट हुने मध्ये ६० प्रतिशत महिला र ४० प्रतिशत पुरूष हुनेछन् । इजरायलमा नेपाली केयर गिभरको तलब २ लाख १० हजार छ भने शुरूमा करार अवधि १ वर्षको भए पनि करार अवधि थप गर्दै ५ वर्षसम्म बस्न पाइने भएकाले खाडी तथा मलेसियाको तुलनामा उक्त मुलुकको रोजगारीमा अत्यधिक आकर्षण देखिने गरेकोे छ ।

राजदूत गोल्ड बर्गरले इजरायलले केयर गिभर मात्रै नभइ भविष्यमा कृषि कामदार लैजाने विषयमा नेपाललाई उच्च प्राथमिकतामा राख्ने जानकारी दिएको पनि मन्त्रालयले जनाएको छ ।

इजरायल जान चाहनेहरू हाल राजधानीका विभिन्न न्स्टिच्युटमा अंग्रेजी र हिब्रु भाषाको कक्षा लिइरहेका छन् । कतिपय इन्स्टिच्युट सञ्चालकले वैदेशिक रोजगार विभागका अधिकृतहरूको नाम जोडेर इजरायलको रोजगारी पक्का भन्दै मोटो रकम उठाएको सार्वजनिक भएपछि विभागले छनोट प्रक्रियामा योग्यतामा आधारित पूर्णतः निष्पक्ष हुने भन्दै पास गराउने वा इजरायल पठाउने भन्दै रकम माग गर्नेहरूका विरूद्ध विभाग वा श्रम मन्त्रालयको कल सेन्टरमा उजुरी दिन पनि आग्रह गरेको छ । 

यसैगरी श्रममन्त्री शरतसिंह भण्डारीसँग अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को नेपाल निर्देशक नुमान ओज्कानले सोमबार नै मन्त्रालयमा शिष्टाचार भेट गरेका छन् । 

भेटमा श्रम आप्रवासनका विविध विषयमा विचार विमर्श भएको भन्दै मन्त्री भण्डारीले व्यवसायजन्य सुरक्षा, बालश्रम निवारण तथा मर्यादित कामका क्षेत्रमा आईएलओले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा सहयोग निरन्तर रहने विश्वास व्यक्त गरे ।

आईएलओका नेपाल निर्देशक ओज्कानले नेपाल आइएलओको ‘गभर्निङ बडी’मा निर्वाचित भएकोमा बधाई दिए ।

ADVADV

सम्बन्धित खबर

Advertise