काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद सुदन किरातीले प्रतिपक्षमा साना दलहरू छन् भनेर सरकारले हेप्न थालेको बताएका छन् । मंगलबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै उनले प्रतिपक्ष सानो छ भनेर सत्तापक्षले ठूलो स्वर गर्न थालेको उनले बताएका हुन् ।
‘यो देश तीन करोड नेपालीको हो, यो देश हाम्रो पनि हो । प्रतिपक्षहरू सानो छ भनेर अलिकति ठूलो स्वरले हेप्न थालिएको छ । तर, लोकतन्त्रमा आकारले होइन सभामुख महोदय, मुद्दाले स्थान लिन्छ’, उनले भने ।
नक्कली भुटानी शरणार्थी प्रकरण र गिरिबन्धु टि-इस्टेट लगायतका विषयमा अनुसन्धान अगाडि बढाउन खोज्दा सरकार फेरिएको उनको टिप्पणी छ । मौद्रिक नीति रोकिएको विषयले सरकारले सही गति लिन नसकेको पुष्टि हुने सांसद किरातीले बताए ।
ओम्नी, यति, प्रिन्टिङ प्रेस लगायतका विषय पश्न उठेको तर, छानबिन नभएको उनले बताए । अघिल्लो सरकारले अगाडि बढाएका भ्रष्टाचारसँग सम्बन्धित विषयहरू पुनः छानबिन र अनुसन्धानमा अगाडि बढ्छ कि बढ्दैन भन्ने प्रश्न आम मानिसमा रहेको पनि उनले बताए ।